दुवै हठको उपचार के ?

दुवै हठको उपचार के ?

नेकपाभित्र उत्कर्षमा पुगेको अन्तरविरोध समाधानमा अपनाइएको विभिन्न माध्यमको निश्कर्ष प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले कुनै हालतमा दुबै पद नछाड्नेमै पुगेको छ । प्रधानमन्त्रीले दुईमध्ये एउटा पद नछाड्ने र अर्को पक्षले तयो नहुँदासम्म नमान्ने अडान नत्यागेपछि दुबै पक्षले अन्ततः जस्तोसुुकै परिस्थितिका निम्ति तयारी अवस्थामा पुगेको स्विकारेका छन् ।

बालुवाटारमा भएका धेरैवटा बैठक र छलफलको निश्कर्ष पनि परिस्थिति त्योभन्दा तलको कम्प्रोमाइजमा असम्भव देखिँदै गएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको धेरै चरणको कुराकानीमा प्रधानमन्त्रीले ‘तपाईं आफ्नो तयारी गर्नुहोस्, म आफ्नो तयारी गर्छु, अब यसमा धेरै अलमल नगरौं’ भनेको र प्रचण्डले पनि अब एक्लाएक्लै भेटेर, बैठक टारेर, सारेर फाइदा नहुने भनी आफ्नो बटमलाइन राखिसक्नुभएको छ ।

खुमलटार स्रोतका अनुसार बालुवाटार समूह प्रधानमन्त्रीविरुद्ध छिसिक्क केही गर्नेबित्तिकै दल विभाजनको तयारी अवस्थामा बसेको छ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सक्रियतामा शनिबार काभ्रेमा आयोजित मदन भण्डारी फाउण्डेशनको भेलालाई अर्थपूर्ण रूपमा लिइएको छ । विभिन्न नेतासँगको छलफलमा अध्यक्ष तथा प्रधानमन्त्रीले नेकपा विभाजित हुँदा पनि आफूले कुनै हालतमा सूर्य चिह्नसहितको पूर्वएमाले नछाड्ने बताउनुलाई समेत शंकाको दृष्टिले हेरिएको बताइन्छ ।

स्रोतका अनुसार गत सातासम्म नेकपा संसदीय दलमा बहुमतको लागि बालुवाटार निकटको संख्यामा चार जना अपुग देखिएको छ । बालुवाटार छिरेका भनिएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र टोपबहादुर रायमाझीले समेत अझै दस्तखत नधस्काएकाले बालुवाटार सशंकित देखिन्छ । विभिन्न सांसदसँग समूहगत रूपमा गरिएको छुट्टाछुट्टै भेटमा प्रधानमन्त्रीले परिस्थितिअनुकूलको कुरा राख्ने गर्नुभएको बुझिएको छ । संसदीय दलमा बहुमत पु-याउने रणनीतिअन्तर्गत आगामी दिनमा पुनः सांसदमा दोहोरिनसक्ने सम्भावना भएकालाई एक किसिमको र नभएकालाई सोही प्रकृतिको आश्वासन दिइएको समेत अर्को पक्षको आरोप छ ।

विद्यमान कानुनमा चोइटिएको समूहले पार्टीको नाम, झण्डा र चुनाव चिह्न पाउँदैन । तर, सम्भावित अध्यादेशमा ‘संसदीय दलमा बहुमत रहेको समूहले पार्टीको चुनाव चिह्न पाउने’ व्यवस्थासहित संशोधन तयारी थालिएको बताइएको छ । बालुवाटार निकटका अनुसार संसदीय व्यवस्थामा पार्टीभन्दा संसदीय दल ठूलो र जनमतबाट अनुमोदित हुने भएकाले सोहीबमोजिम अध्यादेशमा संशोधन गर्न लागिएको हो ।

सांसदहरूको एउटा समूहसँगको पछिल्लो भेटमा प्रधानमन्त्रीले आफूलाई साथ दिन आग्रह गर्दै विभाजन भएको अवस्थामा आफ्नो पार्टीको नाम पूर्ववत् एमाले र चुनाव चिह्न पनि सूर्य नै हुने बताउनुभएको थियो । आवश्यकपरे आफूले जुनुसकै समयमा यसअघि माओवादीसँग गरिएको एकता भंग भएको घोषणा गर्नेबित्तिकै एमाले एमाले एकातिर र माओवादीजति अर्कोतिर हुने उल्लेख गर्नुभयो । त्यस्तो अवस्थामा ‘माधवजी, झलनाथजीलगायत दुई÷चार जना यसो उमेर ढल्केका मान्छेहरू मात्रै त्यतातर्फ (माओवादी) जालान्’ भनिएको दाबीसहित स्रोत भन्छ, ‘अहिले पार्टीभित्रको गतिविधि सबै घेराबन्दी र ग्राण्ड डिजाइनमा भएको हो । यो सम्झौताविपरित कार्य हो । यस्तो काम कदापि मान्य हुँदैन ।’

यसैबीच नेकपाभित्रको अन्तरविरोध चर्केको बेला उत्तरतर्फका मित्रहरू समेत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुशी नरहेको चर्चा चलाइएको छ । अहिले खुमलटारनजिक भनिएका केही नेतालाई यसो सन्दर्भ पारेर दाहालको पछि नलाग्न गरिएको कानेखुशी एक कान, दुई कान हुँदै मैदान भएको छ । दक्षिणसँग विशेष सम्बन्ध रहेको औपचारिक हल्ला फिँजाएपछि अहिले उत्तर पनि दाहालसँग खुशी नरहेको खबर फैलाउनुलाई खुमलटारले अर्कै रणनीतिको रूपमा बुझेको छ ।

अघिल्लो निर्वाचनताका कांग्रेस र मधेशवादी दलले पाँचवर्षे प्रधानमन्त्रीको लिखित सहमति अघि सार्दा पनि दाहालले एमाले अध्यक्ष केपी ओलीसँग पार्टी एकताको लागि हात अघि बढाउनुभएको थियो । तत्कालीन समयमा ओली र दाहालको आ–आफ्नै स्वार्थले पार्टी एकतालाई मूर्तरूप दिएको हो । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एकपक्षीय व्यवहारले आजित बनेका दाहाल बेलाबखत अन्योलग्रस्त र द्विविधामा देखिने गर्नुहुन्छ ।

दुई वर्षअघि सम्झौता गर्दा प्रधानमन्त्रीसँग रहनेगरी केही विशेषाधिकार छाडेकाले यतिखेर आफैँ अन्योलग्रस्त बन्नुपरेको पूर्वमाओवादी नेताहरूको ठम्याइ छ । सम्झौतामा जहिले पनि दिने र लिने पक्ष हुने भएकाले प्रधानमन्त्रीले त्यो बेलामै आफूलाई दिने र दाहाललाई लिने पक्षको रूपमा अथ्र्याएको हुन सक्ने उनीहरूको अनुमान छ । दाहालको बुझाइ पनि ‘माधव नेपालसँग मिल्नु भनेको यतिखेर अध्यक्ष तथा प्रधानमन्त्रीसँग संघर्ष गर्नु हो ।’

विश्लेषकहरूका अनुसार दाहालको उपयोगवादी नीतिले अहिले आफैँलाई अप्ठ्यारोमा पारेको छ । फाइदा लिने र पाउने अवस्थामा ओलीसँग टाँसिने र लड्नुपरेको अवस्थामा नेपालसँग गाँसिने प्रवृत्ति उहाँको ठूलो कमजोरी हो । मिलेर संघर्ष गरेपछि प्राप्त हुने अवसर र उपलब्धि पनि बाँडचुँड गर्नुपर्ने प्रचलित मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिन नहुने धारणा यतिखेर खुमलटारमै सार्वजनिक हुन थालेको छ ।

अर्कोतर्फ, दशकौंदेखि आफू निकटका कतिपय पूर्वमाओवादी नेताले दाहाललाई पिठ्युँ फर्काउन थालेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताले धर्मर गरे पनि नेपाल निकटका सबैले काँध हालेको देखिन्छ ।

स्रोतका अनुसार हालको अवस्थामा प्रचण्डलाई एकल अध्यक्ष प्रधानमन्त्रीको प्रस्ताव गर्नु भनेको नेपालले दाहाललाई दिएको ‘पोलिटिकल ब्ल्यांक चेक’ नै हो । यसबाट पनि के पुष्टि हुन्छ भने दाहाललाई अहिलेको सर्वाधिक अप्ठ्यारो अवस्थामा समेत पूर्व माओवादी नेताहरूले भन्दा पूर्वएमाले नेताहरूले नै ‘ट्रष्ट’ गरेका छन् । भोलिको व्यवहार र परिणाम जे–जस्तो भए पनि यतिखेर दाहालले अति निकट आफ्ना नेताहरूसँग उक्त ‘ट्रष्ट’ लाई स्विकार्नुभएको बताइएको छ ।

टिप्पणीहरू