रामका कथा पछि सुनौंला, अहिले मास्क लगाऊ सरकार ! « Jana Aastha News Online
Logo
१७ मंसिर २०७८, शुक्रबार
|  Fri Dec 3 2021

रामका कथा पछि सुनौंला, अहिले मास्क लगाऊ सरकार !

प्रकाशित मिति :  २ श्रावण २०७७, शुक्रबार १३:००


असार २८ गते साँझ यो लेख लेख्दै गर्दा विश्वभर १ करोड ३० लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको तथ्यांक वल्डोमिटरले प्रकाशित गरेको छ । त्यसैगरी, संसारभर ५ लाख ७० हजार बढीले ज्यान गुमाइसकेका छन् भने ७५ लाख बढी निको पनि भएका छन् ।

कोरोनाबाट बढी प्रभावित देशहरूको सूचीमा पनि केही फेरबदल भएको छ । चीनबाट शुरु भएको कोरोनाले इटाली हुँदै अहिले संयुक्त राज्य अमेरिकामा सबैभन्दा क्रूर रूप देखाइरहेको छ । करिब ३३ करोड जनसंख्या भएको अमेरिकामा ३४ लाख संक्रमित देखिएका छन् । २१ करोड जनसंख्या भएको ब्राजिल १८ लाख संक्रमितसहित दोस्रो स्थानमा छ । अलि पछि संक्रमित देखिए पनि १ अर्ब ३८ करोड जनसंख्या भएको भारत ८ लाख ८० हजार संक्रमितका साथ तेस्रो स्थानमा छ ।

मार्चमा कोरोना संक्रमण शुरु हुँदा ट्रम्पले गर्मी शुरु हुनेबित्तिकै घट्छ भन्थे । स्थिति नियन्त्रण बाहिर जानासाथ चीनविरोधी अभिव्यक्तिहरू सशक्त बनाउँदै जान थाले । घरी बिरामीलाई मलेरियाको दबाइले ठीक पार्ने कुरा गर्थे त घरी आफ्नै किसिमका उट्पट्याङ उपचार विधि सुझाउँथे । ‘अमेरिका बन्द हुनका लागि बनेको देश हैन’ भन्दै झन् उग्र अभिव्यक्ति दिँदै हिँड्थे । परिणाम हामी सबैका सामु छर्लंग छ ।

ब्राजिलका बोल्सोनारो पनि ट्रम्पकै शैलीका नेता हुन् । कोरोना ‘सामान्य रुघाखोकी हो, मर्दको जसरी सामना गर्नुपर्छ’ भन्दै प्रचार गरे । विभिन्न ¥यालीमा सामान्य सावधानीसमेत नअपनाई सहभागी भए । अन्त्यमा उनी आफैँ थलिए ।

तेस्रो स्थानमा रहेको देश हाम्रै छिमेकी हो । त्यहाँको नेतृत्वको आलोचना सुरुवाती दिनदेखि नै भइरहेको थियो । श्रमिक वर्गबारे नसोच्दा र वैकल्पिक व्यवस्थाबिना लकडाउनको घोषणा हुँदा हिँडेरै घर जाने धेरैको ज्यान गयो । साइकलमा बाबुलाई चढाएर १ हजार २ सय किमि यात्रा तय गरेकी ज्योति कुमारीका कथाहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत स्थान पाए । अमेरिकालाई मलेरियाको दबाइ आपूर्ति गरिरहेको भारत आफ्नै ठाउँको कोरोना नियन्त्रणमा दिनानुदिन असफल हुँदै गएको देखियो । साँझ थाल ठटाउनेलगायत भ्रम छर्ने क्रम रोकिएन । कोरोना भगाउने पूजा र गौमूत्र पार्टीलगायत घटनाले कोरोनासम्बन्धी चेतनाको अभाव प्रष्टै देखाउँथ्यो । ४१ दिनको लकडाउनपछि रक्सीका पसल खोलियो । यस्तै अव्यवस्थाको कारण असार २९ सम्म आइपुग्दा २४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भारतकै हुबहु सिको गरेको नेपालमा कोरोनाको गति पनि उस्तै रह्यो । संक्रमण विदेशबाट भित्रिने भएकाले दोस्रो संक्रमित देखिनेबित्तिकै बिनाकुनै पूर्वसूचना लकडाउन गरेको सरकारले सीमामा आएका नागरिकलाई पनि कति दिनसम्म बाहिरै थुन्यो । लकडाउनकै बेला दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्रीले केही तंग्रिने अवसर पाए । लगत्तै सरकार परिवर्तनका कुरा उठे । फेरि सेलाए । फेरि उठ्यो । अहिले फेरि तातो हो कि चिसो भन्नेमा पुगेको छ । यसबीच प्रधानमन्त्रीले बेसारपुराण सुनाए । बोल्सोनारो भन्दा खासै फरक शैलीमा हैन, उनले पनि ‘हाच्छ्युँ साच्छ्युँ गरेर उडाइदिनुपर्छ’ भन्दै कोरोनाजस्तो विश्व आक्रान्त पार्ने महामारीलाई ठट्टाको विषय बनाए । अर्थतन्त्रको अवस्था त्यस्तै छ । सरकारले ढुकुटी रित्तिएको मेसो पाएर बल्ल लकडाउन हल हैन भन्नेसम्म जान्यो । अव्यवस्थित तरिकाले गरिएको लकडाउन खुकुलो पनि अव्यवस्थित तरिकाले नै ग¥यो । कहाँ चैत ११ मा २ जना संक्रमित, कहाँ असार २८ मा १७ हजार बढि संक्रमित र ३८ जना मृत !

