छारो हाल्ने काम किन हुन्छ सरकार !

साउन ७ गते मकवानपुरको कैलाश गाउँपालिका–१० मा निर्माण भएको धुबो खोला पुल उद्घाटन गर्ने खबर कैलाश गाउँपालिका अध्यक्षले प्राप्त गरे । ‘मुख्यमन्त्रीसहित म पनि आउने हो, बलियो तयारी गर्नुस्’, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पटकपटक फोन र भेटमा अध्यक्ष टंकबहादुर मुक्तानलाई यस्तै काम अह्राए ।

साउन ७ गते स्थानीय पार्टी कमिटी, जनप्रतिनिधि, सरोकारवाला सबैलाई निम्ता भयो । मुख्यमन्त्री डोरमणि पौडेलबाट उद्घाटन गरिएको व्यहोराको शिलालेख रातारात बनाउन लगाइयो । सांसद ओमबहादुर ग्लान, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सुकुमाया थिङ, जिल्ला समन्वय समितिका सदस्य बुद्धिबहादुर मुक्तानसहित तत्कालीन विप्लव नेतृत्व परित्याग गरी स्वतन्त्र बसिरहेका वीरबहादुर घलान ज्वालासम्म उक्त समारोहमा सहभागी हुन पुगे । तर, उनीहरूले ‘हिस्स बूढी खिस्स दाँत’ भएर फर्कनुप-यो । कारण थियो–बिग्रेको मौसमसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको चारतलामाथिबाट प्रदेशभरका ३२ वटा पुल एकसाथ उद्घाटन गर्ने तयारी । मुख्यमन्त्रीले प्रदेशभरका ३२ वटा पुल एकसाथ उद्घाटन भएको घोषणा भौतिक पूर्वाधार मन्त्रालयबाट गर्नुभयो ।

पुल उद्घाटन गर्न हतारिएका मुख्यमन्त्री वा प्रदेश सरकारको विनियोजित रकममा ती पुल निर्माण भएका होइनन् । ३२ मध्ये एउटा पुलमा मात्र बागमती प्रदेश सरकारको लगानी छ । बाँकी ३१ वटा पुल संघीय सरकारको सशर्त अनुदानमा बनेको हो । अझ रमाइलो कुरा त के भने कतिपय पुल यसअघि नै उद्घाटन भइसकेको पाइएको छ ।

यता, भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडाबाट ३२ किमि पश्चिममा रहेको मनहरी–चैनपुर जोड्ने आँपखोल्सी पुलको उद्घाटनसमेत भएको सुनेर यस क्षेत्रका जनप्रतिनिधि र स्थानीय बासिन्दा मूर्छा परी हाँस्न थालेका छन् । केही समयअघि पूरा भएको आँपखोल्सी पुलमा पुलजत्रै ठूलो ढुंगा आएर टालिएको १५ दिन भइसक्यो । अझै पुलबाट ढुंगा र पहिरो हटाउन सकिएको छैन भने पैदल यात्रा पनि गर्न सक्ने अवस्था छैन । तर, मुख्यमन्त्रीले उद्घाटन गरेको लिस्टमा आँपखोल्सी पुल पनि छ ।

आँपखोल्सी पुल उद्घाटनबारे सम्बन्धित गाउँपालिका पनि बेखबर छ । ‘मुख्यमन्त्री कार्यालयबाट सोधखोज गरिएको भए हैसियत बताइदिन्थ्यौँ’, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने । उद्घाटन गरिएको कुरासमेत मिडियाबाट थाहा पाइएको उनले गुनासो गरे । स्मरणीय त के छ भने गत वर्ष मुख्यमन्त्री डोरमणि पौडेल राक्सिराङ गाउँपालिकाको गाउँसभा तथा मनहरी चैनपुर सडक उद्घाटनमा पुगेका थिए । त्यही पुल र पहरा पार गर्दै मुख्यमन्त्रीले वर्षाको समयमा किन पुलको हैसियतबारे बुझ्न चाहेनन् ? कुरा जटिल छ ।

