ढुसीले ढुकुटीमै दुई लाख डलर स्वाहा !

ढुसीले ढुकुटीमै दुई लाख डलर स्वाहा !

अन्ततः नेपाल राष्ट्र बैंकको ढुकुटीमा रहेकोमध्ये दुई लाख डलरमा स्वाहा हुनेगरी ढुसी लागेको छ । पचास दरको चार हजार थान अमेरिकी डलर एउटै डल्लो भएर ढुसी र छिँडीको ओसले नछुट्टिने गरी टाँसिएको हो ।

यसबाट प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । त्यसैगरी, बैंकको बालुवाटारस्थित छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ । त्यसरी आंशिक क्षति भएका डलरलगायतका विदेशी मुद्रा झण्डै पचास लाख रुपैयाँ बराबर रहेको स्रोतको दाबी छ ।

गत कात्तिकदेखि नियमानुसार सिङ्गापुरस्थित सीआईएम बैंकमा बैंकिङ्ग कार्यालयले विदेशी मुद्रा नपठाई थन्काएपछि ढुसी परेको हो । कार्यकारी निर्देशक नरेश शाक्य र निर्देशक निभा श्रेष्ठको लहडबाजीमा फागुन मसान्तमा रहेको झण्डै ४५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सीआईएम बैंकमा जम्मा नगरेपछि अहिले ढुसी लागेको बताइन्छ ।

यसबीच बैंकको विभिन्न शाखा कार्यालयबाट प्राप्त रकमपछि मौज्दात बढेर झण्डै ६० अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । ढुसीले नष्ट भएको मात्र होइन बेलैमा उक्त रकम सिङ्गापुरमा जम्मा गरेको भए उक्त रकममा आउने १० करोड रुपैयाँभन्दा बढीको ब्याजसमेत शाक्य र श्रेष्ठको कारण बैंकले अनाहकमा गुमाएको छ । जबकि नेपाल राष्ट्र बैंकको सम्पूर्ण आम्दानी कानुनतः नेपाल सरकारकै आम्दानी हो ।

यसअघि पटक पटक जनआस्था अनलाइनले व्यर्थ थुपारिएको अर्बौं रुपैयाँ बराबरको डलरको करोडौं ब्याज आम्दानी गुमेको र वर्षामा ढुसी पर्नसक्नेतर्फ सचेत गराउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । तर, बैंक नेतृत्वले सकारात्मक सुझावलाई पनि एउटा कानले सुनेर अर्को कानले उडाइदिएको परिणाम यतिखेर सरकारको आम्दानीमा थप तीन करोड रुपैयाँ स्वाहा भएको छ । नयाँ कार्यविधि नबनेको र सिल्क एअरको रातीको उडानको कारण सिङ्गापुरको सीआईएम बैंकमा जम्मा गर्न डलर नपठाइएको शाक्य र श्रेष्ठको अडान पनि यतिखेर बनावटी प्रमाणित भएको छ ।

प्रचलित विनिमयदर अनुसार दुई करोड चालिस लाख रुपैयाँ सरकारको कोषमा चुना लागेको छ । छिँडीको ढुकुटीमा रहेका अन्य दरका डलर तथा विदेशी मुद्रा पनि ओसले बिगारेपछि त्यसको समेत पूरा भुक्तानी नआउने भएको छ ।

अनेकौं प्रपञ्चमा डलर रोकिएको विषयलाई ढाकछोप गर्न उनीहरुले कार्यविधीको अभावलाई अघि सारेका थिए । तर हालसम्म कार्यविधि पारित भएको छैन भने सिल्क एअरले रातीको उडान समय समेत परिवर्तन नगरेको अवस्थामा गत कात्तिकदेखि लकडाउन अघिसम्म तीन पटक सिङ्गापुर विदेशी मुद्रा पठाइएको थियो ।

त्यसैगरी, असार तेस्रो साता र साउनको पहिलो सातामा गरी दुई पटक पुरानै कार्यविधिबमोजिम झण्डै ८ करोड रुपैयाँ पठाइएको छ । लकडाउनको समयमा उक्त विदेशी मुद्रा चार्टर उडानको क्रममा काठमाडौं आएको सिल्क एअरमार्फत् शाक्य र श्रेष्ठले नै पठाएका हुन् । यस्तो अवस्थामा कसरी पुरानै कार्यविधिबाट काम भयो सबै चकित बनेका छन् ।

आफ्नो स्वेच्छामा कार्यालयको महत्वपूर्ण जिम्मेवारी पनि लापरवाही ढङ्गले सञ्चालन गरेका कार्यकारी शाक्य र निर्देशक श्रेष्ठले लकडाउनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा गर्न ल्याएका विदेशी मुद्रा समेत नबुझी फर्काएको बैंकहरुले बताएका छन् । सिङ्गापुर नपठाएको कारण ढुकुटीमा अर्बौं रुपैयाँ बराबरको डलर थन्किएको समाचार आइरहेको बेलामा थप डलर थुपार्दा आलोचना आउने भएपछि उनीहरुले बैंकहरुसँग भएको विदेशी मुद्रा वाणिज्य बैंकमा राख्न मौखिक निर्देशन दिएका हुन् ।

बैकिङ्ग कार्यालयमा विदेशी मुद्रा व्यवस्थापनमा भएको लापरबाहीको आवश्यक छानबीन गर्न प्रधानमन्त्री कार्यालयले गत बैशाख २६ गते लिखित निर्देशन दिएपनि गभर्नरले चासो नदिएको कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार ‘जो बोक्सी, उही धामी भनेझैं प्रधानमन्त्री कार्यालयको निर्देशनलाई गभर्नरले झारा टार्ने किसिमले शाक्यसँग जवाफ मागे र त्यहि जवाफलाई छानबिनपछिको तथ्य भन्दै बैंक तथा वित्तीय संस्था नियमन विभाग मार्फत् जेठ १६ गते पठाएका थिए ।

टिप्पणीहरू