अपहृत मधेशी साथीहरू सम्पर्कमा हुनुहुन्छ

अपहृत मधेशी साथीहरू सम्पर्कमा हुनुहुन्छ

०६४ सालमा युथफोर्सको अध्यक्ष हुँदासम्म तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनालका खास मानिने महेश बस्नेतले त्यही प्यानलबाट ०६५ को बुटवल महाधिवेशनमा भाग लिए । तर, सिरहामा सम्पन्न युवा संघको राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्ने बेला भएपछि केपी ओली प्यानलतिर सक्रिय भए । अहिले पनि उतै छन् । ०५४ को स्थानीय निर्वाचनमा भक्तपुरस्थित साविकको गुण्डु गाविसमा एमालेले परिपक्व उम्मेदवार नपाउँदा २२ वर्षीय महेश उठे, जिते पनि । त्यहीँदेखि हो, उनले जनताबीच काम गरेको । अहिले पनि स्थानीय जनताबीच रुचाइने नेता हुन् । युवा संघमा काम गर्ने क्रममा केही गैरराजनीतिक युवाहरूलाई साथमा लिँदा उनीमाथि गुण्डा पालेकोदेखि अनेकन आरोप लागे । तर, महेश मूलतः राजनीतिक मान्छे नै हुन् । अहिले केपी ओलीले भन्दा धरहराबाट हामफाल्न तयार छु भनेर चर्चामा आएका छन् ।

० प्रधानमन्त्रीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पदबाट राजीनामा दिनुपर्ने मागलाई के भन्नुहुन्छ ?

– न मुद्दाको हिसाबले न त समयकै हिसाबले सही समयमा यो इस्यु उठेको छ । नेकपाभित्र सैद्धान्तिक, वैचारिक बहस चैतमा महाधिवेशन गर्नका पार्टी एकीकरण हुँदाको हो । यो बीचमा पार्टी अध्यक्ष र प्रधानमन्त्री फेर्ने कुरा आएको छ सिद्धान्तहीन, विचारहीन, पदलोलुप र स्वार्थ केन्द्रित केही नेताको गठजोडबाट उत्पन्न भएको विषय हो ।

० स्थायी कमिटीका बहुमत सदस्य एक पदबाट राजीनामा गर्ने पक्षमा हुँदा पनि प्रधानमन्त्रीले पार्टीलाई वास्ता गर्नुभएन भन्ने आरोप छ । किन त्यस्तो गर्नुभएको होला ?

– पूर्वमाओवादीको ट्याग लगाएर वा माधव नेपालसँग निकट भएका कारण बहुमत, अल्पमत भन्न सकिएला तर यो एजेण्डामा स्थायी कमिटीमा उहाँहरूको बहुमत छैन भन्ने मेरो दाबी हो । पार्टी एकीकरण भइरहँदा प्रचण्ड कमरेडकै दबाबमा दुईवटा निर्णय भएको छ । आउँदो महाधिवेशनसम्म एकतावद्ध ढंगले जाने र हरेक कुरा दुई जना अध्यक्षकै सहमतिमा गर्ने । पार्टी एकता हँुदा माओवादीलाई हैसियतभन्दा बढी केन्द्रीय सदस्य भोलि पूर्वएमाले एक ठाउँमा भएर मलाई पेलेको खण्डमा पार्टी फोर्न सक्ने हैसियत दिनुपर्ने प्रचण्डको मागबमोजिम दिइएको हो सहमतिका आधारमा सबै कुरा टुंग्याइने भनिसकेपछि बहुमतीय र अल्पमतीय आधार लिइनु हुन्न ।

० जनताले पाँच वर्ष सरकार चलाउने जनमत त नेकपालाई दिएका होइनन् र ?

