पहिल्यै अरु पुगेको ठाउँमा प्रहरीले कसरी प्रमाण नष्ट गर्छ ?

पहिल्यै अरु पुगेको ठाउँमा प्रहरीले कसरी प्रमाण नष्ट गर्छ ?
  • डिल्लीराज विष्ट, एसपी, नेपाल प्रहरी

निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा कञ्चपुरस्थित जिल्ला प्रहरी कार्यालयमा प्रमुख थिए, एसपी डिल्लीराज विष्ट । घटनाको अनुसन्धानमा लापरबाही गरेको नाममा बर्खास्त भए । तर, जिल्ला अदालतले उनीसहित निलम्बित तथा बर्खास्तीमा परेका सबैलाई सफाइ दिएको छ । अदालती तथा कागजी काम मिलाउनमा व्यस्त रहेका विष्टसहितका अधिकृतले केही दिनभित्रै बर्दी लगाएर जागिर शुरु गर्दै छन् । तर, निर्मला हत्याकाण्डको अनुसन्धान जहाँको तहीँ छ । ०५२ सालदेखि प्रहरी सेवामा प्रवेश गरेका डिल्ली जागिरे जीवनको लामो समय सुदूरपश्चिमतिरै बसे । बढुवाको मुखमै विभिन्न पक्षे आफूविरुद्ध भीड प्रयोग गरी आक्षेप लगाएको र आफ्नो जागिरे जीवनमा जंगबहादुरका पालाको भण्डारखाल पर्वजस्तै कोतपर्व घटाइएको टिप्पणी गर्छन् । 

० जागिरबाट बर्खास्ती हुनुपर्दाको दिन कत्तिको पीडादायी रह्यो ?

– साउन १० मा घटना भयो । त्यहाँको स्थानीय पत्रकारले विभिन्न कुरामा निहुँ खोजेको हुँदा हामीले प्रेस काउन्सिल, पत्रकार महासंघमा उजुरी गरेका थियौं । साउन १ गते भीमदत्त नगरपालिका कर वृद्धि गरेको थियो । त्यसै कारण विभिन्न असन्तुष्ट समूह आन्दोलनमा होमिए । त्यहीअनुसार सुरक्षा व्यवस्था कडा पारियो । ठूलो समूहले नगरपालिकामा तोडफोड गर्ने र आगो लगाउने तयारी गरेपछि हस्तक्षेप ग¥यौं । त्यही हस्तक्षेपविरुद्ध यातायात र बजार बन्द गरियो । डक्टर गोविन्द केसीका समर्थकहरूको आन्दोलन चलिरहेको थियो । यातायात व्यवसायीको सिण्डिकेटको आन्दोलन त्यही थियो । १० गते राति बालिका हराए भन्दै आए । खोजबिन चल्यो । ४ पाँच बिघाको उखु घारी छ त्यहाँ । घटनास्थलमा पानी बगिरहेको छ । लास पहिला स्थानीयले देखेपछि अरु पुगेका छन् । अनि अर्काे हल्ला चलाइयो प्रहरीले प्रमाण नष्ट ग¥यो भन्ने । लास ल्याएर नगरपालिकामा तीन दिनसम्म राखियो । जिल्ला सुरक्षा समितिमा आफन्त, स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहबरमा सहमति भएपछि सद्गत गर्न पठाइयो ।  तर हामीलाई दबाबमा लास जलाइयो भन्ने आरोप लगाइयो । फेरि भीड आयो हत्यारा अहिल्यै पत्ता लगा भन्दै । हामीले बम दिदीहरूसँग सोधपुछ ग¥यौं, प्रदीप रावल, चक्र बूढा, दिलीप विष्टसँग पनि सोध्यौं । जुन दिन दिलीपसिंह विष्ट पक्राउ भए सोही दिन भिआइपीको श्रृङ्खला शुरु गरेर घटनालाई ट्विस्ट गर्न खाजियो ।

त्यसको दुई दिनमा मेरो सरुवा भएर ७ गते धनगढी गएँ । अर्काे एसपी आएर चार्ज सम्हाल्नुभयो । त्यहाँ स्वच्छ सुनुवाइ हुन पाएन । संगठन बरालियो । यताबाट आफूले खण्डन गर्न नपाउने, संगठनले चुइँक्क पनि नबोल्ने । तिनै पत्रकारको सल्लाहमा एसपी, डिएसपी, सिआइबीहरूको सरुवादेखि निलम्बन र बर्खास्तीसम्मको श्रृङ्खला चल्न थाल्यो । संगठन उनकै इच्छाअनुसार बरालियो । पत्रिका र सामाजिक सञ्जालको दुरुपयोग भयो । संगठन प्रमुख यहीँ आएर अनावश्यक बोलिदिने काम भयो । उच्चस्तरीय छानबिन समितिले हामीलाई काठमाडौं लगेर थन्क्यायो । यता, खुला मैदान छ– आन्दोलनकारीले अनेकथरी माग राख्न थालेका छन्, उता हाम्रो मुखमा चुकुल ठोकिएको छ । यसबाट अनुसन्धान कति प्रभावित भयो होला ? हामीले जति अनुसन्धान गरेका थियौं, पछिको दुई वर्षमा कति अनुसन्धान भए ?

