भारतमा मुसा बनेर कसरी पसे विदेशी

भारतमा मुसा बनेर कसरी पसे विदेशी

भारतमा सबैभन्दा पहिला प्रवेश गर्ने विदेशी पोर्चुगिज हुन् । त्यसबेला पोर्चुगलका राजा थिए– जोहन (तृतीय) । उनले सन् १४९७ को जुलाईमा पूर्वी विश्वमा पुग्ने समुद्री मार्ग पहिल्याउन नाविक भास्को डि गामालाई जिम्मेवारी सुम्पिए । ३७ वर्षका गामाको नेतृत्वमा ४ जुलाईमा राजानी लिस्बनबाट चारवटा जहाज पूर्वतर्फ प्रस्थान गरे । तिनमा लगभग १ सय ७० जना सवार थिए । उनीहरु अफ्रिकाको केप अफ गुड होप हुँदै अघि बढे र मे २०, १४९८ मा दक्षिण भारतको समुद्री नगर (केरलाको) कालिकटमा उत्रिए ।

कालिकटका तत्कालीन राजा समुथिरी, जो मलयालम भाषा बोल्दथे र तीन वर्षअघि मात्र गद्दीसीन भएका थिए, ले गामालाई पत्तनमा आएर भेट्न निमन्त्रणा दिए । तर करिब १० महिना लामो समुद्रिक यात्राको दौरान ठाउँठाउँमा धेरै डाँकाहरुसँग मुठभेड गरेका गामा समुथिरीसँग डराउँदै भेट्न गए । दरबार पुग्नु वर एउटा मन्दिर देखे । मन्दिरभित्र देवीको मूर्ति थियो । गामालगायत सबै पोर्चुगिजले त्यो मूर्ति मरियम (क्राइस्टकी आमा) को सम्झे र राजा समुथिरी पनि इसाइ नै रहेछन् भन्ठाने । दरबारमा उनीहरुको भव्य स्वागत भयो ।

दरबारका अधिकांश सल्लाहकार मुस्लिम रहेछन् । राजा र गामाले व्यापारको कुरा अघि बढाउन खोज्दा उनीहरुले अवरोध सिर्जना गरे । गामाले राजाको निम्ति ल्याएका उपहार देखाएर उपहास गरे । जसको कारण वार्ता सौहाद्र्रपूर्ण भएन । राजाकै सामुन्ने उनका मन्त्रीहरुले पोर्चुगिजहरुले भारतमा आएर व्यापार गर्न चाहेको हो भने कर तिर्नुपर्ने शर्त तेस्र्याए । गामाले कालिकटमा मरियमको अर्को मूर्ति स्थापना गर्न चाहेको कुरालाई पनि उनीहरुले ठाडै अस्वीकार गरे । गामाहरु त्यहाँ करिब १ सय दिन बसे । यसबीच समुथिरीका मुस्लिम मन्त्रीहरुले पोर्चुगिज नाविकहरुको अपहरण गरे, गामाले पनि आफ्नो जहाज निरीक्षण गर्न पुगेका सरकारी अधिकृतहरुलाई बन्दी बनाए । अन्त्यमा सेप्टेम्बरमा धेरै मालसामानसहित उनीहरुले स्वदेश फर्कन पाए । राजा समुथिरीले राजा जोहनको नाममा सन्देश पठाए । गामासितै भारत पुगेका एकजना यात्रीले संस्मरणमा यस्तो लेखे, ‘उक्त देशका मानिसहरु पहेंलो, कैलो रंगका रहेछन् । होचा, हेर्दैमा इष्र्यालु र मतलबी देखिने । पुरुषले कम्मरभन्दा माथि लुगा लगाउँदैनन् । केहीले लामो कपाल पाल्ने तर केहीले पूरै कपाल मुण्डन गरेका । महिलाहरु पनि राम्रा छैनन् ।’

तर भोलिपल्ट करिब ७० जना मुसलमानले उनीहरुमाथि आक्रमण गरे । जवाफमा गामाहरुले पनि गोलाबारी गरे । अन्त्यमा केही भारतीय बन्दीहरुसहित पोर्चुगलको लागि रवाना भए । सन् १५०० को जनवरीमा बल्ल अफ्रिकाको स्वाहिली तट पुगे । ५ सय दिन लामो यात्राको कारण सबै थाकिसकेका थिए । केही त बिरामी नै परे । गामाको भाइ पालो डि गामाको त निधनै भयो । भाइको अन्त्येष्टिपछि मात्र गामा स्वदेश फर्के । पोर्चुगलमा उनको भव्य स्वागत भयो । उनले सन् १५०२ मा भारतको दोस्रो यात्रा र १५२४ मा अन्तिम यात्रा गरे । उनको निधन भारतको कोचीमा भएको हो । पोर्चुगिजहरुले भारत पुगेर विभिन्न स्थानमा व्यापारिक केन्द्र खडा गरे । विस्तारै प्रशासन हातमा लिए । आफ्नो रक्षार्थ किल्लाहरु निर्माण गरे । ती क्षेत्रमाथि नियन्त्रण जमाए ।

