राम जन्मभूमिसम्बन्धी यही हो रहस्य « Jana Aastha News Online
Logo
१८ मंसिर २०७८, शनिबार
|  Sat Dec 4 2021

राम जन्मभूमिसम्बन्धी यही हो रहस्य

प्रकाशित मिति :  ११ श्रावण २०७७, आईतवार ०९:५६


केपी ओलीले राम जन्मभूमिसम्बन्धी स्थापित मान्यताको विपक्षमा धारणा सार्वजनिक गरेपछि विवाद चर्किएको छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्दा राजा दशरथका छोरा राम एकजना भुरे–टाकुरे राजा वा जमिन्दारका छोरा हुन् । प्राचीन इतिहास र नीतिशास्त्रको रुपमा रहेका पुराणको आधारमा द्रबिड मूलका हनुमान, लक्ष्मण, विभिषण (रावणका सहोदर भाइ) को सौन्दर्यकरण गरिएको देखिन्छ । आर्यहरु सिन्धुघाँटी (सिन्धु उपत्यका सभ्यता) देखि गंगाको मैदानसम्म पुग्दा हजारौं वर्ष सो क्षेत्रमा पहिल्यैदेखि रहेका द्रबिडहरुसँग अथाह भिडन्त भएको छ । एकापसमा शत्रुता र रक्तमिश्रण भएको छ । एकले अर्कोबाट सांस्कृतिक प्रभाव लिने र दिने काम पनि भएकै छ ।

ऋग्वेद आर्य र अनार्यबीच संघर्षको कथा हो । शक्तिशाली रावणलाई (अनार्य) पराजित गरेको कारण आर्यहरुले रामको महिमामण्डन गरेका हुन् । राम र रावण नामका दुई जना सामन्तमध्ये जसले जिते पनि आमजनताका लागि कुनै अर्थ थिएन र छैन । त्यसैले रामसँग जोडिएको विवाद आमजनताका लागि ‘कौवालाई बेल पाक्यो हर्ष नि विष्मात’ भनेजस्तै हो । शासकवर्गको मतदाता झुक्याउने, जनसरोकारको विषयलाई विषयान्तर गर्ने षड्यन्त्र हो । ती नेपालका होउन् वा भारतका, नियत फरक छैन ।

विगतमा अयोध्या–जनकपुर जन्ती आउँदा नरेन्द्र मोदीसँगै केपी ओली पनि जनकपुरको विवाह समारोहमा सहभागी थिए । राम र जानकी हजारौं वर्षपहिले मरिसकेको यथार्थ पनि उनीहरुलाई हेक्का छैन । उनीहरु मरेका मान्छेको जन्ती गएर दुनियाँलाई मूर्ख बनाइरहेका थिए । उनीहरु करण सिंह वा ज्ञानेन्द्रका नातिको विवाहमा सहभागी भएको भए पो यथार्थपरक हुन्थ्यो ।

राम र नेपालको सन्दर्भ के होला ? यो नयाँ प्रश्न होइन । रामको जन्म अयोध्यामै भएको विश्वसनीय प्रमाण अझै प्राप्त भएको छैन । त्यो भूमि भारत, नेपाल, अफगानिस्तान वा इण्डोनेसियाको बाली वरपर जहाँ पनि हुनसक्छ । नेपालको ठोरी सन्दर्भ के हो भने २०३४ सालसम्म ठोरी गाउँपालिका चितवनमा पथ्र्यो । ठोरी चिता खोला र ठुटे खोलाको बीचमा छ । चितवन राष्ट्रिय निकुञ्जबाट आउने चिता खोला र निकुञ्जकै पश्चिमबाट दक्षिणतिर बग्ने ठुटे खोला ठोरी छोटी भन्सारमा मिल्छन् । त्यो खोलालाई भारत पुगेपछि पुण्डई भनिन्छ । चुरेको (सोमेश्वर डाँडा) पूर्वी अन्तिम नाका चिता खोलामा पुगेर टुंगिन्छ । त्यहाँ ३५ नम्बर सीमा स्तम्भ छ ।

सोही स्तम्भको नेपालतर्फको पानीढलोमा सानो ओढार छ । जसलाई सीतागुफा भनिन्छ । केही वर्षअघिसम्म भारतीय साधु बस्ने गरेको सो गुफामा हाल नेपालीले सुरक्षा दिन्छन् । २०७० वैशाख ७ गते (चैत रामनवमी) मा बिहारका मुख्यमन्त्री नितिशकुमार सो गुफामा दर्शनार्थ पुगेका थिए । नितिश कुमारको भ्रमणपछि सो क्षेत्रमा झन् अतिक्रमण बढेको स्थानीयको गुनासो छ । ठुटे खोलाको पूर्वमा कृत्रिमजस्तो लाग्ने अग्लो थुम्को छ । स्थानीयले त्यसलाई परेवाडाँडा भन्छन् भने भारतीयहरुले उजला पहाड । भद्रगोल जेलबाट फरार भएपछि नेता गणेशमान सिंह ठोरीकै सीमामा गिरफ्तार भएको प्रसंग राजनीतिक वृत्तमा चर्चाको विषय छ ।