० तपाईंले मेराविरुद्ध भीड लाग्यो भन्नुभयो, त्यस्तो कारण के थियो ?

– नगरपालिकामा आगजानी गर्ने तयारी थियो । त्यसमा हस्तक्षेप गर्नु नै पहिलो कारण हो । दोस्रो पत्रकार खेम भण्डारीको प्रतिशोध ।

० प्रतिशोध किन ?

– उनले जे भन्यो हामीले त्यही मानिदिनुपर्ने । तीन चारवटा मुद्दामा दबाब दिइरहेको अवस्था । अर्काे, दिलीप उनको सालो भन्ने त्यतिबेला मात्र थाहा भयो जतिबेला उनले मेरो मोबाइलमा म्यासेज पठाए । हामीले त अनुसन्धानको प्रक्रियामा ल्याएको मान्छे हो दिलीप । घटना हुनुअघि खेमविरुद्ध प्रेस काउन्सिल, पत्रकार महासंघमा उजुरी गरेका थियौं । त्यही उजुरीविरुद्धको प्रतिशोध साँधेका हुन् । जेठभन्दा अघि उनीसँग न राम्रो सम्बन्ध थियो न त नराम्रो नै !

० तपाईंले केहीअघि भन्नुभएको थियो जंगबहादुर राणाको भण्डारखाल पर्वपछि मेरो जागिरे जीवनमा कोतपर्व आयो । अलि प्रस्ट पारिदिनु न !

– प्रतिपक्षले नगरपालिकामा आक्रमण गरिरहेको अवस्था छ । जिउ धनको सुरक्षा गर्ने काम नेपाल प्रहरीकै हो । त्यसलाई सुरक्षा गर्न खोज्दा हामीमाथि आक्रमण भएको हो । अनि खेमहरूले भिआइपीको श्रृङ्खला शुरु गरेका हुन् ।

० बढुवाको मुखमा रहेका बेला भीड सिर्जना हुनुको पछाडि अरू के कारण थियो ?

– मलाई सबैभन्दा राम्रो काम गरेर देखाउनु थियो । लागुऔषध, मदिरा, सामाजिक अपराधलाई पूर्ण रूपमा निर्मुल गर्न लागिपरेको थिएँ । मेरो कार्यकालमा सामाधान गर्न बाँकी मुद्दा एउटै थिएन । भोलि रिटायर्ड भए पनि बस्ने त त्यही क्षेत्रमा हो । आफ्नो ठाउँमा गलत गर्दिनँ । त्यो माथि प्रमोसनको मुखमा आएर कसैले पनि हत्या, अपराधजस्तो २० औं वर्षसम्म मिसिल रहने केशमा गलत काम गर्न सक्दैन । मेरा दुईवटा प्रमोसन छुटिसकेको छ । खेम भण्डारीले स्टाटसमार्फत आज कसको डिएनए गर्ने, भोलि कसको गर्ने ? सूची बनाएर दिएका छन् । प्रहरी संगठनले त्यसैको आधारमा डिएनए परीक्षण गर्नुपर्ने । त्यो अपमानको क्षतिपूर्ति के हुन्छ ? सफाइ पाएर के पुष्टि भयो ? त्यसबाट मैले के पाएँ ? २४ सै घण्टा खटिएको मान्छेको डिएनए परीक्षण गरिन्छ र अपमान गरिन्छ सरकारले प्रोटेक्सन नदिने, कर्मचारीले बोल्न नपाउने । यो घटना नेपालको मात्र होइन संसारकै लागि नमुना हुन्छ ।

त्यो आन्दोलन रोक्ने दायित्व प्रहरीको मात्र हो ? सिडिओको भूमिका केही हुन्न ? उहाँले एक शब्द बोल्नुभएको छ ? कुनै छानबिन समितिले एक शब्द बोलेको छ ? एकोहोरो प्रहरीलाई मात्र दोष देखाउन पाए त्यतिबेला वाहवाही पाइन्छ भन्ने हिसाब भयो । ९ भदौमा मलाई निलम्बन गरियो । २२ भदौमा हाम्रो संगठन प्रमुख यता आएर नालायकहरूले गल्ती गरे भन्नुभयो । त्यसपछि आन्दोलनमा आगो बल्दैन ।

