नेकपाको बोक्रामा बिचौलियाको गुदी

नेकपाको बोक्रामा बिचौलियाको गुदी

सरकारले हालै उपत्यका नगर विकास कोषको कार्यकारी निर्देशकमा कृष्ण सापकोटालाई नियुक्त गरेको छ । सामाजिक सञ्जालमा खुमलटार समूहको खोइरो खन्नेहरुलाई महत्वपूर्ण नियुक्ति दिने क्रममा सापकोटाले कोषको सीईओ उछिट्याएका हुन् । यसअघि नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा त्यस्तै प्रवृत्तिका गुरु भट्टराईलाई नियुक्त गरिएको थियो ।

स्रोतका अनुसार सापकोटा नेकपानिकट इञ्जिनियरहरुको मोर्चा संगठन पीइएनका सचिवालय सदस्य हुन् । उनी परामर्शदाता (कन्सल्टेन्सी) हरुको संगठनका उपाध्यक्षसमेत छन् । सितारा कन्सल्ट्याण्ट पनि उनैको हो,जहाँ उनी एमडी छन् ।

शक्तिकेन्द्रसँग नजिक रहेर स्वार्थपूर्ति गर्न माहिर सापकोटा केही समयअघि मात्रै काठमाडौं–निजगढ फास्ट ट्रयाकको ठेक्का लिएको कोरियन कन्सल्ट्याण्टका नेपाली पार्टनर पनि हुन् । यहि मेसोमा सरकारले उनलाई नगर विकास कोषको सीईओमा नियुक्त गरेको छ ।

कोषका धेरैवटा परियोजनामा सापकोटाको सिताराले कन्सल्टेन्सी (परामर्शदाता) को काम हात पार्दै आएको छ । एकातिर परामर्शदाता बनेर परियोजना उछिट्याउने र अर्कोतर्फ कोषको सीईओमा नियुक्ति लिने कार्यले सापकोटाको ‘कन्फ्ल्किट अफ इन्ट्रेष्ट’ लाई उदाङ्गो पारिदिएको बताइन्छ ।

कोषअन्तर्गत एक हजार भन्दा बढी परियोजना सञ्चालनमा छन् । त्यसमध्ये झण्डै दुई सयवटा आयोजनामा सिताराले परामर्शदाताको जिम्मेवारी लिएको छ । कोषले अन्तर्राष्ट्रिय दाताहरुले भौतिक विकासको लागि उपलब्ध गराएको अरबौं रुपैयाँको अनुदान तथा ऋण रकम परिचालन गर्छ ।

सापकोटाको विगतलाई हेर्दा उनी पूर्व एमाले तथा वर्तमान नेकपाले उत्पादन गरेको नयाँ स्वरुपको दलाल पुँजीपति रहेको एकजना नेताले बताए । उनी नजराना चढाएर कन्सल्टेन्सीको काम लिन सबैभन्दा माहिर रहेको पूर्व एमालेनिकट इञ्जिनियरहरु नै बताउँछन् । उनले सडक,भवन,सिँचाईं र खानेपानी विभागका धेरैजसो कामसमेत राजनीतिक दबाबबाट लिने गरेका छन् । ‘सापकोटाले नलिएको काम मात्र हाम्रो भागमा पर्ने गरेको छ’ एकजना इञ्जिनियरको दुःखेसो हो यो ।

पछिल्लो समय उपप्रधानमन्त्रीको निकट रहेर उनी काठमाडौं–निजगढ फाष्ट ट्रयाकको कोरियन कन्सल्टेण्टका नेपाली ज्वाइन्ट भेन्चर बन्न सफल भएका हुन् । बालुवाटारमा प्रधानमन्त्रीको पूर्वाधार विज्ञ गजेन्द्र थपलियाको चाकडीबाटै उनले अनेकौं काम हात पारेको बताइन्छ । थपलियाले पदवहाली गर्दाको एउट तस्बिरले पनि उक्त कुराको पुष्टि हुन्छ । त्यसअघिका पूर्वाधार विज्ञ घनश्याम भट्टराईको पालामा पनि उनले त्यस्तै हर्कत देखाएका थिए । कोषको सीईओमा भएको उनको नियुक्तीले नेपाल रेल्वे कम्पनीमा भएको गुरु भट्टराईको नियुक्तिलाई समेत उछिनेको विज्ञहरु बताउँछन् ।

वामदेव गौतम केही समयअघि प्रचण्ड-नेपाल कित्तामा लाग्दा उहाँमाथि गाली गर्दै साप्कोटाले सामाजिक सन्जालमा पोखेको कुण्ठा अहिले चर्चाको शिखरमा छ ।

टिप्पणीहरू