नेकपाको विवादमा विप्लव समूहको हेराई

नेकपाको विवादमा विप्लव समूहको हेराई

चौथो महाधिवेशन र पुष्पलालको मूल्यांकन प्रचण्ड, किरण, बाबुरामले गर्दा जुन प्रकारको विश्वास पैदा भएको थियो, त्यस्तो अवस्था आज छैन । वर्गसंघर्ष र अन्तरसंघर्षले पैदा गरेका समस्याहरूको समाधानले नै नेताप्रति भरोसा हुने हो ।

प्रचण्डले नै जनयुद्धको नेतृत्व गरेका हुन्, अरुको पनि उत्तिकै र सामुहिक नेतृत्व थियो । दोस्रो खारा आक्रमण वरपर पुग्दा गम्भीर समस्या पैदा भएका थिए । त्यसो त राजा वीरेन्द्रको वंशनाश जनयुद्धकै विरुद्ध लक्ष्यित थियो । त्यसप्रकारको धम्की छल्न भारतका प्रम मनमोहन सिंहलाई पत्राचार गरियो । चिठी लेख्नु नै अन्यथा होइन तर त्यसको भाषा र आशय के हो भन्ने मुख्य विषय हो । वैचारिक, राजनीतिक, संयुक्त मोर्चा र फौजी सबै मोर्चाका समस्या समाधान गर्न आवश्यक थियो । एक वर्ष भनाभन–तानातान भयो । किरण, गौरव, लोकेन्द्र विष्ट, मातृका, अनिल शर्मासहित ठूलो पंक्ति गिरफ्तार भयो । उता, संसदीय राजनीतिमा पनि शत्रुतापूर्ण फाटो थियो । त्यसबेला प्रचण्ड–बाबुरामले वैचारिक तथा राजनीतिक रूपमा नयाँ निकास दिन सकेनन् । भट्टराई बुर्जुवा गणतन्त्रभन्दा परसम्म जान चाहन्नन् भन्ने चर्चा हुँदै आएको थियो । त्यसैबीच, १२ बुँदे सहमति भयो । १२ बुँदे जनयुद्धको बुर्जुवा गणतन्त्रमा पतन थियो । राजनीतिक रूपमा दलाल पुँजीवादको विजय थियो । बुर्जुवा गणतन्त्रको कार्यनीति आफ्नो भएकोले आफूले नै मुख्य नेतृत्व पाउनुपर्ने बाबुरामको खुला दाबी थियो । प्रचण्ड भने त्यो मान्न तयार भएनन् । त्यस्तो अवस्थामा प्रचण्ड र बाबुराम अलग भए । बाबुरामले संगठनात्मक श्रेष्ठता कायम गर्न नसकेको कुरा अन्तरंग छलफलमा बताउने गरेका छन् ।

वैद्य–विप्लव जनयुद्धको विकास चाहन्थे । शान्ति प्रक्रियामा आएपछिको पहिलो चितवन, होलील्याण्ड भेलामा नै फरक मत प्रकट भयो । त्यसपछिको बालाजु विस्तारित भेलामा भनाभनसम्म भयो । खरिपाटी भेलामा पुग्दा मत विभाजन, फरक मत र पिटापिटको स्तरमा पुग्यो । जनमुक्ति सेना र नेताहरू उत्पीडक लफङ्गाको स्तरमा झर्न पुगे । वैचारिक राजनीतिक पतनको अनिवार्य अभिव्यक्ति अरु हुन सक्दैनथ्यो । दलाल पुँजीवादी विचार राजनीति अवलम्बन गरेपछि त्यहीअनुसार विकृत संस्कार अनिवार्य थियो । जनमुक्ति सेनाको विघटन र बुर्जुवा संविधान लेख्ने भएपछि वैद्य, विप्लव अलग भए । हितमान शाक्यद्वारा प्रचण्डको सुराकी गर्न पठाइएको भनिएका रामबहादुर थापा अन्तिममा चुरीफुरी गर्दै आए । परालको आगो झैं सेलाए ।

बादल–गुरुङ गुटले ४० प्रतिशत सांसद पु¥याएर पार्टी विभाजन गर्ने र सुशील कोइरालासँग मिलेर सरकारमा गई प्रचण्डलाई देखाइदिने रणनीति बनाएका थिए । तर बाबुराम भट्टराईले संविधानसभा विघटन गरेर हावा फुस्काइदिए । क्रान्तिकारी कार्यनीति लागू गर्न विप्लवको दबाव बढ्दै थियो । चुनाव हारेका प्रचण्ड र चुनावमा जानसम्म नपाएका बादल–गुरुङको कथा व्यथा र भावना मिल्न गयो । त्यसपछि बादल–गुरुङले पार्टी फुटाउने रणनीति बनाए । किरणको काँधमा बन्दुक राखेर पड्काउन थाले । विप्लव अलग हुनासाथ बादल गुटले किरणमाथि हमला शुरु ग¥यो । किरणमाथि हमला र प्रचण्डसँग एकता एकसाथ समानान्तर रूपले गरिएको थियो ।

