हात जोडेर गुहार माग्दैछु आज « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

हात जोडेर गुहार माग्दैछु आज



बत्तीमुनिको अँध्यारोको नियति भोगेर बाँचिरहेको रसुवामा जन्मिएको म आज आफ्नै अँध्यारो जिन्दगीसँग पाैंठेजोरी खेल्दै छु । आज पनि मूलखर्कको पहिरोसँगै बगिरहेको छ, रसुवालीको भविष्य ।

हिमाली जिल्ला, निम्नवर्गीय परिवार । त्यही कारण बाल्यकाल अभाव, तनाव र दबाबबीच पांैठेजोरी खेल्दैमा गुज्रियो । एसएलसीसम्म अध्ययन । उच्च शिक्षाको धोको अधुरै रह्यो । जीवनमा कति सपनाको हत्या हुन्छ अनायासै । घर व्यवहारको बोझले थिचेपछि उठ्नै सकिएन । उठाउनु थियो गरिबीको दलदलमा भासिएको मेरो परिवारलाई । रहर कम र बाध्यता बढी यही साङ्लामो बेरिएर विवाह गरेँ । र, भासिएँ खाडी मुलुक । त्यहाँ पसिना होइन, रगत बगाएँ । दिनरातको मिहिनेतपछि केही रकम बचाएँ र फर्किएँ जन्मभूमि । आफ्नै पाखुरा बजारेर खान चाहन्थें स्वदेशी माटोमा । तर, मसँग भएको दुई/चार लाख बचतले सपना साकार हुनेवाला थिएन । घरजग्गा बन्धकी राखेर बैंकबाट ऋण लिई एउटा मिनी ट्रक निकालें । आफ्नै माटो, आफ्नै बाटोमा श्रम–पसिना बगाउन पाउँदा म मख्ख । अब सुखको दिन फिर्छ भन्ने आशाका पालुवा पलाउँदै थियो ।

तर, खै कसको आँखा लाग्यो कुन्नि मेरो खुशीमाथि । दुई दिनको पाहुनाजस्तो खुशी खोसियो । ट्रक त्रिशूलीमा खस्यो । त्यतिखेर म २६ वर्षको मात्र थिएँ । म र साथी घाइते भयौं । हामीलाई बेहोसीमै काठमाडौं अस्पताल पु¥याइयो । उपचार हुँदै थियो । केही तगिँ्रदै थियो शरीर । मृत्युको मुखबाट फर्किएर एउटा जीवन पाएका थियाैं, मलगायत अरू २ जना साथीले । ज्यान रहे धन कमाउँला भन्ने झिनो आश पलाउँदै थियो । जीवनप्रति आशा बढ्दै थियो । फेरि अर्काे बज्र बर्सियो । त्यसै भनिएको होइन रहेछ, गरिबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझै दया राखी दुःख दे । उपचारमा संलग्न डाक्टरको मुखबाट सुनँे, ‘मिर्गाैलाले काम गरेको छैन ।’ त्यतिखेर छाँगाबाट खसेझैं भयो । अस्पतालको बेड भासिएझैं लाग्यो पातालतिर ।

भर्खरै दूधे बच्चाको अनुहार झल्झली सम्झें । श्रीमती साथै थिइन् । सानो छोरा समातेर रातभर रुँदै अस्पालको भुइँमा सुत्थिन् । न उनको आँखा ओभानो थियो न त मेरो । साउने भेलझैं रुँदा–रुँदा आँसु रित्तियो तर रित्तिएन दुःख, चोट र व्यथा । झन् थपिँदै जान थाल्यो । भएको बचत पनि सकियो । यसरी ६ वर्ष भयो जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेको । यही बीचमा डक्टरले डायलासिस गर्नुपर्छ भन्न थाले । र, ५ वर्षदेखि हेमो डायलासिस गराउँदै आएको छु । साताको ३ पटक डायलासिस गर्नुपर्छ । रसुवाबाट सातामा तीन पटक डायलासिस गर्न काठमाडौं आइरहन सम्भव भएन । त्यसकै लागि काठमाडौंमै डेरा लिएर बस्नुपर्ने भएपछि आर्थिक संकट चुलिँदै छ । भनिएको छ, सरकारले डायलासिस निःशुल्क गर्छ । तर, औषधि निकै महँगो । घरको मूली, आयआर्जन गर्ने उमेरको मान्छे नै अशक्त भएपछि बुबाआमा र श्रीमतीको मनोदशा कस्तो हुँदो हो ? मगजमा यस्तै कुरा खेल्छन् । घरपरिवार र आफन्तको लागि जिउनुपर्ने युवा अवस्था नै अरूको लागि भारी भएर बाँच्नुपरेको छ । एकमुठी सास अड्याउनकै लागि हारगुहार गर्नुपरेको छ ।

