नेपाली नेताहरु कोबाट असुरक्षित ?

नेपाली नेताहरु कोबाट असुरक्षित ?

मंगलबार बिहान साढे नौ बजे मीनभवन, शंखमूल मार्गस्थित जनता टेलिभिजनको कार्यालयमा बसिरहेका टेलिभिजनका अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य डा. विजय पौडेलको मोबाइल बज्यो ।

दुई घण्टी नबज्दै पौडेल झटपट बाहिर निस्केर मुख छोप्दै कुरा गर्न थाले । कुनै सामाजिक सञ्जालको मेसेञ्जर कलको रिंगटोन बजेकाले सँगै कुराकानी गरिरहेकाहरुलाई लाग्यो ‘कमरेडको घरबाट फोन आएछ र निजी कुरो भएकाले बाहिर निस्किए’ । तर, होइन रहेछ । एक छिनपछि कोठाभित्र पस्दै पौडेल भन्न थाले ‘माधव कमरेडको फोन’ । उनले थपे ‘हिजोआज बालुवाटारनिकट बाहेकका नेताले ह्वाट्सएप र भाइबरमा मात्र कुराकानी गर्नुहुन्छ । अहिले माधव कमरेडले पनि ह्वाटस्अपमै गर्नुभएको हो ।’

दुई घण्टी नबज्दै पौडेल झटपट बाहिर निस्केर मुख छोप्दै कुरा गर्न थाले  एक छिनपछि कोठाभित्र पस्दै पौडेल भन्न थाले ‘माधव कमरेडको फोन’ । 

पौडेलको उक्त भनाईले नेकपाभित्रको अन्तरबिरोध र अविश्वास कुन हदसम्म चुलिएछ सहजै अनुमान गर्न सकिन्छ । उनका अनुसार नेताहरूले सञ्चार मन्त्रालयको प्रत्यक्ष नियन्त्रणमा चल्ने नेपाल दूरसञ्चार र एनसेलको मोबाइल घरायसी प्रयोजनमा मात्र प्रयोग गर्न थालेका छन् । सरकारले जुनसुकै नेताको मोबाइल कुराकानीलाई ट्यापिङ्ग गर्नसक्ने आशंकाले अहिले नेताहरूले कुनै महत्वपूर्ण वा गोप्य कुरा गर्नुपरेमा ह्वाट्सअप, भाइबर वा मेसेन्जरलगायत सामाजिक सञ्जालको प्रयोग गर्न थालेका हुन् ।

केही समयदेखि सरकारी सम्यन्त्रबाट आफूबिरुद्धका धेरैजना नेकपा नेताको फोन ट्यापिङ्ग हुने गरेको जानकारी एक महिनाअघि उर्जामन्त्री बर्षमान पुनले डेलिगेशनमा आएका वामपन्थी इञ्जिनियरहरूलाई बताएका थिए । ती इञ्जिनियरका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि भएको मन्त्री तथा सचिवहरूसँगको छलफलमा आफूले फोनमार्फत हुने गतिविधिको निगरानी गर्न दिएको निर्देशन कार्यान्वयन भए वा नभएको बारेमा चासो राख्नुभएको थियो ।

धेरैजना नेकपा नेताको फोन ट्यापिङ्ग हुने गरेको जानकारी एक महिनाअघि उर्जामन्त्री बर्षमान पुनले डेलिगेशनमा आएका वामपन्थी इञ्जिनियरहरूलाई बताएका थिए ।

मुलुकका मन्त्री तथा उच्चपदस्थ कर्मचारीले नै गोपनीयता चुहिने आशंकामा कुराकानीको लागि ह्वाट्सएप र भाइबरको प्रयोग गर्न थालेपछि अवस्था कति भयावह हुँदै गएछ स्वतः अनुमान गर्न सकिन्छ । सरकार नियन्त्रित एनटीसी र निजी क्षेत्र भएपनि सर्भर नेपालमै भएकाले एनसेलमा गरिएको कुराकानी सरकारले चाहेमा सजिलै थाहा पाउन सक्छ । तर बिदेशमा डोमेन रहेका ह्वाट्सएप र भाइबरमा गरिएको कुराकानी तुलनात्मक रूपमा निकै गोप्य हुने भएपछि मन्त्री, न्यायाधीश, सुरक्षाकर्मी, पार्टीका नेता तथा उच्चपदस्थ कर्मचारीले मुलुकको दूरसञ्चारको प्रयोगमा थप सतर्कता  देखाएका हुन् ।

अर्कोतर्फ,कानुनले तोकेको अवस्थामा बाहेक कुनैपनि नागरिकको व्यक्तिगत गोपनीयताको अधिकार नेपालको संविधानले समेत सुरक्षित गरेको छ । संविधानको भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ मा स्वतन्त्रताको हकको उपधारा १ मा कानुनबमोजिम बाहेक कुनैपनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने प्रत्याभूत गरिएको छ ।

टिप्पणीहरू