राम जन्मभूमि नेपालमै थियो भने जनकपुर–अयोध्या–सीता–राम करिडोर भन्दै बस सेवा किन उद्घाटन गरियो त ? प्रश्न जटिल छ । रामनरण, पाण्डवनगर, सीतापुर, सीतामढी, सीतावस्तीजस्ता नामहरु नेपाल र भारतमा यत्रतत्र देख्न सकिन्छ । हिन्दु भारतीय पक्षले राम जन्मभूमिमा १५ औं शताब्दीमा राम मन्दिर भत्काएर मस्जिद बनाएको दाबी गरेका छन् । मस्जिद भत्काएर राम मन्दिर बनाएपछि सन् १९९० मा ठूलो हिन्दु–मुस्लिम दंगा भएको थियो । हिन्दु सत्ता प्रयोग गरेर सो क्षेत्र सत्तारुढ पक्षले कब्जा गरेको छ । त्यसैले तथ्यगत र न्यायिक दुवै दृष्टिले राम जन्मभूमि भनिएको अयोध्या विवाद नैतिक देखिन्न । अल्पमत पक्षलाई सुरक्षा दिनुपर्ने राज्य नै उसको लाशमाथि उभिएको छ । मुगल सम्राटले १५ औं शताब्दीमा राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाएको आरोप छ । सन् १९५२ मा उक्त विवाद उठेको हो । त्यही विवादले हिन्दु मतदातालाई भाजपातिर आकर्षित गराएको हो । त्यसैले रामजानकी विवाद आकर्षक चुनावी अस्त्र पनि हो । पुँजीपति तथा दलाल पुँजीपतिहरुलाई यस्तो चटके नारा मतदाता झुक्याउन आवश्यक परिरहन्छ । अर्थहीन अफिमरुपी राष्ट्रवादको नाराले लठ्याएर मतदाता ठग्न सजिलो हुन्छ ।

ठोरी गापा– २ स्थित सीतागुफामा चैते दशैं (रामनवमी) मा मेला लाग्छ । ठोरीबाट पश्चिम चितवन राष्ट्रिय निकुञ्ज हुँदै झण्डै पाँच कोश यात्रा गरेपछि बगई खोला पर्दछ । रेवा अथवा रिउ खोलाको शिरसमेत रहेको सोही खोलाले माडी र निकुञ्जको सिमाना छुट्याएको छ । हाल माडी नगरपालिकाको पूर्वी सिमाना साविक अयोध्यापुरी–६, मा अयोध्यापुरी गाउँ र दक्षिण चुरे जंगलमा कुण्ड छ । जहाँ रामनवमीको दिन ठूलै मेला लाग्छ । सोही स्थान राम जन्मभूमि हुनसक्ने अनुमान गरिएको छ । अब प्रश्न उठ्छ, भारतीय अयोध्याको नाममा नेपाली अयोध्या भयो कि नेपालको अयोध्याको नाम भारतमा प्रचार भयो ? सामान्यतः प्रकृति विज्ञानमा ठूलोमा सानो विलय हुन्छ ।

अपवादमा त्यसो नहुन पनि सक्छ । जस्तो कि तिब्बतबाट (चेरुङ उपत्यका) आउने दुई ठूला भोटेकोशी र लाङटाङबाट आउने ठूलो नदी स्याफ्रुबेसीमा पुगेपछि मिसिएर धुञ्चे पुगेपछि गोसाइँकुण्डको सानो झरनाजस्तो त्रिशूली मिसिन्छ । त्यसपछि त्रिशूली भनिन्छ । ऐतिहासिक रामको सन्दर्भले भारतको विशाल क्षेत्र नेपालको नाममा विलिन भएको तर्क गर्नेहरु पनि छन् ।
माडी उपत्यकाको दक्षिणमा पूर्व–पश्चिम लमतन्न परेर सोमेश्वर पर्वत रहेको छ । जरायोमारेघाटबाट दक्षिण उकालो लाग्दा बीचमा मानव आकृतिका दुई ढुंगा छन् । थारु भाषामा त्यसलाई उडरा–उडरी भनिन्छ । थारु जातिका जोडी प्रेम विवाह गरेर भारततिर भाग्दै त्यहाँ पुग्दा रात परेपछि बास बसेको स्थानमा जारले भेटी काटेर फालेको र त्यही अमर प्रेमकथाको साक्षी बनेर उडरा–उडरी रहेको छ । यो कथा युरोपको ‘भ्यालेन्टाइन डे’ भन्दा कम रोचक छैन ।

