प्रहरीको हातमा प्ले–कार्ड

प्रहरीको हातमा प्ले–कार्ड

प्रहरीको हातमा लठी र कम्मरमा हतियार हुनुपर्ने तर घोराहीका प्रहरीले प्लेकार्ड बोक्न थालेका छन् । कोरोनाको संक्रमण फैलन नदिन मास्क लगाउन गरिएको अनुरोध मानिसले बेवास्ता गरेपछि प्रहरीले बजार परिक्रमा गरेका छन् ।

सडक छेउमा उभिएका कोही भन्दै थिए ‘मास्क नलगाउनेलाई फटाफट जरिवाना पो गर्नुपर्छ, यसरी सडकमा प्लेकार्ड बोकेर आउने ?’ कोही भन्दै थिए–‘सर्वसाधारणलाई सम्झाउने तरिका राम्रो लाग्यो ।’ लकडाउन हटे पनि कोरोनाको त्रास नहटेकाले प्रहरीले मास्क लगाउन सर्वसाधारणलाई अपिल गर्न थालेको हो । कतिपय स्थानमा प्रहरीले मास्क नलाएको भन्दै नगद जरिवाना गर्ने गरेको छ । घोराहीमा भने प्रहरीले जरिवाना नगरेर मास्क लगाउन अनुरोध गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले प्रहरीले जरिवाना गर्न सक्ने भए पनि मास्क लगाउन अनुरोध गर्न थालिएको बताए । प्रहरीले बोकेका प्लेकार्डमा तपाईंको मास्क खोई, मास्क अनिवार्य लगाउनुहोस्, भौतिक दूरी खोई ? जस्ता नारा लेखिएको थियो ।

प्रहरीले कोरोनाबाट जोगिन थालेको अभियानलाई गाउँगाउँसम्म पु¥याउने योजना अघि बढाएको छ । नेपाल सरकारले कोरोनाविरुद्ध लकडाउन गरेको र हाल लकडाउन हटाउँदा पनि कोरोनाको त्रास कम नभएकाले सबैलाई सावधान गर्न प्लेकार्ड अभियान सञ्चालन गरिएको हो ।

‘लकडाउन हटे पनि कोरोनाको संक्रमण नहटेकाले अहिले पनि सबैले सावधानी अपनाउन जरुरी छ तर अहिलेको अवस्था हेर्दा कोरोना पूर्णरूपमा हटेजस्तो देखिन्छ’ हामी सबैले सावधानी अपनाउन नसक्ने हो भने कोरोना संक्रमण व्यापक हुन सक्ने खतरा रहेको जिल्ला प्रहरी प्रमुख चन्दको भनाइ छ ।

कोरोना संक्रमणको त्रासका कारण सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन साउन ६ गतेबाट अन्त्यको औपचारिक घोषणा गरिएपछि बजारमा आउनेको संख्या बढेको छ । तिनले मास्क नलगाउने गरेको पाइएको छ । लकडाउन खुकुलो हुँदा चहलपहल बढ्नुका साथै भीडभाड बढ्दा प्रहरी पनि चिन्तित भएको छ । साउन १५ गतेदेखि सबै प्रकारका होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । प्रतिदिन कोरोनाको त्रास बढेको छ ।

टिप्पणीहरू