जीवनमा कसैले पनि मैलेजस्तै पीर, अभाव तनाव र रोग लिएर बाँच्नु नपरोस् । रुग्ण शरीर लिएर कुनै शत्रुले पनि बाँच्नु नपरोस् ।

कहिलेकाहीँ लाग्छ, यसरी अरूको लागि भारी भएर पनि के बाँच्नु र ? खाली दिमाग सैतानको डेरा भन्छन् । मगजमा चाहिनेभन्दा नचाहिने कुरा खेल्छन् । कहिले लाग्छ, इहलीला नै सखाप पारिदिऊँ ! तर, झल्झली सम्झन्छन्, सानो छोराको अनुहार । यो उमेरमा मर्न चाहन्नँ । तर, बाँच्नु पनि कसरी ? कुनै टुंगो छैन । कस्तो दोसाँधको जिन्दगी ! केही विकल्प भेटिरहेको छैन । कथंकदाचित् शरीर तल–माथि भयो भने मेरो जहान, बच्चा र घरपरिवारको भविष्य के होला ? चिन्ताले बारम्बार डेरा जमाउँछ । फेरि एक मन लाग्छ, बाबुआमा, श्रीमती र छोराकै लागि भए पनि एकमुठी सास त अड्याउनै पर्छ ।

सायद मेरो मनोबल र जीवनप्रतिको जीजीविषा देखेरै होला परिवारले एउटा मिर्गाैला दिन तयार भएको । तर, आँखा चिम्ले पनि दुख्ने, खोले पनि दुख्ने जीवन छ अहिले । मिर्गाैला प्रत्यारोपण कहाँ सहज छ र हामीजस्ता भुइँमान्छेको लागि ? सुन्थें यही आर्थिक अभावकै कारण कुनै समय नख्खु जेल ब्रेक गर्ने वीरबहादुर लामाहरूले दुःख पाएको । एउटै मिर्गाैला प्रत्यारोपण गर्न मात्र झण्डै १५ लाख खर्च लाग्छ । म भुइँमान्छेले कहाँबाट जोहो गरौं त्यत्रो पैसा ? कसले पत्याउँछ मलाई ? यहाँ श्रम गर्न विदेश जान्छु भन्यो भने ऋण दिनको लागि साहुहरूको तँछाड मछाड लाग्छ । तर, म बाँच्न चाहन्छु । केही रकम ऋण देऊ न भन्दा धनीहरूको भागाभाग हुन्छ । त्यही खर्च अभावका कारण एउटा मिर्गाैला दिने परिवारका सदस्य भेटिँदा पनि प्रत्यारोपण गर्न सकेको छैन । मान्छेले बाँच्नको लागि जे पनि गर्नु पर्दोरहेछ, आज भोग्दै छु ।

जीवनमा कहिल्यै कसैसँग हात नफैलाएको मान्छे हुँ । इमानमै बाँच्ने प्रयास गरेँ तर आज समयले यसरी हुत्याइदिएको छ कि बाध्यतावश नमागी सुखै छैन । त्यसैले आज एकमुठी सास अड्याउनको लागि यहाँहरूसँग हात फैलाएको छु । स्वदेशमा रहनुभएका केही मनकारीहरूको साथ र सहयोग त छ । उहाँहरूकै विशाल मनका कारण औषधि खरिद गर्नदेखि, खान र हिँड्न थेगेको छु । तर, मलाई किड्नी ट्रान्सप्लान्ट गर्न झण्डै १५ लाख लाग्ने भनिएको छ । तपार्इं मनकारी र विशाल मनका दाजुभाइ दिदीबहिनीहरूसँग हात फिँजाउँदै छु । जीवनको भीख माग्दै छु । आशा, विश्वास एवं भरोसा छ मेरो बाँच्ने र जिउने जीवनप्रतिको आशामा यहाँहरूले थोरै भए पनि तेल थपिदिनुहुनेछ ।

– सुवास तामाङ, रसुवा, सम्पर्क नम्बर ९८१३९७२४६१


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मधेशबाट उठेर पहाड घुमेको मान्छे
बालखैमा लाएको माया, दुईदिने जीवनको घामछायाँ
कालिज हुर्काउने ड्युटीमा खटिए कमरेड
कताको शुरुआत, कताको अन्त्य