मन्त्रीले मकै हेर्ने मचान भनेपछि…

मन्त्रीले मकै हेर्ने मचान भनेपछि…

चितवन राष्ट्रिय निकुञ्जको कुसुमखोला किनार चेपाङ बस्तीमा साउन पहिलो साता सेना र प्रहरी लगाएर आगो झोसियो । सामाजिक सञ्जालमा घरगोठमा आगो दन्केको र उठिबास लागेका चेपाङ परिवारले आँसुका बलिन्द्र धारा बगाएका फोटा भाइरल बने ।

आगो मात्र लगाइएन सेनाको कुटपिट र क्रुर यातनाका कारण तरकारी खोज्न जंगल गएका युवा राजकुमार चेपाङले उपचार नपाई प्राण त्यागे । साउनको दर्के झरीमा ओत नपाएर दर्जनौं चेपाङ समुदाय र भूमिहीन सुकुम्बासीको बिल्लीबाठ भयो । भएकोे पैसा, लत्ताकपडा र अन्नपात आगोसँगै जलेर खरानी भए । प्रजा र चेपाङ जाति सयौं वर्षदेखि जंगल र खोला छेउ बस्दै आएका यसै पनि लोपोन्मुख सीमान्तकृत आदिवासी हुन् ।

वर्षौंदेखि बसोबास गर्दै आएको जातिको थातवास उजाडियो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ र ‘गाँस, बास र कपास’ भन्ने नाराको योभन्दा भद्दा मजाक अरू के हुन सक्छ ? भन्दै चारैतिर विरोध भयो । तर, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा पुगेका वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले घर जलेको र मृत्यु भएको सम्बन्धमा आएका सबै कुरा सत्य नभएको दाबी गरे । एउटै घरमा पनि क्षति नभएको उनको जिकिर रह्यो ।

कुसुमखोला घटनामा जवाफका लागि बस्नेतलाई आइतबार समितिमा डाकिएको थियो । बस्नेतले आसपास क्षेत्रका २ सय १ मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको, तिनै व्यक्तिले खेती गर्ने र मकै हेर्न बनाइएका मचानहरू मात्रै जलाइएको बताए । गोठमा गुन्द्री र सामान्य विस्तराबाहेक केही नरहेको जिकिरसमेत गरे ।

बस्नेतले भन्दै गए, ‘स्थानान्तरण भएका व्यक्ति फर्किएर त्यस ठाउँमा बस्ती बसाउने गरी मचान निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना भएको हुन सक्छ ।’ मन्त्रीले समितिमा भनेअनुसार मचानमा दुईवटा मात्र सामग्री थियो । त्यो पनि बाहिर निकालेर गोठ मात्र जलाइएको हो ।

सेनाद्वारा कुटपिट भई मृत्युवरण गरेका युवकको विषयमा भने छानबिन भइरहेको मात्र बताए । बढी कुरा खुलाउन चाहेनन् । मन्त्रीका यस्ता कुरा सुनेपछि समितिका सदस्य क्रुद्ध बने । नेकपाकै सांसदले ठाडो प्रतिवाद गरे । सांसद देव गुरुङले कुसुमखोला घटना मानवताविरुद्ध भएको आक्रोश पोखे । उनले तरिका ठीक नभएको पनि बताए । नेकपाकै सांसद शेरबहादुर तामाङले पनि भावुक हुँदै राज्यले चेपाङलाई दालभात खानसक्ने अवस्था नदिएपछि जंगलमा गिठा, भ्याकुर खोज्न जानुपरेको सुनाए । ‘यही कारण कुटीकुटी मारिनुपर्ने ? घर गोठ जल्नुपर्ने ? यो गम्भीर मानवअधिकार उल्लंघनको घटना हो’, तामाङले भने ।

सांसद मातृका यादवले सेनाबारे बोल्नै नहुने र प्रहरीको संरक्षण गृहमन्त्रीले गर्नै पर्ने प्रवृत्तिले राज्यबाटै यो घटना भएको बताए । सांसद लक्ष्मणलाल कर्णले पनि मन्त्री बस्नेतका भनाइको खण्डन गरे । प्रकृतिले मान्छेलाई दुःख दिइरहेको बेला मान्छेले मान्छेमाथि ज्यादती गर्दा गम्भीर अवस्था आउने कर्णको भनाइ थियो । ‘लोकतन्त्रमा कुटपिट गरेर मान्छे मार्ने काम कति उचित हो ?’, मन्त्रीलाई कर्णले प्रश्न गरे ।

कांग्रेस सांसद बालकृष्ण खाणले राज्यबाट नागरिकमाथि प्रहार भएको घटना औंल्याए । उनले नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने ठाउँमा आफैँले घटना घटाएको भन्दै प्रतिवाद गरे । अर्का सांसद मीन विश्वकर्माले वनमन्त्री र मन्त्रालयका तर्फबाट दुःखका एक शब्द नसुनिएकोमा आश्चर्य जनाए । सबैको आक्रोश सुनेपछि मन्त्री असमञ्जसमा परे । त्यसपछि भने न प्रशासन, न पीडितको पक्षमा बोले । जवाफ नफर्काई अर्को मिटिङमा जानुपर्ने छ भन्दै बाहिरिए ।

राजकुमारको शव आइपुग्यो
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाको यातनाबाट मृत्युवरण गरेका युवक राजकुमार चेपाङको शव काठमाडौं आइपुगेको छ ।

भरतपुर अस्पतालमा पोस्टमार्टम हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा पठाइएको हो । चितवन जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा मृतकको परिवारका लागि चितवन राष्ट्रिय निकुञ्जले घर बनाइदिने, क्षतिपूर्तिबापत डेढ बर्षकी छोरीका लागि मासिक एक हजार रुपैयाँ दिने, मृतककी पत्नीलाई रोजगारीमा लगाइदिने सहमति जुटेपछि पोष्टमार्टमको बाटो खुलेको हो ।

राप्ती नदी छेउको जंगलमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले साउन १ गते नियन्त्रणमा लिएर कुटपिट र यातना दिएपछि मृत्यु भएको दाबी पीडित परिवारको छ । साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा ल्याउँदै राजकुमारको बाटोमै मृत्यु भएको थियो ।

टिप्पणीहरू