सोमेश्वरको थाप्लामा गढी छ । पुराना इँटा, ढ्याक, शिलालेख, मन्दिर, कुवाका अवशेष छन् । सन् १८१४ तिर मुख्तियार भीमसेन थापाले सो गढी बनाउन लगाएको इतिहासविद् तथा पूर्वजर्नेल प्रेमसिंह बस्न्यातले बताएका छन् । श्री ३ वीरसमशेरको पालामा सोमेश्वरगढीमा छोटी भन्सार स्थापना गरिएको थियो । भीखना ठोरी (सानो ठोरी, भारत) मा रेलसेवा विस्तार भएपछि श्री ३ चन्द्रसमशेरले सोमेश्वर भन्सरलाई ठोरी सारेको कुरा कवि धर्मराज थापाले ‘चितवन दर्पण’ कृतिमा उल्लेख गरेका छन् । वि.सं. १९६३ (सन् १९०६) मा ठोरी सिमानामा भारतीय रेलसेवा पुगेको थियो ।
सोमेश्वर गढीको छेउमा थारुका आदिपुरुष ‘रहसो गुरौ’ को अर्धकदको दाह्रीवाल पत्थरको मूर्ति छ । त्यसकै छेउमा ठूलो पत्थरको ढुंगा छ ।

प्राचीनकालमा माडी तलाउ थियो । त्यही डुंगा चढेर ‘रहसो गुरौ’ कसरा (राप्ती किनार) मा रहेका विक्रम बाबाको दर्शनार्थ आउजाउ गर्थे । राजा भर्तृहरिले सोमेश्वर कालीको मन्दिर स्थापना गरेर ‘रहसो गुरौ’ लाई प्रथम पुजारी बनाएको किंवदन्ती छ । माडीकै शीतलपुरमा १३ औं शताब्दीमा मुसलमान आक्रमणबाट तोडफोड भएको सिमरौनगढको नारायणको मूर्ति एकजना किसानले खेत जोत्ने क्रममा फेला परेको छ । डीआर पोखरेलसहित हामीले पुरातत्व विभागका एकजना विषयविज्ञलाई आमन्त्रण गरेर त्यसको प्रमाणीकरण गरेका थियौं । माडीको पश्चिमडाँडानजिक पाण्डवनगर छ । जहाँ पाँच पाण्डवले वनवासको क्रममा आश्रय लिएको किंवदन्ती छ ।

माडी नगरपालिका–१ साविक गर्दी ९, चितवन राष्ट्रिय निकुञ्जमा बाल्मीकि आश्रम छ । गण्डक नहर तरेर पारि भारतीय सानो बजार छ । जसलाई टंकी बजार भनिन्छ । त्यहाँबाट नारायणी नदी किनार, बाघ संरक्षण केन्द्र हुँदै पूर्व जाँदा सोना नदी छ । त्यहाँ भैंसालोटन आश्रम छ, जहाँ साधुसन्त, गाईपालन, मन्दिर छन् । भैंसालोटनलाई आजभोलि बाल्मीकिनगर भन्न थालिएको छ । त्यहाँदेखि १.५ किमीपूर्व ताम्सा नदी छ । ताम्सा खोला नै नेपाल–भारत सिमाना हो । ताम्सा खोलाको उत्तर काखमा चितवन राष्ट्रिय निकुञ्जभित्र बाल्मीकि आश्रम रहेको छ । जहाँ सीताले लव–कुशलाई ऋषि बाल्मीकिबाट दीक्षित गराएकी थिइन् ।

बाल्मीकि आश्रमको उत्तर, उत्तरपूर्व र पश्चिम उत्तरमा नारायणी नदी रहेको छ । नारायणी र ताम्सा खोलाको संगमस्थल निकुञ्जको घनाजंगलभित्र बाल्मीकि आश्रम छ । संस्कृत भाषामा लेखिएको बाल्मीकिकृत रामायणमा वर्णित सरयु नदी कुन हो भन्ने अझै निश्चित छैन । नारायणी वा रेवा खोला या ताम्सा नदी नै सरयु नदी हो भन्ने मत पनि छ । बाल्मीकि आश्रमको सीतामाताको मन्दिरमा हाल सुकियादेवी माझी (बाघखोर, नवलपुर) की पुजारी छन् । राजा वीरेन्द्रले सो मन्दिर बनाएको उनी बताउँछिन् । जहाँ राजा महेन्द्र पनि पुगेका थिए ।

राम जन्मभूमिको विषयलाई लिएर भारतीयहरु उत्तेजित हुनुपर्ने कुनै कारण छैन । भारतका स्थापित माक्र्सवादी लेखक कमलेश्वरले आफ्नो उपन्यास ‘कितने पाकिस्तान’ मा राम अयोध्यामा जन्मेको होइन भनेका छन् । जसलाई पञ्जाबी भाषी चर्चित लेखक–कवि तथा सांसद अमृता प्रितमले पनि समर्थन गरेकी थिइन् । त्यसैले राम जन्मभूमिको बहस उत्तेजना र देशका प्राथमिक मुद्दाबाट ध्यान विकेन्द्रित गर्ने नियतले होइन कि पुरातत्वविद्, इतिहासकार र साँस्कृतिक मूल्यको आधारमा विधिसम्मत हुनुपर्छ । त्यसो भन्दा भारतको चाहनाविरुद्ध बोल्नै नसक्ने–नचाहने दास मनोवृत्ति पनि सही होइन ।


प्रतिक्रिया दिनुहोस !