पोर्चुगिजपछि भारतमा डच, त्यसपछि डेनिस र फ्रान्सिसीहरु पनि पुगे । पोर्चुगलले गोवा र मुम्बई, डेनमार्कले तमिलनाडुको थेरांगाम्वाडी, बंगालको सेरामपुर, निकोबार टापु, फ्रान्सिसीहरुले पोण्डिचरी, आन्ध्रप्रदेशको करिकाल, यानाओं, बंगालको चन्द्रनगर, मालाबार टापुमा व्यापारिक केन्द्र खडा गरी नियन्त्रण कायम गरे । पोर्चुगिज, डच, डेनिस र फ्रान्सिसी व्यापारीहरुले व्यापार गरी भारतबाट लाभ उठाइरहेपछि अंग्रेजहरु इष्र्यालु बने । त्यसबेला स्पेनको आर्माडा जहाजलाई पराजित गरिसकेका कारण उनीहरुमा उत्साह जाग्यो । त्यसैले सन् १५९९ को सेप्टेम्बर २२ मा लण्डनमा २१ जना व्यापारी बैठक बसे । भारतसँग व्यापार गर्ने योजना बनाए र इष्ट इण्डिया कम्पनी स्थापना गरे । तत्कालीन बेलायती महारानी एलिजाबेथ (प्रथम) बाट सन् १६०० को डिसेम्बर ३१ मा एउटा आज्ञापत्र जारी भयो । सो आदेशानुसार भारतलगायत पूर्वीय क्षेत्रमा व्यापार गर्ने एकाधिकार सो कम्पनीले प्राप्त ग¥यो, २१ वर्षका लागि । मुख्य कार्यालय लण्डनमा स्थापना गरियो ।

कपास, रेशम, नून, मसला, चिया, अफिम, सालपत्री आदिको व्यापार गर्ने अनुमति पाएपछि शुरु–शुरुमा व्यापारीहरु अलग–अलग जहाजबाट भारत पुग्थे । नाफा दामासाहीले बाँडचुँड गर्थे । सन् १६१२ मा उनीहरुले पुँजी संकलन गरेर एउटै जहाज भारत पठाउन थाले । पहिलो दुई यात्रा मलाया द्वीप क्षेत्रतिर गरे र तेस्रो यात्रा भारतको सुरत (गुजरात) तर्फ गरे । क्याप्टेन हकिन्सले सुरतमा कोठी खोले । त्यसबेला भारतमा मुगल सम्राट जहाँगिर उर्फ अकबरका छोरा सलिमको शासन थियो । चतुर अंग्रेज हकिन्सले जहाँगिरसँग भेटे । इष्ट इण्डिया कम्पनीलाई महारानी एलिजाबेथको संरक्षण प्राप्त भएको र त्यसमा दरबारको पनि हिस्सा भएको कुरा सुनाए । उनले जहाँगिरलाई युरोपबाट लगेको उपहारहरु चढाए । आधुनिक प्रविधियुक्त, सुविधायुक्त उपहार पाएर जहाँगिर दंग परे ।

अन्य युरोपेली व्यापारीहरुले भारतमा व्यापार गर्न थालेको बीसौं वर्ष बितिसकेको थियो तर उनीहरुले जहाँगिरलाई खुशी पार्न सकेका थिएनन् । युरोपेलीहरुलाई व्यापार गर्ने अनुमति दिन उनी हिच्किचाइरहेका थिए । किनभने अनुमति दिनुको अर्थ भारतीय व्यापारी र मिस्त्रीहरुको हात र गला काट्नुसरह थियो । सम्राटका सल्लाहकारहरुले पनि त्यसो नगर्न सल्लाह दिइरहेका थिए । तसर्थ सम्राटले अंग्रेजहरुलाई व्यापार गर्न सीमित अधिकार दिए । अंग्रेजहरु यसबाट प्रसन्न भएनन् तर पर्खाइको फल मीठो हुन्छ भन्ने भनाइलाई चरितार्थ गरे । हरेकपटक युरोपबाट आउनेहरुले सम्राटलाई केही न केही उपहार ल्याएर दिइनै रहे । सम्राटलाई कोशेली लिने बानी प¥यो । यसबाट अंग्रेजहरुको काम सजिलो हुँदै गयो । नतिजा, उनीहरुले खोजेको व्यापारिक अधिकार मात्र होइन, कारखाना खोल्ने अनुमतिसमेत प्राप्त गरे ।

