‘पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने ?’

‘पार्टीले बन्दुक चलाउने कि बन्दुकले पार्टी चलाउने ?’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बन्दुकले पार्टी चलाउने प्रकारको भन्दै अर्का अध्यक्ष प्रचण्डले आज आफ्नो समूहनिकट पत्रकारसामु आफूमाथिका अपमान, पूर्वाग्रह र एकता भंग गर्ने नियतको खुलासा गर्नुभएको छ ।

दिउँसो बिजुलीबजारस्थित प्रेसिडेन्ट कलेजको छैठौं तलामा आयोजित नेकपासम्बद्ध करिव २० पत्रकारसँग प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पार्टीमा जारी विवादबारे आ-आफ्ना धारणा राख्नुभएको छ ।

प्रचण्डले पार्टीमा सामुहिक निर्णयमा व्यक्तिगत उत्तरदायित्वको ठीक उल्टो व्यक्तिगत निर्णयमा सामुहिक जिम्मेवारी लिइदिनुपर्ने मनोवृत्तिबाट प्रधानमन्त्री ग्रस्त हुनुभएको आरोप लगाउनु भयो । भन्नुभयो, ‘समूहले निर्णय प्रक्रियामा सामेल हुन नपाउने-नदिने, तर सामुहिक जिम्मेवारी लिइदिनुपर्ने कुरा गम्भीर महत्त्वको सैद्धान्तिक विषयका रुपमा रहेको छ ।’

अर्थतन्त्र निर्माणको सन्दर्भमा नवउदारवादी पुँजिवादको बाटो समातेर जाने कुराको उल्लंघन भएको उहाँले बताउनुभयो ।

सरकारबाट भएका पछिल्ला निर्णयहरु आफूसँग बदला लिने भावनाबाट प्रेरित भएको भन्दै उहाँले आफ्नो कार्यकालमा नियुक्त भएका मान्छे हटाएर पनि बदला लिने काम भएको सुनाउनुभयो । आफूकहाँ भेट गर्न आउने कर्मचारीलाई दु:ख दिने,आफ्नो समूहका नेता- कार्यकर्ताविरुद्ध षड्यन्त्र गर्नेजस्ता काम भएको भन्दै सचिवालय बैठकमा आफू बस्ने कुर्सी हटाएरसम्म अपमान गर्न नछाडिएको सुनाउनुभयो ।

माइन्युटमा लेखेर आफूलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएपछि दुई बैठकको अध्यक्षता गरेको प्रचण्डले बताउनु भयो । तर,विधिसम्मत र सर्वसम्मत चलेका ती बैठकपछि पार्टीमा प्रचण्ड हावी हुने भयो भनेर केपी समूहले पोलिसी सिफ्ट गरेको उहाँको गुनासो थियो । त्यसपछि पार्टीलाई गम्भीर अराजकतातर्फ लगिएको उहाँले दावी गर्नुभयो ।

माधवलाई बिचौलियाको बात

‘हिजो एकजना सम्मानित व्यक्तित्वले मकहाँ आएर चिन्ता व्यक्त गर्दै भन्नुभयो-यी दुइटा नेता महाधिवेशनसम्म सहमतिमा चल्नुपर्ने,तर त्यसो नहुँदा यो समस्या खडा भयो । त्यसैले कमरेडले बिचौलियाको भूमिका खेलिदिनुस् । यहाँ बिचौलियाहरु बदनाम भइरहेको बेला साथीहरूले मलाई नै बिचौलिया बनाउन खोज्नुभयो ।’

पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्त,सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायित्वको प्रणालीमा सञ्चालित हुने विधानको वाक्य उद्धृत गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले यसो भनेपछि पत्रकारहरु गलल हाँस्न थाले ।

पार्टीका सबै निर्णयहरु संगठनात्मक प्रणालीमा हुने उक्त वाक्य देखाउँदै नेता नेपालले बिचौलिया बन्नुस् भन्न आउने वरिष्ठ व्यक्तिलाई अर्का वरिष्ठ नेता (सुवास नेम्वाङ) ले हातले केरेर गरेको करेक्सन नै देखाइदिनु भएको प्रसंग आफ्नो समूहका पत्रकारमाझ राख्नुभयो ।

‘सबैतिर लठिभद्र छ । पार्टी भनेको कागजमा सिमित छ । अध्यक्षलाई बैठकको नाम लियो कि राति निन्द्रा लाग्दैन । बैठकसँग डराउने नेता र पानीसँग डराउने किसानको के काम ?’

टिप्पणीहरू