डलर अर्बपतिलाई ६ करोड टुट्टा

डलर अर्बपतिलाई ६ करोड टुट्टा

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको नयाँ मौद्रिक नीतिका कारण डलर अर्बपति विनोद चौधरीलाई सोझै ६ करोड रूपैयाँ घाटा लाग्ने भएको छ । ‘नाम चौधरी ग्रुपको,खर्च नबिल बैंकको’ योजनाबमोजिम सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा बनाउन लागिएको ‘प्रकोप युनिट’ लाई उपलब्ध गराउने भनिएको रकममा मौद्रिक नीतिले रोक लगाइदिएपछि चौधरीलाई करोडौंको आपत् आइलागेको हो ।

नीतिको बुँदा नं. १७५ मा ‘बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वमा गर्ने खर्चसम्बन्धी नीतिगत व्यवस्थामा पुनरावलोकन गर्ने साथै,आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने’ उल्लेख छ । नबिलको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा गत असार मसान्तसम्म रहेको सबै रकम अब सोझै सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्नुपर्ने छ । आर्थिक वर्ष २०७५/०७६ मा बैंकले गरेको खुद नाफा ४ अर्ब भन्दा बढीको १ प्रतिशतले हुन आउने चार करोड रुपैयाँ भन्दाबढी उक्त कोषमा जम्मा गरेको थियो ।

उता,कर्णाली प्रदेशमा चौधरी ग्रुपको नाममा अस्पताल बनाउन सम्झौता गरिसकिएको छ भने यता राष्ट्र बैंकले नबिलको संस्थागत सामाजिक कोष चलाउन नपाईने नियम बनाएपछि अर्बपति निकै अप्ठेरोमा परेका हुन् । स्रोतका अनुसार ‘डलर अर्बपतिले नाक जोगाउन भएपनि अब आफ्नै खर्चमा प्रदेश सरकारलाई वचन दिएको कम्तिमा पाँच करोड रुपैयाँको जोहो गर्नुपर्ने भएको छ ।’

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकको रकम खर्चेर कर्णाली प्रदेश अस्पतालमा ‘चौधरी प्रकोप युनिट’ बनाउन गत बैशाखमा नै सम्झौता गरिएको थियो । अस्पताल निर्माणको लागि चौधरी ग्रुपको तर्फबाट डा.मधु घिमिरेलाई हर्ताकर्ता तोकिएको छ । सम्झौतामा पाँच करोड रूपैयाँ उपलब्ध गराउने उल्लेख भएपनि घिमिरेको टोलीले गरेको लागत अनुमानबमोजिम अस्पताल बनाउन छ करोड रूपैयाँ लाग्ने बताइएको छ ।

टिप्पणीहरू