किन रोइरहन्छ मधेस ? « Jana Aastha News Online
Logo
२३ मंसिर २०७८, बिहीबार
|  Thu Dec 9 2021

किन रोइरहन्छ मधेस ?

प्रकाशित मिति :  ११ श्रावण २०७७, आईतवार ०९:३९


खुसी भएर रुने गरिदैन । आपद बिपद परेको बेलामा रोइन्छ । त्यसमा पनि रुन्छु भन्दैमा आंखा बाट आंशु सजिलै आएको हुंदैन र रुने काम सजिलो पनि हुंदैन । सजिलो हुने भए सहानुभूति जुटाउनको लागि जो कोहीले रोई दिन्थे होलान् । सबै मानिसले रुन नपरे हुन्थ्यो होला भन्ने चाहना गरेका हुन्छन् । तर, मनमा पीर पर्छ, हृदयमा चोट लाग्छ, भित्री पीडालाई थाम्न सकेका हुंदैनन्, अनि अबिरल नदी बगे जस्तो गरी आशुं झारेका हुन्छन् ।

रोएको दृश्य धेरै जसो ठाउंमा देख्न सकिन्न । तरपनि, अधिकांश मधेसबासी को रुवाई सजिलै देख्न सकिन्छ । मधेस भूमि उर्बर छ । धेरै जसो जमिनमा सिंचाईको सुबिधा छ । भारत बाट ल्याएर भएपनि मल र बिउको सर्बसुलभता छ । समथर जमिन छ । खेतीपाती गर्न सजिलो छ । टेक्टर प्रयोग गर्न सकिन्छ । सघन बस्ती भएकोले जनसंख्याको प्रचुरता छ । श्रमिकको उपलब्धता सहज छ । आवत जावत गर्न सुबिधा छ । बजार खोजी रहनु पर्दैन । छिमेकी भारत र आफ्नै देश छंदैछ । यस्तो सबै किसिम बाट अनुकुलता हुंदा हुंदै पनि मधेसको बिकास किन हुन सकेको छैन र किन सधै मधेस रोइरहेको हुन्छ ?

बिकासको लागि मधेस ज्यादैने उपयुक्त भूभाग हो । ठूला ठूला बिकास निर्माण कार्य गर्न नसकिएपनि कृषि पेशा बाट जीवनयापन गर्न सुबिधा युक्त ठाउं हो । पहाडमा जग्गा जमिनको कमी, सिंचाईको अभाव, मल बिउ लगायत कृषि समाग्री जस्ता साधनको अभाव हुंदा हुंदै पनि घर नभएका मानिस भेटिदैनन् । भोक भोकै मरेका पनि देखिदैनन् । मेलापाता जियोजालो गरेर आफ्नो जीवन धानेकै छन् । भाग्यमा भन्दा कर्ममा बढि बिश्वास गरेका हुन्छन् । भलै उनीहरुको जीवन कष्टकरै किन नहोस् , यद्यपी जीवन निर्बाह गरिरहेकै छन् ।

मधेसका जनता कर्मयोगी हुंदैनन् र भाग्यमानै बिश्वास गर्छन् भन्ने कदापी होईन । निरन्तर जीवन धान्न प्रयाशरत रहंदा रहदै पनि उनीहरुको अबस्थामा किन सुधार आउन सकेन भन्ने मात्र हो । धेरै अघिको बिकासलाई नकोट्याए पनि योजनाबद्ध बिकासको थालनी भएको २०१३ साल पश्चात्को अबधिलाई नियाल्दा देशमा केही मात्रामा भएपनि बिकास निर्माणका कार्यहरु संचालन हुंदै आएका छन् र तिनीहरुले बिकासको प्रतिफल जनतालाई उपलब्ध गरेका छन् पनि । आर्थिक क्रियाकलापमा बृद्धि भएको हुनालेनै भूंई मान्छेलाई जीबिका चलाउन केही हद सम्म भएपनि सहज हुन गएको छ ।

