बालुवाटार किन धाउँदैछन् देउवा ?

बालुवाटार किन धाउँदैछन् देउवा ?

काँग्रेस सभापति शेरबहादुर देउवा किन बालुवाटार धाउँदैछन् ? यो प्रश्नको चर्चा अहिले बोहोराटार र महाराजगन्जमा खुब चल्दैछ । पछिल्लो समय केही दिन अघि काँग्रेस सभापति देउवा एक्लै प्रधानमन्त्री निवास बालुवाटार पुगे । तर त्यो कुरा कसैलाई थाहा भएन ।

भोलिपल्ट मात्र प्रधानमन्त्री केपी ओलीसँग बसेको फोटो सार्वजनिक भयो, अनि यसको चर्चा अझ बढी त बोहोराटारमा चल्यो । वरिष्ठ नेता रामचन्द्र पौडेलले यसको बढी चियो गरेका छन् । उनले त्यो फोटो सार्वजनिक भएसँगै महामन्त्री शशांक कोइरालालाई फोन गरे र आफ्नो पार्टी सभापति किन बालुवाटार धाइरहेका छन् भनेर प्रश्न गरे । त्यो कुरा महामन्त्री कोइरालालाई थाहा थिएन र पौडेलको जवाफमा भने ‘होइन दाई त्यो त अस्तिनै होइन र ?’ घटना हिजोको मात्र रहेछ आज समाचार र फोटा सार्वजनिक भएको छ भनेपछि उनी पनि चकित परे । अनि कोइरालाको पनि यसैमा चासो बढ्यो र पौडलसँग भने– होइन हाम्रा पार्टी सभापतिले बारम्बार बालुवाटार किन धाइरहनुभएको छ ?

आफ्ना सभापतिले प्रधानमन्त्रीलाई सुटुक्क भेट्दा टाउको दुख्नेमा काँग्रेसका प्रकाशमान सिंह र कृष्ण सिटौला पनि हुन् । उनीहरु पनि लुकिछीपी देउवा बालुवाटार पुग्दा अहिले पछिल्लो समयमा आएर सशंकित भएका छन् । प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न जाँदा पार्टीमा छलफल गरेर र अरु कुनै पदाधिकारीका साथमा जानुपर्ने भन्ने रामचन्द्र पौडेलको तर्क थियो । उनले अघिल्लो समय देउवा प्रधानमन्त्रीकोमा जाँदा पनि यस्तै आशंका व्यक्त गरेका थिए । दुइ हप्ता अघि नेकपामा विदाको चरम उत्कर्षमा पुगेका बेला एकाएक देउवाले गई प्रधानमन्त्री भेट्दा पनि असन्तुष्ट भएका पौडेलले नै प्रधानमन्त्रीले प्रचण्डहरुको असहयोग भएमा काँग्रेससँग मिलेर ओलीले सरकार बनाउन खोजेका र त्यस सरकारमा काँग्रेसले अर्थ र गृह मन्त्रालयल मागेको भनेर प्रचार नै गराएका थिए ।

नेकपाको आफ्नो आन्तरिक विवादमा काँग्रेस गएर उल्टै वर्तमान सरकारलाई भरथेग गरेको भनी पौडेलले पार्टीको बैठकमा नै आपत्ति जनाएका थिए । सोही कुराको स्पष्टिकरणका लागि नै सभापति देउवाले आफूलाई प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिमा सल्लाहका लागि बोलाएको भनेर जवाफ दिएका थिए । त्यसो भए सो नियुक्तिका विषयमा सल्लाह गर्न किन एक्लै गएको ? किन ती नियुक्तिहरु पर्टीको सिफारिशबिना एक्लैले नाम दिने प्रयास गरेको भनेर बैठकमा झगडा गरेका थिए ।

यतिबेलाको भेटघाटको कारण पनि देउवाले पार्टीभित्र यही भनेर दिएको बुझिएको छ । तर यस्तो संवैधानिक नियुक्तिका लागि कसको नाम दिइएको र प्रधानमन्त्रीले के कसरी नियुक्ति गर्न खोजेका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । यो रहस्य देउवाले पनि खोलेका छैनन् ।

तर उनी इतरका काँग्रेस नेताहरुले किन बारम्बार प्रधानमन्त्री निवास गइरहेको भनेर आपसमा प्रश्न गर्न पनि छोडेका छैनन् । यसअघि पनि देउवाले आफ्नो पार्टी काँग्रेसका तर्फका सबै देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा पनि देउवाले जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई फिर्ता नबोलाउने व्यक्तिगत रुपमा आग्रह गरेका थिए । जसका कारण प्रधानमन्त्री ओलीले जापनी राजदूत फिर्ता बोलाएनन् । काँग्रेसका नेताहरुले आफ्नो पार्टीको सिफारिशका राजदूतहरु फिर्ता बोलाउने तर राप्रपाको कोटाबाट भएको नियुक्तिलाई फिर्ता नबोलाउन सभापति देउवा प्रधानमन्त्रीसँग मिलेको भनी आलोचना भएको थियो । राणा देउवाकी सासु हुन् ।

यतिखेरको पछिल्लो भेट पनि एकातर्फ आफू विपक्षीसँग मिलेर पनि सरकारमै रहन सक्ने सन्देश प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका नेताहरुलाई दिनका लागि पनि हप्तैपिच्छे प्रमुख विपक्षी दलका नेतालाई बोलाएको भेटेको एकपक्षको अनुमान छ भने अर्काथरिले देउवाले संवैधानिक नियुक्तिमा आफ्ना मान्छे सिफारिश गर्नका लागि पनि प्रधानमन्त्री भेट्न गएको बताएका छन् । तर पनि आफ्नै पार्टीभित्रका कतिपय वरिष्ठ नेताहरुसँग पानी बाराबारको अवस्था रहेका बेला प्रधानमन्त्री ओलीले विपक्षी नेतालाई बोलाएर गर्ने गरेको भेट्को रहस्य भने गहिरो नै हुनुपर्छ ।

टिप्पणीहरू