भारतको कच्चा पदार्थ र बहुमूल्य सामान जहाजबाट इंग्ल्याण्ड जान र इंग्ल्याण्डमा उत्पादित सामान भारत पुग्न थाल्यो । सन् १६४६ आइपुग्दा नपुग्दै समुद्र तटीय ठुल्ठूला शहर र बन्दरगाहमा २३ वटा कारखाना स्थापना गर्न अंग्रेजहरु सफल भए । अब आफ्नो जहाजको रक्षा पनि उनीहरुकै प्राइभेट सेनाले गर्न थाल्यो । एकपटक सम्राटसँग भएको सम्झौतालाई नाघेर यी सैनिकहरुले केही स्थान कब्जा गर्न खोजे । यसबाट सम्राट औरंगजेब उनीहरुदेखि रिसाए र तुरुन्त भारत छाडेर जान आदेश दिए । पछि अंग्रेजहरुले माफी मागेर र भन्सार दस्तुर बढी तिरेर विवाद सल्टाए । उनीहरुले कच्चा पदार्थको आपूर्ति र भारतीय बजारमा आफ्नो सामान बेच्न स्थानीय व्यापारीहरुसँग हात मिलाए । यसबाट नाफा आर्जन भएपछि भारतीयहरु पनि उनीहरुदेखि खुशी भए ।
सुनियोजित तवरमा भारत पसेका अंग्रेजहरुले दक्षिण भारतको विजयनगर–चेन्नइमा अर्को कारखाना खोल्ने अनुमति पाए । कम्पनीले त्यहाँ सेन्ट जर्ज किल्लासमेत निर्माण गरे । सन् १६६१ मा चेन्नइको साथै मुम्बइको एउटा टापुसमेत प्राप्त गरे । सो टापु ब्रिटेनका राजा चाल्र्स (द्वितीय) ले पोर्चुगिज राजकुमारीसँग बिहे गरेबापत दाइजोको रुपमा पाएका थिए । राजा चाल्र्सले सो टापु वार्षिक १० पौण्ड भाडा लिने गरी इष्ट इण्डिया कम्पनीलाई दिए । यसपछि कम्पनीका गभर्नर जेराल्ड अंगियारले आधुनिक मुम्बई शहर निर्माणको थालनी गरे । त्यतिञ्जेलसम्म बंगाल अंग्रेजहरुबाट टाढा थियो । बंगालका नवाब सिराजुद्यौला थिए । सन् १७५७ मा अंग्रेजहरुले उनीसँग युद्ध गरे । त्यसबेला सिराजुद्यौलासँग १८ हजार सेना थिए भने अंग्रेजसँग जम्मा ३ सय तर पनि सिराजुद्यौला पराजित भए ।

भारतमा अंग्रेज फौजको संख्या बढ्दै थियो तर मुगल सम्राटहरु यो देखेर पनि असहाय बन्दै गए । हुँदाहुँदा उनीहरुले मुस्लिम राज्य मैसुरमाथि कब्जा जमाए । अंग्रेजले हिन्दु राजपुत, सिख, मराठाहरुको राज्य जित्न मुगललाई सहयोग गरे । हिन्दु राजाहरुबाट मुगल शासकको अत्याचारको बखान गरी सहानुभूति लिए । उनीहरुले हैदरावादका निजामको शासन अन्त्य पार्दा पनि मुगलहरु चुपचाप बसे, कारण अंग्रेजहरु मराठा र राजपुतहरुको शासन समाप्त पार्न लागिपरेका थिए । डेबिड अक्टरलोनी इष्ट इण्डिया कम्पनीका सैनिक जर्नेल थिए । उनले मराठाहरुले दिल्लीमाथि आक्रमण गर्दा मुगलहरुको रक्षा गरे । पछि वारेन हेंग्स्टिनले मराठाहरुलाई आत्मसमर्पण गराएपछि त झन् मुगल राजा इष्ट इण्डिया कम्पनीको पेन्सनप्राप्त कर्मचारीसरह बन्न पुगे ।
यसपछि अंग्रेजहरुको पञ्जा झन् फैलिँदै गयो । सन् १८२९ मा आसाम, १८४३ मा सिन्ध, १८४९ मा पञ्जाब र १८५२ मा दक्षिण बर्मामाथि नियन्त्रण जमाए । वर्तमान म्यान्मारदेखि पेशावरसम्म आधिपत्य कायम गरे । ब्रिटिश सेनाको मद्दतबाट विस्तारै सम्पूर्ण भारतमा आफ्नो झण्डा गाडे । उत्तर र दक्षिण भारतका सम्पूर्ण मुस्लिम शासकसहित सिख, मराठा, राजपुत तथा अन्य शासकहरुको शासन अन्त्य गरिदिए ।

सन् १८५७ को मे १० मा इष्ट इण्डिया कम्पनीको ‘शासन’ विरुद्ध भारतीयहरुले सशक्त विद्रोह गरे । १८ महिनासम्म ठाउँठाउँमा झडप भयो । अन्त्यमा भारतीयहरुलाई दबाब अंग्रेजहरु सफल भए । नतिजा इष्ट इण्डिया कम्पनीको सम्पूर्ण अधिकार बेलायती महारानी भिक्टोरियाले लिइन् । कम्पनीलाई बेलायत सरकारले राष्ट्रियकरण ग¥यो र भारतमा प्रत्यक्ष शासन शुरु ग¥यो । र, यो शासनको अन्त्य सन् १९४७ मा बल्ल हुन सक्यो । मुसो बनेर पसेको बेलायतको इष्ट इण्डिया कम्पनीले पछि हात्ती बनेर भारतमा शासन गरेको यो उदाहरण अमेरिकी परियोजना एमसिसीमा पनि लागू हुनसक्ने नेपाली विद्वानहरुले तर्क गरिरहेका छन् ।

टिप्पणीहरू