परेवाभीरमा तिकडम
पुल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको बोली फुत्किइहाल्यो–‘परेवाभीरबाट बाटो बन्दैन । बरु वारिपारिबाट बन्न सक्छ ।’ केही दिनअघि राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले केही टेलिभिजन पत्रकारको फिल्ड भिजिट गराएर राक्सिराङ गाउँपालिका–४ मा पर्ने परेवाभीरमा चार हात पाउ टेकी पैदल यात्रा गर्नुपर्ने बाध्यतासहितको समाचार प्रसारण गरेकोबारे इंगित गर्दै मुख्यमन्त्रीले नेगेटिभ कुरा मात्रै समाचार बनाउन नहुने उदाहरण दिन परेवाभीर कार्ड प्रयोग गरेका थिए ।

तर, त्यही परेवाभीर उनका लागि राजनीतिक रूपमा प्रत्युपादक बन्यो । उनको बोलीले परेवाभीरको पीडाबाट आजित नेपाल कम्युनिष्ट पार्टीकै समर्थक र शुभचिन्तकहरू अवाक बने । त्यससँगै परेवाभीरले राष्ट्रिय बहसको विषयको रूपमा प्रबेश पायो । परेवाभीरको वारी वा पारीबाट बाटो बनाउन सक्ने अवस्थै नरहेको ठाउँमा मुख्यमन्त्रीले बिकल्प खोज्ने निराश अभिव्यक्ति दिएपछि मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडा, बागमती प्रदेश सांसद ओमबहादुर ग्लान, सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित जनप्रतिनिधिहरूले अन्यत्रै स्रोत खोजेर भए पनि परेवाभीरबाट बाटो बनाउने सहमति गरिसकेका छन् ।

यसअघि नै परेवाभीरमा सडक निर्माण गर्ने बहस सांसद ग्लानको अगुवाइमा भइरहेको छ र यो विषयमा दर्जनाँै पटक मुख्यमन्त्री पौडेल र भौतिक पूर्वाधार विकासमन्त्री फुँयाललाई लिखित र मौखिक जानकारी गराइसकेका छन् । तर, नीति कार्यक्रम र बजेटबाट समेत परेवाभीर हटाइएको छ । यद्यपि, धादिङको मलेखु र आदमघाटबाट मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिका हुँदै नुवाकोट, रसुवागढीसम्मका मानिस यही बाटो भएर हेटौँडा आइपुग्न निकै सीधा बाटो पर्नेछ । जहाँ परेवाभीर मात्रै अवरोध बनेर बसेको छ । अन्यत्र ट्र्याक ओपन भइसकेको छ ।

परेवाभीरमै पुगेर डिपिआर बुझेका भौतिक पूर्वाधार विकास राज्यमन्त्री रामेश्वर फुँयाललाई यतिखेर परेवाभीरमा मुख्यमन्त्रीको फरक बोलीका कारण समस्या छ । फुँयालले परेवाभीरमा बाटो बन्छ भनेर दर्जनौँ पटक यस क्षेत्रका जनप्रतिनिधिलाई आश्वस्त पारेका थिए । तर, बजेटमा परेवाभीर उल्लेख गरिएन । उल्टै मुख्यमन्त्रीले बाटो बन्दै नभनेपछि त कोकोहोलो नै मच्चिएको छ । मुख्यमन्त्रीसामु गलत मान्छेले रिपोर्टिङ गरिदिएकाले यस्तो भएको बताइन्छ । पुल उद्घाटनमा पुलको अवस्था र हैसियतको अध्ययन र स्थानीय तहसँगको समन्वय गर्न तथा परेवाभीर सडकखण्डबारे सम्बन्धित सांसद र सरोकारवालासँग समन्वय गर्न मुख्यमन्त्रीको कार्यालय सचिवालयको ध्यान पनि नपुगेको भन्दै टिप्पणी भइरहेको छ ।

– शिवकुमार काशीबाट

टिप्पणीहरू