प्रचण्डको विनाशलीला र बाबुरामको साँगठानिक असफलतापछि फेरि माओवादी धारामा ध्रुविकरणको बहस चलाइएको छ । झापाली वा माओवादी ध्रुविकरण समाज विज्ञानको निम्नतम ज्ञान नभएका कुण्ठित मान्छेको गनगन हो । अब क्रान्तिकारी धारा र दक्षिणपन्थी धाराबीचको एकता नै आवश्यक र सम्भव छ । समान राजनीतिक धाराबीच एकता सम्भव छ । त्यसैले बहुदलीय जनवाद र कथित २१औं शताब्दीको जनवादको बीचमा शब्दजालबाहेक फरक छैन । राजनीति, विचार, विदेशसम्बन्ध, अर्थनीति, सामाजिक सम्बन्ध, निजी स्वामित्व– के कुरामा प्रचण्ड र ओलीबीच फरक छ ? स्वार्थको झगडा मात्र हो । आ–आफ्नो गुटको स्वार्थ रक्षाको लागि तलसम्म गुटहरू सक्रिय हुनुलाई नै वैचारिक, राजनीतिक अन्तर मान्नुपर्ने हुँदैन ।

वैचारिक रूपले प्रचण्ड र बाबुराम को सफल ? भन्ने बहस पनि सामाजिक सञ्जालमा देखिन्छ । बाबुरामले मर्यादाक्रममा पछाडि बसेर एउटा शक्तिलाई आफू अनुकूल चलाइरहेको देखिन्छ । त्यसको प्रभाव र गन्तव्य अहिले नै भन्न गाह्रो छ । प्रचण्ड पेण्डुलम जसरी हल्लिरहेका छन् । विप्लव र बाबुराम भट्टराईको दुई फरक फरक कोणबाट भएको आक्रमण, देउवासँग मिलेर चुनाव लड्दाको असफलता र सबै ढोका बन्द भएको पृष्ठभूमिमा प्रचण्ड ओलीसँग एकता गर्न पुगेका थिए । त्यसबेला नेपाल पक्षका नेताहरूले ओलीलाई त नेता मानेका छौं, तपाईंलाई मान्न के गाह्रो छ र ! भनेर प्रचण्डलाई हौस्याइरहेका थिए । विदेशी शक्तिमध्ये अमेरिकालाई वामपन्थीको नेतृत्वमा एमसीसी पारित गराउनु थियो । यस्ता थुप्रै कारण ओली–प्रचण्ड एकता भयो । आज स्वार्थ मिलेन, फुटको आगो भित्रभित्रै दन्केको छ । यो मिल्नेवाला छैन ।

प्रचण्ड र माधव नेपालको अस्थायी गुट बनेको भए पनि विश्वासको वातावरण छैन । बहुदलीय जनवादको नारा नदिँदा पूर्व एमाले पंक्ति बिच्कने डर माधव नेपाललाई होला । त्यही कारणको त्रास प्रचण्डलाई पनि देखिन्छ । प्रचण्ड र माधव नेपालको स्वार्थ र स्वभावमा पनि धेरै अन्तर छ । माधव नेपालसँग अन्तरंग छलफलमा प्रचण्डले बेलाबेला ‘म सेकेण्ड म्यान भएर सोच्नै सक्दिन’ भन्ने गरेको कुराले माधव नेपाललाई झस्काइरहन्छ । ओलीलाई हटाएर प्रचण्डलाई ल्याउँदा झनै समस्या हुने हो कि भन्ने त्रास माधव नेपाल पक्षलाई छ । माधव नेपाल पक्ष प्रचण्डलाई राम्ररी विश्वास गर्दैन । त्यसकारण प्रचण्ड ओलीसँग निर्णायक संघर्षमा जान सकिरहेका छैनन् । त्यही भएर ओलीले लल्कार्दै आएका हुन् ।

सत्तारुढ पार्टीको गुटबन्दीले देश झनै आर्थिक, राजनीतिक, सुरक्षाको दृष्टिले अस्थिर बन्दै गएको छ । दुर्घटनाको सम्भावना हुने नै भयो । यसरी नै देश चलिरह्यो भने भावी चुनावमा काँग्रेस, समाजवादी र राप्रपाको संयुक्त सरकार बन्न सक्छ । ओली प्रम रहेमा आफ्नो बहुमत नआउने आँकलन माधव नेपाल र प्रचण्डले सार्वजनिक गरिसकेका छन् । यस्तो अवस्थामा राजनीतिक संकट झनै बढेर जानेछ ।

(लेखक विप्लव नेकपाको प्रकाशन विभाग प्रमुख हुनुहुन्छ)

टिप्पणीहरू