बेसार पुराणबाट हालै प्रमले पुराणका पात्र रामलाई नेपाली नागरिकता दिन भ्याएका छन् । भारतले दाबी गरेको अयोध्याबाट जनकपुरमा आएर विवाह हुन नसक्ने तर्क राख्दै ‘वीरगञ्जभन्दा अलिकति पश्चिम पट्टीको गाउँ’ मा रहेको गैंडे तर्क राखेका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि कुनै उपाय सोचिनसकिएको अवस्था छ । हाँसो ठट्टामै शासनसत्ता चलेको छ । काम किन गर्नुप¥यो ? यस्ता कुरामा पनि ताली ठोक्ने र सडकमा नारा लगाउनेहरू छँदै छन् । यसरी नै चलेको छ । चलिरहने छ । स्थायित्वका नाममा देश र जनतामाथिको खेलबाड कायमै राखिनुपर्छ भनी तर्क गर्नेहरू छन् ।

विकसित देशसँग नेपालको तुलना हुन नसक्ला तर छिमेकी भुटानसँग त हुन सक्थ्यो । भुटानमा अहिलेसम्म ८४ जना संक्रमित छन् । एक जनाको पनि कोरोनाको कारण मृत्यु भएको छैन । बरु भारतको असफल उपाय अपनाइयो । सीमामा हजारौँ अलपत्र पारेर एकदुई जहाज नेपाली भित्र्याएकोमा कम्युनिष्ट सरकार दंग भयो । यसैलाई सरकारको जवाफदेहिता भनेर प्रचार पनि गरियो । जतिबेला निस्वार्थ सेवाभावले सरकार लाग्नैपर्ने हो त्यतिबेला आर्थिक अपचलनको कुरा बाहिर आउनुभन्दा उदेकलाग्दो कुरा के हुन सक्छ ?

सुरक्षाकर्मी परिचालन गरेरै भए पनि सामाजिक दूरी कायम गराउने काम भएको छैन । लाखौँले रोजगारी गुमाएको बेला म्यादी प्रहरी लिएर भए पनि सामान्य कोरोनाको नियम पालना गर्न लगाउन सकिन्थ्यो । तर, त्यस्तो गरिएको छैन । धनगढी उपमहानगर प्रमुख नृप ओड एक जुम मिटिङमा सहभागी हुँदा भिडियो मात्रै शुरु गरेर बसे । कोरोना व्यवस्थापनमा सरकारको भूमिकाबारे उठेका सवालको जवाफ उनीबाट अपेक्षा गरेको थिएँ । त्यो आएन । बरु दृश्यमा उनको कार्यालयमा रहेको भीडभाड, बिनामास्कका सेवाग्राही र मेयर स्वयं, त्यही ठाउँमा खानादेखि गुट्खा खाइरहेका, भौतिक दूरी पनि कायम नगरी फरक व्यक्तिको फोन लिएर बोलिरहेका आदि देख्दा सरकारले त कोरोना बुझेको छैन भने जनताले के बुझ्यो होला भन्ने भयो ।

कोरोनाले साना–ठूला कोही हेर्दैन । बोल्सोनारो अपरिचित होला तर हिन्दी चलचित्रका महानायक अमिताभ बच्चनको परिवारलाई प्रायःले चिन्छन् । उनीहरूमा कोरोनाको संक्रमण देखिएको छ । मार्च २२ गते शंखध्वनिले विषाणुको शक्ति कम हुने ट्वीट गरेका अमिताभ कोरोनाको शिकार भएका छन् । लक्षण सामान्य भए पनि संक्रमण कसरी भयो भन्ने मूल प्रश्न हो । संक्रमणको एकै माध्यम भनेको संक्रमितसँगको सम्पर्क हो । यदि उनी संक्रमित हुन सक्छन् भने अरू सामान्य जनताको कुरा के गराइ भयो र ?

कोरोना जाँचेर ठीक हुने होइन । शरीरको प्रतिरक्षा प्रणालीले नै जित्ने हो । खोप र उपचारको विकास नभइसकेको अवस्थामा लाग्न नै नदिनु सबैभन्दा उत्तम हो । लागे पनि संक्रमण फैलन नदिनु अझै उत्तम हो । त्यसैले अब त्यसतर्फ ध्यान दिनु जरुरी छ । मान्छे डराउनुपर्छ । मान्छे सावधान हुनुपर्छ । यो आत्मबल बढ्नाले मानिस झनै लापरवाह भएको देखिएको छ । बेसार र शंखघोषका कुरा अनि मर्द जसरी सामना गर्ने कुरा डरको अभावमै आएका हुन् । लाखाँैको संक्रमणले तर्साउन नसकेको अमेरिकी राष्ट्र«पति ट्रम्पलाई ब्राजिलका राष्ट्र«पति बोल्सोनारोको संक्रमणले सायद तर्साएको छ । त्यसैले उनी मास्कमा देखिएका छन् । अब ओलीले पनि मास्क लाउनुपर्छ । राम र बेसारका कथा पछि सुनाए पनि हुन्छ । अहिले कोरोनातर्फ ध्यान केन्द्रित हुन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !