सिमानाका सास्ती

सिमानाका सास्ती

हामी ‘रोटी र बेटी’ भन्छौँ । तर, कोरोनाको महामारीले अहिले त्यही ‘रोटी र बेटी’ लाई यति भयावह बनाउँदैछ कि, आउँदा दिन कति मुस्किल हुँदैछ अनुमान गर्नै मुश्किल !

सप्तरी र पर्सा प्रशासनले सदरमुकाम राजविराज र वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेका छन् । कारण हो,त्यही ‘रोटी र बेटी’ का नाममा मानिसहरु भारतीय सीमावर्ती क्षेत्रबाट निर्वाध आवतजावत गर्नु ।

यसरी प्रदेश २ को पहिलो नाका सप्तरी र अन्तिम नाका पर्साको यो भयावह स्थिति फैलिएर कहाँसम्म पुग्छ भन्ने अनुमान देशका प्रशासनिक र स्वास्थ्य व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निकायले गर्न पाएका छैनन् ।

यता, राजधानी काठमाडौंसहित देशका अधिकांश भागमा ८० प्रतिशतका दरले लकडाउन खुला पारिएको छ ।

यसरी भारतीय सीमा सहज हुँदा नेपाली भूभागसँग सबभन्दा बढी जोडिने बिहारको स्थितिलाई दृष्टिगत गर्नु जरुरी छ । अहिले भारतका अन्य राज्यको तुलनामा कोरोनाको महामारी बिहारमा बढ्दो छ । नेपालसँग ‘रोटी र बेटी’ को सम्बन्ध राख्ने ७० प्रतिशत भारतीय समुदाय पनि बिहारकै हो । सामाजिक तथा सांस्कृतिक प्रचलनका कारण पनि उनीहरुलाई आवतजावतमा रोक लगायो भने समस्या उत्पन्न हुन्छ । नरोकौँ, कोरोनाको भयावहता ‘दिन गुना, रात चौगुना’ का दरले बढ्दो छ ।

प्रदेश २ का आठ जिल्लामध्ये शुरुमा कोरोनाको इपिसेन्टर बनेको रौतहटमा ९० प्रतिशतका दरले नियन्त्रणमा आइसकेको छ । अहिले पनि त्यहाँको आइसोलेसन वार्डमा पाँच प्रतिशत संक्रमित छन् । तर, उनीहरु खतरामुक्त छन् । तर,सँगैको सर्लाहीमा यो रफ्तार बढ्दो छ । सप्तरी, सर्लाही र पर्साको बढ्दो रफ्तारले प्रदेश २ लाई मात्रै हैन, लकडाउन खुकुलो पारिएका कारण देशभरि फैलिने खतरा झन् बढेको त्यहाँका प्रशासनिक अधिकारीहरुले बताएका छन् ।

सीमा नाकालाई स्थानीय प्रशासनले मात्रै चाहेर बन्द र कडाइ गर्न सक्दैन । त्यसका लागि दुई देशीय संयन्त्र जरुरी पर्छ । तर, त्यस्तो संयन्त्र अहिले सक्रिय भएको छैन । 

टिप्पणीहरू