मानवअधिकार आयोग अध्यक्षमा दौडधुप

मानवअधिकार आयोग अध्यक्षमा दौडधुप

आगामी दुई महिनापछि कार्यकाल सकिन लागेका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा स्वयम् आइसोलेसनमा बसेजस्तै देखिनु भएको छ ।

आयोगका विभिन्न निर्णय र त्यसको कार्यान्वयनमा उहाँ पछिल्लो दिनमा एक्लो पर्दै जानुभएको बताइन्छ । भद्र र शालीनताका धनी शर्मा जसले जे भनेपनि ‘हुन्छ’ भन्ने प्रवृत्तिका कारण निर्णय र कार्यान्वनयमा समेत एक्लिनु भएको हुनसक्ने बताइएको छ । आयोगस्रोतका अनुसार आफू जति एक्लिए पनि अरुसमक्ष सहयोगको लागि कहिल्यै मुख नखोल्ने उहाँको पुरानै बानी हो ।

आयोगको आगामी अध्यक्षको लागि दौडधुप शुरु भएको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अपेक्षाका अतिरिक्त यतिखेर सुशील प्याकुरेल दौडेको अरुले समेत देख्न थालेका छन् । गत पुससम्म प्याकुरेल राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सल्लाहकार थिए । अग्नी सापकोटालाई सभामुख बनाउन नहुने अडान लिँदै आएका प्याकुरेलले सापकोटाको नियुक्ति पक्का भएपछि सल्लाहकारबाट राजीनामा दिएका हुन्  ।

मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको नियुक्ति संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ । यस्तो अवस्थामा सापकोटाले प्याकुरेलको नियुक्तिप्रति सहजै हरियो झण्डा देखाउनसक्ने सम्भावना अन्त्यन्तै क्षीण छ । यसअघि प्याकुरेल आयोगको पनि सदस्य थिए । उनले आयोग सदस्यको छ वर्षको कार्यकाल पूरा गरेका हुन् । तर, अहिलेको संविधानले आयोगका कुनैपनि पदाधिकारीलाई कार्यकाल दोहोर्याउन दिँदैन । उनी नेपालको संविधान २०७२ भन्दा अघिको व्यवस्थामा सदस्य बनेका हुन् ।

पहिलेको संविधानमा आयोगको अध्यक्ष बन्न सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधीश वा न्यायाधीश नै चाहिन्थ्यो । तर, अहिले यी दुई वा मानवअधिकारको क्षेत्रमा लामो समय काम गरेको व्यक्तिसमेत अध्यक्ष बन्नसक्ने व्यवस्था छ ।

टिप्पणीहरू