– नेपालको राजनीतिमा केपी ओलीलाई के भनेर चिन्ने ? मित्रराष्ट्रसँगको सम्बन्धलाई सुमधुर बनाउने, आफ्नो सार्वभौमसत्ता, भौगोलिक अखण्डताका लागि सुदृढ ढंगले लागेको, हिन्द महासागरसँग मात्र सम्बन्ध भएको अवस्थामा प्रशान्त महासागरसँग पनि व्यापार तथा पारवाहन सन्धि अघि बढाएको, संविधान र संघीयता कार्यान्वयन गराएको भनेर होइन । यी तमाम कुरामा केपी ओलीलाई चिनिन्छ । अहिले आफ्नै सहयोद्धाहरू, पूर्वप्रधानमन्त्रीहरूले नै केपी ओलीमाथि जुन आरोप लगाउँदै छन् त्यसले हाइट झन् बढेको छ । कार्यशैलीप्रति पनि आक्षेप लगाउनुभएको छ । प्रधानमन्त्री भन्ने पोष्ट नै त्यस्तो हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीका कतिपय विशिष्ट अधिकार हुन्छन्, त्यो उहाँले प्रयोग गर्न पाउनुपर्छ । केपी ओलीको विशेषताका कारण सानदार बहुमत दिएका छन् र त्यो बहुमत उहाँलाई नै ५ वर्षका लागि सरकार चलाउन दिइएको म्याण्डेट हो ।

० पार्टीको आन्तरिक विषयलाई सडकमा लैजानु कति उपयुक्त थियो ?

– लोकतान्त्रिक पद्धतिमा कम्युनिष्ट पार्टी एकदमै फलामे अनुशासनमा बस्नुपर्ने, भूमिगत जीवनमा झैं गोप्य संगठन हुनुपर्ने हुँदै हुोइन कारण अहिले पार्टीको केन्द्रीय बैठक मिडियाकै अघि हुन्छ । मन्त्रिपरिषद्को बैठक हुँदाहुँदै धेरै कुरा बाहिर आउँछन् । त्यही कारण आजको परिवेशमा धेरै कुरा बाहिर लाँदैनौं, छरपष्ट पार्दैनौं भन्न सम्भव छैन । यद्यपि, निश्चित मूल्य–मान्यताचाहिँ बोक्नुपर्छ । पछिल्लो चरणमा सीमा र हद कायम नभएको हो कि भन्ने महसुस भएको छ । आजको परिवेशमा कम्युनिष्ट पार्टीभित्रका विषयवस्तु जनता र मिडियाको नजरबाट लुकाउन सकिँदैन ।

० प्रधानमन्त्री ओलीले गुण लगाएका यत्ति धेरै मान्छे छन् र पनि जुलुस निकाल्नेदेखि हरेक पाइलामा तपाईं मात्रै भिड्नुपरेको किन होला ?

– साथीहरूले मलाई माया गरेर हरेक कुरामा प्रधानमन्त्रीको निकटतालाई मसँग जोडिदिनुहुन्छ । अहिले डा. सुरेन्द्र केसी, भद्र कुमारी घले, ज्ञानेन्द्र शाहीलगायतका अभियन्ता केपी ओलीलाई सफल बनाउनुपर्छ र बहिर्गमन बेठीक हो भन्न थालेका छन् । जो केपी ओलीको विकल्पमा आएका छन् उनीहरू पनि बेठीक छन् भनिरहेका स्थिति छ । मिडियाले पनि भ्रष्टाचारको मुद्दा जोडतोड साथ उठाउँदै छ । स–सानो मुद्दा पनि ठूलो नैतिकताको विषय बनेर उठ्दै छ । प्रधानमन्त्रीलाई सपोर्ट गर्ने पंक्ति घटेको छ भन्ने लाग्दैन । केही आशंका जन्मिएका छन् तर आस्था मरेको र घटेको छैन ।

० एमाले नामको दल यहाँकै सक्रियतामा दर्ता प्रक्रियामा छ भनिन्छ । सम्बन्धित व्यक्तिले विभिन्न ठाउँमा तपाईंको अनुरोधमा गरेको भन्न थालेका छन् । यसलाई के भन्नुहुन्छ ?

– नेकपा बन्दा पनि पूर्वमाओवादी र पूर्वएमालेबीच असंख्य आशंका थिए । त्यो आशंका विद्यमान छ । त्रिशूली र सेती नारायणीमा मिसिँदा लामो धर्साे निस्कन्छ । माधव र प्रचण्ड मिलेर केपी कमरेडलाई हटाउने भन्दै हुनुहुन्छ तर उहाँहरूभित्रै ठूलो आशंका छ । माओवादी केन्द्रको दर्ता पनि आशंकाकै क्रममा भएको होला । एमालेको दर्ता पनि त्यही आशंकाकै बीचमा भएको होला । नेकपा मजबुत र हामी एक हुँदा ती पार्टी दर्ता भएर हामीलाई केही असर गर्दैन । हामी विभाजित हुँदा दर्ता हुनै परेन । हाम्रो कमजोरीको फाइदा कांग्रेस, मधेशवादी दलले लिन्छन् । एमालेलाई माया गर्ने साथीहरूले त्यसको डोमेन रक्षा गर्नुपर्छ भन्ने उद्देश्यले पार्टी दर्ता गरेका हुन सक्छन् ।

० एमाले दर्ता गर्ने भाइबहिनीसँग तपाईंको सम्बन्ध के हो ?

