सभ्यताको लडाइँ : साँढेको हर्षबढाइँ « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

सभ्यताको लडाइँ : साँढेको हर्षबढाइँ



रुसले यही जुलाई १५ मा अन्तरीक्षमा उपग्रह विरोधी क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो आफ्नानिम्ति खतरनाक भएको अमेरिका र बेलायतले जनाएका छन् । रुसले भने कानूनकै पालना गरेको र अन्तरीक्षको शान्तिविरुद्ध कुनै काम नभएको स्पष्ट गरेको छ ।

पछिल्लो यो घटनाबाहेक रुससँग अमेरिकाको तिक्तता त्यति बढेको छैन जति चीनसँग युद्धकै स्थिति जस्तो देखिन पुगेको छ । तत्कालीन सोभियत संघ र अमेरिकाबीच देखिएको शीतयुद्ध झैँ अहिले चीन र अमेरिकाबीचको सम्बन्ध छ । फरक छ देश, जस्तो कि रुसको ठाउँ चीनले लिएको छ । राजनीतिक, वैचारिक, आर्थिक, सैनिक, कूटनीतिक सबै अस्त्र प्रयोग गरेका छन् एकले अर्काविरुद्ध । अमेरिकाको साथमा भारत, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायतलगायत देश छन् भने चीनसँग धेरै देखिने मुलुक छैनन् मात्र उत्तर कोरिया र पाकिस्तान । इरानसँग भर्खरै २५ वर्षे रेल सम्झौता गरेकाले इरान पनि चीनको नजिक देखिएको छ । व्यापारयुद्ध हुँदै कोरोना भाइरस, दक्षिण चीन समुद्र, हङकङ, सिञ्जियाङ मामिला हुँदै आ–आफ्ना देशमा अर्काे देशको वाणिज्य दूतावास बन्द गर्ने स्थितिमा दुवै देश पुगेका छन् । ४० वर्षदेखि बल्ल मैत्री सम्बन्ध शुरु भएका देश शीतयुद्धको चरम स्थितिमा पुग्नमा सुपरपावर । सोल सुपरपावर बन्ने आकाङ्क्षाले काम गरेको हो भन्न सकिन्छ ।

सोभियत संघको अवसानपछि एक मात्र महाशक्ति अमेरिकाको मुसलमान देशहरू, युरोपेली संघ र अहिले चीन बाटाको काँडासरी भएका छन् । आफैँले जन्माएको मुस्लिम विद्रोहसँग आफैँ लड्नुपयो इराक र लिबिया युद्धमा । अफगानयुद्ध सकिएको छैन भने पाकिस्तान अझै अशान्त छ । सिरिया, यमनका गृहयुद्धमा उसको संलग्नता छँदै छ ।

सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार घाटा, कम्पनीहरूका बौद्धिक सम्पत्ति चोरी तथा प्रविधिको जबर्जस्ती हस्तान्तरणको दोष लगाउँदै चीनमाथि वृद्धि गरेको भन्सार शुल्क बढाएपछि व्यापार अवरोधको ठाउँमा चीनले पनि भन्सार शुल्क वृद्धि गरेपछि व्यापार युद्ध शुरु भई अहिले कूटनीतिक कार्यालय(वाणिज्य दूतावास) बन्द गर्ने तहसम्म दुई देश पुगेका छन् । कोरोना भाइरसलाई चाइनिज भाइरस, उहान भाइरस र कुङ फ्लुको संज्ञा दिँदै यसबारे समयमै जानकारी नदिएको भनी अमेरिकाले दोषारोपण गरिरहेको छ । अहिले चीनले कोरोनाविरुद्धको खोप अनुसन्धान ह्याक गर्दै सूचना चोरी गर्न लागेको आरोप पनि उसले लगाएको छ । चीनले भने गत वर्ष अक्टोबरमा उहानमा भएको सैनिक खेलकूदमा अमेरिकी सैनिकले भाइरस भित्र्याएको आरोप लगाएको छ । साउथ चाइना सीमाउपरको चिनियाँ दाबीविरुद्ध ताइवान, भियतनाम, फिलिपिन्स आदिलाई साथ दिएर अमेरिकाले चीनलाई सबैतिर घेर्दै ल्याएको देखिन्छ । विश्वका एक तिहाइ जहाज चल्ने, तीन ट्रिलियन व्यापार हुने, ठूलो मात्रामा प्राकृतिक ग्यास र तेल भएको भनिएको सो क्षेत्रमा अमेरिकी दावी नरहे पनि हिन्द प्रशान्त क्षेत्रको शान्तिको लागि भनी आफ्ना युद्धपोतहरू त्यहाँ पठाइरहेको छ ।

अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले सन् १९७२ मा अध्यक्ष माओलाई भेटी आठ दिनसम्म चीन भ्रमण गरेर प्रधानमन्त्री चाउ एनलाईसँग संयुक्त विज्ञप्ति नै निकाली सम्बन्ध सामान्यीकरण गर्न थालेका छन् । राष्ट्रपति जिम्मी कार्टरले १९७९ मा चीन भ्रमण गरी उसलाई कूटनीतिक मान्यता दिए र ताइवानसँगको सम्बन्ध तोडिदिए । त्यसपछि फेरि ताइवान, चीनसँग असन्तुष्ट व्यक्तिको मुक्ति र कैद, तियानमेन स्क्वायर घटना हुँदै विश्व व्यापार संगठनमा चीनको प्रवेश, कार्बन उत्सर्जन घटाउने दुवैको प्रतिबद्धता, हुवावे पदाधिकारीको गिरफ्तारी, व्यापार युद्ध आदि हुँदै अहिले कोरोना महामारीको उत्पत्तिपछि सम्बन्ध झण्डै झण्डै युद्धकै स्थितिमा पुगेको भान हुन्छ । हालको कन्सुलेट क्राइसिसले ७० वर्षदेखिको राजनीतिक, आर्थिक सम्बन्धलाई अनिश्चिततातिर धकेलिदिएको छ ।

चुनावताका पाकिस्तानसँग भिडन्तको फाइदा राष्ट्रवादका नाममा मोदीले उठाएझैं चीनसँगको अमेरिकी दुश्मनी अहिले राष्ट्रपति ट्रम्पको पुनःनिर्वाचनको लागि एक हतियार हो भनी विश्लेषकहरू बताउँछन् । अमेरिकामा अहिले चीनको उहानबाट पैmलिएको कोरोना भाइरसबाट ४३ लाखभन्दा बढी सङ्क्रमित भएको र करिब डेढ लाखको मृत्यु भइसकेको तथा यसलाई नियन्त्रण गर्न राष्ट्रपति अक्षम भएको दोष लागिरहेका बेला निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीको आरोपलाई चिर्न शीतयुद्ध चर्काउन लागिएको हो भन्ने मत व्याप्त छ । करिब ४ महिना त राष्ट्रपति ट्रम्प आफैँ लकडाउन र मास्कविरोधी भएकै हुन् ।

एशिया, युरोप र अफ्रिकासम्म छुने बेल्ट एण्ड रोड अभियानमार्फत विश्वलाई नै छत्रछायाँमा पार्न सक्ने भय तथा चीन पहिलो अर्थतन्त्र भएको मुलुक हुन सक्ने त्रासबीच अमेरिकामा छट्पटाहट बढ्दै जानु र चीन आफू चारैतिरबाट घेरिएको महसुस गर्नुको परिणामस्वरूप शीतयुद्धको चरमावस्थापछि तेस्रो विश्वयुद्धको डर बढ्नु स्वाभाविक हो । यो साम्यवाद र प्रजातान्त्रिक विचारबीचको लडाइँजस्तो देखिन्छ । अझ चिनियाँ र माया सभ्यताबीचको लडाइँ पनि हो यो । संरक्षणवादको हिमायती अमेरिका र विश्वको साझा भाग्यको नारा दिने चीनबीचको यो शीतयुद्धको चरम रूप अझै देख्न बाँकी छ । यो राज्यस्तर वा राजनीतिक, कूटनीतिक शीतयुद्ध भए पनि दुवै देशका उद्योगी व्यवसायी भने मैत्रीपूर्ण सम्बन्ध नै चाहन्छन् किनकि दुवैको बजार ठूलो छ । नेपालजस्ता मुलुक पनि बिआरआई र एमसिसी दुवैबाट लाभ लिन चाहन्छन् । त्यसैले यस्ता युद्ध साना मुलुकको हितमा हुँदैनन् । अविकसित, असंलग्न र साना देशहरूले युद्ध रोक्नको लागि सामुहिक आवाज उठाउनुपर्छ । साँढेको मिचाइ बाच्छाको मिचाइ हुने खतराप्रति अहिले नै सतर्क हुनुपर्छ, टुलुटुल हेरेर बस्नु हुँदैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनवादी संस्कृति, नेकपा र सामाजिक रूपान्तरण
बलराम दाइ यसरी हिंड्नुभयो
युद्धका हस्तीहरू कहिलेसम्म पिल्सिने ?
कुन काम सजिलो हुन्छ कमरेड ?