दुलही नपाएरै हो त दुखेसो ? « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

दुलही नपाएरै हो त दुखेसो ?



‘आफन्त नभएको, समयमा विवाह नभएको, कसैको घरमा काम गरी बस्नेलाई मालिकले आउने मंसिरमा विवाह गरिदिन्छु भन्दै बर्खाको काम लगाउने र मंसिरको बाली भिœयाउने गर्छ । मंसिर आउँछ । केटी हेरेजस्तो पनि गरिन्छ । र, पछि ग्रहदशा आदि मिलेन भन्दै केही समय अलमल गरिन्छ । अनि वैशाखमा विवाह गर्ने भन्दै फेरि बाँकी महिना काममा जोताइन्छ । वैशाख आएपछि अन्टसन्ट बहाना बनाएर पुनः मंसिरको भाखा सारिन्छ ।’

हो यस्तै सोच, चिन्तन र कार्यशैलीबाट नेकपा बैठकमा महाधिवेशनको समय तोक्ने काम गरिएको छ । बैठक–बैठक र बैठकको गोलचक्करमा नेपाल लामो समयदेखि फसेको थियो र त्यो प्रक्रियाले फेरि अर्काे चक्कर काट्ने देखिन्छ । बैठक साझा, सामुहिक तथा विधिसम्मत धारणा तथा निर्णय गर्नका लागि अत्यावश्यक विषय भए पनि त्यसको मर्म र अर्थ नै ध्वस्त हुनेगरी बैठकै–बैठकको गोलचक्करबाट मुलुक सञ्चालित भइरहेको छ । बैठक गर्ने, कुरा राख्ने र केही निर्णय गर्ने तर कामकाजी निर्णय नगर्ने र निर्णय भएका कुरा लागू नै नगर्ने तरिका र संस्कृति हाम्रो राजनीतिमा हाबी छ ।

मुलुक लकडाउनमै छ । पोलिटब्युरो, विभिन्न निकाय, विभाग आदिको एकीकरण सम्पन्न भएका छैनन् । कुनै पनि कमिटीको बैठक हुँदैन । पार्टी कमिटीमै रहेकाहरूलाई त्यसमा को–को छन् भन्ने जानकारी र सूचनासमेत छैन । ६ लाखभन्दा बढी संगठित र सक्रिय सदस्य भएको पार्टीका सदस्यहरू ‘खिया लागेको हँसिया’ जस्ता भएका छन् । यस्तो अवस्थामा महाधिवेशन मंसिरमा गर्ने सोच उही माथिको उदाहरणमा भनिएजस्तो कामदारलाई विवाहको लोभ र आस देखाएर फेरि केही महिना अलमल्याउने र काम खाने नियतबाहेक केही होइन ।

माओवादीमा चार हजार सदस्यीय केन्द्रीय कमिटी सञ्चालित थियो । आज ‘एकीकृत हुँदै रहेको’ नेकपामा त्यस्तै प्रकारको रोग लाग्न थालेको देखिन्छ । राजनीतिक पार्टी निश्चित सिद्धान्त, विचार, संगठन, कार्यक्रम, उद्देश्य, लक्ष्य आदिको आधारमा चल्छन् भन्ने मानिन्छ । तर, शुरुदेखि नै दुई ‘जना पाइलट’ को आफूखुशी निजी स्वार्थको कामलाई नै पार्टीको ‘एकता’ भनियो र सोही अर्थ लगाइयो ।

अब कोरोना, बाढी पहिरो, लकडाउन, सार्वजनिक सवारीसाधनको अपर्याप्तता, दसैं–तिहार हुँदै आवश्यक तयारीको लागि पर्याप्त समयको अभावजस्ता कुरामा एक पक्षले अर्काे पक्षलाई लगाउने आरोप–प्रत्यारोपमै मंसिर आउनेछ । यस्तोमा अब आगामी वैशाखमा महाधिवेशन गर्ने भन्दै मिति र भाखा सार्ने काम हुनेछ । त्यसका लागि फेरि बैठक र बैठकको गोलचक्कर हुनेछ ।

एक नम्बरको पार्टीमा यस्तो अवस्था आउनु गणतान्त्रिक प्रणाली, दलीय व्यवस्था र पार्टीलाई नै ऊर्जा नदिने हर्कत हो । यस्तो अवस्था भए पनि जिम्मा कसैले लिनु नपर्ने र नलिने अवस्था आउनु डरलाग्दो देखिन्छ । अध्यक्ष केपी ओलीले प्रचण्ड–माधव–झलनाथ समूहले काम गर्न दिएन र विरोध मात्र गरिदियो भन्ने अवस्था अनि यताबाट हेर्दा प्रधानमन्त्रीले एकताको भावनाबमोजिम पार्टी हाँक्न र सरकार पनि उत्कृष्ट तरिकाले सञ्चालन गर्नु भएन भन्दै आरोप–प्रत्यारोप अनि बैठकको गोलचक्करबाट मुलुक अघि बढ्ने संकेत देखिएको छ । बैठक–बैठक र बैठक हुने, बैठकको प्रमुख निर्णय अर्काे बैठकको मिति तय गरी समाप्त हुने संस्कार र संस्कृतिबाट हामीले के शिक्षा लिन र दिन खोजेका हाँै ? मुलुकलाई कस्तो राजनीतिक पार्टी बनाउन खोजेका हौं ? देशलाई कुन दिशातर्फ लैजान खोजेका हौं ? नेपाली राजनीतिमा जनताले विश्वास गर्ने र आशा गर्ने वातावरण साँच्चै हराएकै हो त ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अदालत थुनेर कसलाई आनन्द ?
काउन्सिललाई सरकारको करकर
ठूला मुद्दा किन सेलाउँदै छन् ?
‘पचास प्लस एक’ को प्लान