– तपाइंहरूले पनि खोज्नुभयो । दुई/चार वटा फोटा बाहिर आए । युवा आन्दोलनमा यत्रो वर्ष सँगै काम गरेका । स्वाभाविक ढंगले हामीसँग जोडिने नै भए । योजनाबद्ध भन्दा पनि कतिपय हामीसँग जोडिएका साथी त्यहाँ देखिए ।

० युवासंघका सहयोद्धा पर्शुराम बस्नेतसँगको पारिवारिक लफडा के हो ?

– त्यस्तो लफडा परेको होइन । युवा संघभित्रको राजनीतिमा धेरै साथीलाई समेटेर ल्याइयो । कतिपय व्याकग्राउण्ड जे भए पनि सम्झाउँदै, सुधार्दै ठीक ट्र्याकमा ल्याइयो । अब पार्टीभित्र कहिले एजेण्डा, मुद्दा मिल्दैनन् । युवा संघभित्र भावी नेतृत्व कसलाई भन्ने सन्दर्भमा मैले राखेको प्रस्ताव र दृष्टिकोणभन्दा उहाँहरूको फरक दृष्टिकोण भएका कारण मसँग टाढिनुभयो भन्ने बुझेको छु ।

० अपहरणमा परेका भनिएका मधेसी मान्यहरूसँग अचेल भेटघाट के छ ?

– उहाँँहरू नियमित सम्पर्कमा हुनुहुन्छ । सम्बन्ध मित्रवत् छ । हामी सत्तापक्षका सांसद भएको कारण कहिलेकाहीँ राज्यका निकायसँग सर सहयोगका कुरा पनि हुन्छन् ।

० सिआइबीमा प्रायः देखिनुहुन्छ, केही मिसन छ कि, कसैले दुःख दिएर समात्न लगाउन हो कि ?

– म प्रहरी प्रशासनतिर नकुद्ने मान्छेमा पर्छु । सिआइबीको अफिस कहाँ छ थाहा पनि छैन । सहकुल थापा नाताले मेरो मामा । अहिले सिआइबीको डिआइजी । त्यही कारण जोडिएको होला ।

० बीचमा मन्त्री बन्ने कुरा कता हरायो ?

– प्रधानमन्त्रीज्यूले के छ इच्छा भनेर सोध्नुभएको थियो । मैले भक्तपुरजस्तो कमजोर क्षेत्रमा जितेको छु । दुई÷तीन वर्ष मिहिनेत गर्छु । म मन्त्री भएँ र जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय परेन भने बिजी भएर काम गर्न सकिँदैन । त्यही कारण दुई÷तीन वर्ष मन्त्री खान्नँँ भनेकै हो । प्रधानमन्त्रीले पछिल्लो पुनर्गठनमा मन्त्री बनाउँदै हुनुहुन्छ भन्ने संकेत भएको हो । भागबण्डा मिलाउनुपर्नेलगायत कारण समेटिएन । अहिले पनि कुनै मन्त्रीभन्दा मेरो व्यस्तता र भूमिका कम छैन ।

० अब जबजका नाममा मदन भण्डारी फाउण्डेशनको राष्ट्रव्यापी भेला लाने हो ?

– माओवादी पनि जनयुद्धको कार्यनीतिबाट २१ औं शताब्दीको जनवाद हुँदै जनताको बहुदलीय जनवादकै सिद्धान्तमा आएको हो । अहिले हामीले बहुदलीय जनवाद नभनी जनताको जनवाद भनेका छौं । इगोको प्रोब्लमका कारण प्रचण्डले सैद्धान्तिक रूपमा कम्प्रोमाइज गरे भन्ने आरोप लाग्छ भन्ने कारणले मात्र जनताको बहुदलीय जनवाद नभन्नुभएको हो । नेकपाले अन्त्यमा जबजलाई आत्मसात् गर्छ ।

टिप्पणीहरू