तीनकुने पुगेपछि बैठक स्थगित

तीनकुने पुगेपछि बैठक स्थगित

बुधबार साँझको लागि तय भएको छलफलमा भाग लिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनकुने पुग्नुभएको थियो । त्यसबीच एकाएक बालुवाटारबाट ‘आजको बैठक स्थगित भयो’ भन्ने खबर आयो । स्थगितको कारण नदिइएको उक्त जानकारीपछि दाहाल भने बालुवाटारतर्फको यात्रालाई त्यहिँ रोकेर अन्यत्र मोडिनु भएको स्रोतले बताएको छ ।

यसअघि दिउँसो सिमित सञ्चारकर्मीहरूसँग अध्यक्ष दाहालले लामो अन्तरक्रिया गर्नुभएको थियो । सो क्रममा वहाँले मंसीर ४ को सहमतिपछि आफूलाई कार्यकारी अध्यक्ष बनाइएको र आफूले त्यसअघि प्राप्त धेरैवटा अवसरलाई छाडेको बारेमा सबैजना विज्ञ भएको बताउनुभयो । आफूले पदको तुलनामा पार्टीभित्र विधि र प्रक्रिया नै ठूलो र महत्वपूर्ण भएको विषयलाई उजागर गरेको बताउँदै कम्युनिष्ट पार्टी विधिसम्मत सञ्चालन गर्नुपर्ने अडानमा सदैव दृढ रहेको पनि उल्लेख गर्नुभयो ।

मंसीर ४ पछि पार्टीमा जनवादी केन्द्रीयतामा आधारित रहेर आवश्यक निर्णय गर्न थालियो तर,वहाँ (प्रधानमन्त्री तथा अध्यक्ष) लाई पाच्य भएन भन्दै दाहालले त्यसबेला आफूले दुईवटा बैठकको अध्यक्षता गरेको र ती बैठकका निर्णय सर्वसम्मत भएको पनि जानकारी गराउनुभयो । त्यहि सर्वसम्मत निर्णयले प्रधानमन्त्रीमा छटपटाहट शुरु भएको दाबी गर्दै प्रचण्डले त्यसपछि ‘वहाँहरू (बालुवाटार) ले पोलिसी सिफ्ट गर्नुभयो र पूर्व एमालेलाई एक ढिक्का बनाउने र पूर्व एमाओवादी तथा प्रचण्डमाथि प्रहार गर्ने योजनाको तानाबाना बुन्न थाल्नुभएको हो” भन्नुभयो ।

‘अहिले पार्टीभित्र नियोजित ढङ्गले उठाइएको जनताको बहुदलीय जनवादको विषय त्यहि तानाबानाको निरन्तरता हो’ भन्दै दाहालले जबजको बिरुद्धमा अर्को पक्षले पनि अर्कै सिद्धान्तको कुरो उठायो भने त्यसलाई पार्टी एकता मान्ने कि नमान्ने ? भनेर प्रश्न गर्नुभएको छ । अहिले बालुवाटारले अनेक हतकण्डा अपनाउँदै प्रधानमन्त्रीचाहिँ एकताको पक्षधर र हामीहरू चाँहि एकता बिरोधी भन्ने बिल्ला भिराउन खोजेको सन्दर्भ जोड्दै वहाँले वास्तविक रूपमा यतिखेर पार्टी एकता बिरोधी स्वयम् प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली देखिनुभएको छ भन्नुभयो ।

दाहालले थप्नुभयो ‘अहिले एक्काइसौं शताब्दीको जनवादको ब्यानरमा वा एमाओवादीको नाममा मैले कार्यक्रम गर्न थालेँ भनेँ के त्यो सही हुन्छ ? होइन भने वहाँले अहिले जुन ब्यानर र पूर्व समूहको नाममा जे गरिरहनुभएको छ त्यसले पार्टी एकताको भावनालाई अक्षुण्ण राख्न बल पुग्दैन ।’

प्रधानमन्त्रीप्रति रोष प्रकट गर्दै दाहालले भन्नुुभयो ‘मैले गरेका निर्णय उल्टाउने, मसँग भेट गर्नेहरूलाई अपमानित गर्ने, मसँग नजिक रहेका एकजना सचिवलाई विभिन्न बहानामा रिँगाउने र मसँग बदला लिन खोज्ने प्रवृत्तिले कस्तो सन्देश प्रवाह भएको छ ?’ दाहालका अनुसार यसअघि आफ्नो सरकारले गरेका राजदूत नियुक्ती,बढुवालगायतका विषयलाई एकपछि अर्को गरी उल्टाइएको छ । हुनपनि वरिष्ठ सहसचिव गोकर्णमणि दुवाडीलाई चार चोटिसम्म बढुवा नदिएर अनावश्यक ढङ्गले म्युजिकल चियर खेलाइएको विषयले सिंहदरबारमा समेत राम्रै चर्चा पाएको थियो ।

पार्टी बैठकको सन्दर्भ कोट्याउँदै अध्यक्ष दाहालले भन्नुभयो ‘ प्रधानमन्त्रीको निर्देशनमा नेताहरूलाई प्रतिकात्मक ढङ्गले निषेध गर्दै कुर्सी व्यवस्थापन गरियो । कतिसम्म भने एक दिनको बैठकमा एकथरी कुर्सी राखिन्छ,फेरि अर्को दिनको बैठकमा झिकिन्छ । त्यत्ति गर्दा पनि मैले गलत कुर्सी व्यवस्थापनको विषयलाई महत्व दिइँन । अपमान सहेर भएपनि पार्टी एकता बचाउन मैले गलत आशयले राखिएको कुर्सीमा समेत बसेँ । तर,म सोध्न चाहन्छु ‘के अरुले त्यसो गरेको भए वहाँ सजिलैसँग त्यस्तो गलत नियतले व्यवस्थापन गरिएको कुर्सीमा बस्नुहुन्थ्यो ?’ यसले के कुराको पुष्टि भएको छ भने प्रधानमन्त्री तथा अध्यक्षमा हरेक क्षण आफ्नै पार्टीका नेतालाई अपमान गर्ने र त्यसैमा आनन्द लिने सोच बढ्दै गएको छ ।

‘अरुलाई भित्तामा पुर्याउने शैलीमा आफूचाँहि जनताको बहुदलीय जनवादलाई अघि सार्दै विभिन्न कार्यक्रममा सहभागिता जनाउने र कहिले आफूले आफैँलाई स्वःघोषित राष्ट्रवादीको पगरी गुथाउने कार्य यसबीचमा कसले गरेको छ ?’ भन्दै दाहालले सरकारले नचाहँदा नचाहँदै पनि पार्टीको निर्देशनमा जारी गरिएको नेपालको नयाँ नक्सा र राष्ट्रवादलाई अघि सार्दै अहिले आफूबाहेक अरु सबैलाई दलाल करारको प्रयास गरिएको छ । यो एक प्रकारको निषेधको राजनीति हो भन्नुभयो । वहाँ (प्रधानमन्त्री तथा अध्यक्ष) का ती सबै गलत कार्यलाई रोकेर भएपनि पार्टी एकतालाई बचाउन अन्तिमसम्म आफूहरूले प्रयास गर्ने पनि अध्यक्ष दाहालको भनाइ थियो ।

टिप्पणीहरू