वीरेन्द्र केसी उच्चस्तरीय छानबिन समितिमा आउनुभएको थियो । छानबिनै गर्न नसक्ने गरी धम्की आयो भन्नुभयो । खै त त्यो थ्रेटको छानबिन भएको ? वीरेन्द्र केसीले राजीनामा किन दिनुभएको ? दोस्रो दिन किन त्यहीँ जानुभएको ? पदमा बसेको मान्छेले जथाभावी बोल्न मिल्छ ? राष्ट्रिय मानवअधिकार आयोगले बोलेकै छ,  डिएनए खारेज गर्नेदेखि प्रहरी कर्मचारीलाई भएको कारवाही प्रक्रिया पुगेन भनेको छ । एउटा जिल्ला प्रहरी प्रमुखको डिएनए गर्न मिल्छ कि मिल्दैन ? त्यो गलत थियो भनेको छ आयोगले प्रतिवेदनमा । धिरु बस्नेतको प्रतिवेदन हेर्नुहोस्, सबै आन्दोलनकारीको भाषा लेखिएको छ । यति कुहिरोको काग बनाइयो कि अँध्यारोमै छामेर हिँड्नु पर्ने । संगठन प्रतिपक्षकै लहैलहैमा लागेर मुद्दा चलाउने र कारवाहीको चरणमा पुग्यो । सरकारलाई गुमराहमा राख्यो । 

० निर्मला काण्डमा तपाईंले शुरुदेखि नै लापरबाही गर्नुभयो भन्ने आरोप छ । यथार्थ के हो ?

– लापरबाही भए त कहाँ भयो उल्लेख गर्दा भइहाल्थ्यो नि ! सिआइबीले केस हेर्ने । सिआइबी प्रत्यक्ष प्रहरी प्रमुख मातहत हुन्छ । अनि उहाँ मातहत भएको टोली आएर गलत काम गर्छ भने जिम्मा कसको ? प्रदेश प्रमुख मातहत अर्काे टोली छ । यहाँको टोली र विभिन्न जिल्लामा अब्बल काम गर्नेहरूलाई त्यसमा बोलाइएको छ । यस्तो ठाउँमा कसैले गलत काम गर्छ ? घटनास्थलमा पहिले सर्वसाधारण पुगेको हो । प्रहरी होइन वडाध्यक्ष, वडासदस्य, जनप्रतिनिधि, पत्रकार सबै पहिल्यै पुगेको ठाउँमा प्रहरीले कसरी प्रमाण नष्ट गर्न सक्छ ?

० तपाईंबाट जेजस्तो भूमिका निभाइएको भए पनि के त्यो कसुर बर्खास्तीलायकको थियो र ?

– बर्खास्त लायकको होइन, पदोन्नति र पुरस्कार दिन लायकको थियो । त्यही कारण अहिलेसम्म त्यो अनुसन्धान निश्कर्षमा पुग्न सकेको छैन । पुनरावलोकन समिति अब अन्तिम निश्कर्षमा जान्छ र निर्मलाले पनि न्याय पाउनेछिन् भन्नेमा म आशावादी छु ।

० निर्मला प्रकरण जसरी गिजोलियो, अझै पनि यो घटनामा को संलग्न छ भन्ने पत्ता लाग्न सकेको छैन । तपाईं आफैंले अनुसन्धान गर्नुभएको घटना हो यो । को–को छन् यसमा संलग्न ?

– अनुसन्धानमा मुख्य भूमिका खेल्ने सिआइबीका अंगुर जोशी र पुनरावलोकन समितिले प्रष्टै भनिसकेको छ । शुरुवाती अनुन्धान नै सही छ । अब एउटा ट्र्याकमा जान्छ र चाँडै निश्कर्षमा पुग्छ । 

० जागिरे अवधिमा घुमिफिरी सुदूरपश्चिममै पोष्टिङ हुनुको कारण के हो ?

– त्यतिबेला कहालीलाग्दो परिस्थिति । सुदूरपश्चिम र मध्यमपश्चिममा कोही आउँथे र ? पेलिएकाहरूलाई नै पठाउने हो । सबैभन्दा बढी पेलिएका हामी नै । विद्रोहको शुरुदेखि नियुक्तिको सँगसँगै । सबैभन्दा बढी विद्रोह चर्किएको पनि मध्यपश्चिम र सुदूरपश्चिमै  । यता बस्न खोजेर होइन, ठाउँ नपाएर हो ।

० एउटा अनुसन्धान गरिएको प्रहरीलाई हठात् कारबाही गरिँदा प्रहरीको मनोबल कस्तो होला ?

– ७७ हजार हाराहारी प्रहरीले हेरिरहेको छ यो केस । अनुसन्धानमै खटिएको प्रहरीमाथि कारबाही, निलम्बन, बर्खास्तसम्म गरिन्छ– त्यो पनि हचुवाको भरमा । त्यसले प्रहरीको मनोबल गिरेर संगठनमाथि दबाब परेकै कारण पुनरावलोकन गर्नुपरेको हो । सबैको आ–आफ्नै किसिमको प्रतिवेदन आयो । उच्चस्तरीयदेखि बस्नेत साहेबसम्मको प्रतिवेदन हेर्नुहोस् । फरक–फरक प्रतिवेदनपछि संगठनले एउटा दृष्टिकोण बनायो र गलत ढंगले कारबाही भएछ भनेर राष्ट्रिय मानवअधिकार आयोगले बोल्यो । बाबु–छोराकै डिएनए परीक्षण गर्दा गम्भीर मानव अधिकार उल्लंघन भएको भनेर आयोगको प्रतिवेदन आएको थियो ।

टिप्पणीहरू