यहां जोड्न खोजिएको कुरो के हो भने किन मधेसी जनता पिडा बाट माथि उठ्न सकेनन् भन्ने मात्र हो । यो पंक्तिकारलाई अध्ययन अनुसन्धानको सिलसिलामा मधेस तथा तराईकाकेही जिल्लाको भ्रमण गर्ने अबसर मिलेको थियो । त्यहांपनि हुनेखाने र नहुनेको संख्या बिच ठूलो अन्तर देखिन्थ्यो । नहुने बर्गको अबस्था यतिदयनीय थियो की जो कोहीको कल्पना भन्दा बाहिरको थियो । सडक छेउ र दोबाटो चौबाटोमा बस्ने बृद्धाहरुले आफ्नो जीवन निर्बाह गर्न २०/३० रुपिया पर्ने सुर्तिका पात बेच्न बसि रहेका हुन्थे । त्यहि पनि बिक्रि भएको देखिदैनथ्यो । त्यति सानो रकमको सामान बिक्रि गरेर उनीहरुले कति कमाउथे होलान् ? नाफाकोत कुरै छोडौं ।

अर्को मैले देखेको दृश्य पनि त्यस्तै टिठ लाग्दो छ । सडकतीर घुम्दै जांदा एक जना बृद्ध मान्छे सडकको छेउमा सानो कसौंडि अगाडि राखेर बसेका थिए । के रहेछ त कसौंडिमा भनेर यसो नियाल्दा केही लालमोहन जस्ता मिठाईका डल्ला रहेछन् । यति सानो मात्राको ८/१० गोटा मिठाईको डल्ला बेचेर उनले कसरी जीवन निर्बाह गर्लान् भनी आश्चर्य लाग्यो ।

यस्तै अर्को दृश्य पनि ज्यादैनै मन छुने किसिमको थियो । सानो एउटा फुसको छाप्रो । त्यसमा अटाई नअटाई बस्नु पर्ने बाध्यता । त्यो छाप्रोको वरीपरी गोवरका गुईंठाले पोतिएको । खाना पकाउने मटितेल अथवा ग्यांस नभएकोले फारुतिनु गरेर त्यहि गुईंठा प्रयोग गर्नु पर्ने बाध्यता । यसरी कष्टकर जीवन निर्बाह गर्नु पर्ने नियती नै मधेसबासीको रहेछ । यस अबस्थामा सुधार नभएको हुनालेनै उनीहरुको मन संधैनै रोई रहेको हुंदो रहेछ ।

मधेसीको पिडा यतिमात्र कहां हो र ? प्रकृति पनि उनीहरुको पक्षमा कहिले हुंदो रहेनछ । कहिले बाढि आएर त्यहि झुपडि पनि बगाएर लगि दिन्छ । कहिले आगजनी भएर खरानी बनाई दिन्छ । कहिले हावा हुरी आएर उडाई दिन्छ । कहिले तातो हावा लु आएर मृत्यु नै भै दिन्छ । कहिले महामारीले आक्रान्त पारी दिएको हुन्छ । यसरी मधेसी जनताको जीवन दःुखमय र कष्टपूर्ण बन्दै गएको छ । प्रश्न त्यहां तेर्सिन्छ , यी भुई मान्छेको लागि कस्ले बिकास ल्याएर जीवन सुधार गरिदिने ?

मधेसी जनतालाई केन्द्र सरकार तथा नश्लबादी सोच भएकाहरुले हेप्ने गरेका छन् भनी मधेसीले भन्दै आए पनि बढि हेप्ने काम भने हुने खाने मधेसीहरुले नै गरेका छन् । हुने खाने बर्गले नहुने बर्गको हितमा कहिले काम गरेनन् । संधै जिमिदारी र मालिकको सोच मात्रै राख्दै आए । यस प्रकारको सोचमा परिबर्तन आएको भए अहिलेको यस्तो दयनीय अबस्था तल्ला तहका मधेसी भुईं मान्छेको सायद हुने थिएन होला । तल्ला तहका मानिसलाई सधैनै कज्याई राख्नु पर्छ भन्ने भावनाको बिकास हुंदै गएको देखिन्छ ।

बिकास निर्माणको कार्य संचालन गर्दा पनि माथिल्ला तहका हुने खाने बर्गको हितलाई ध्यान दिने गरियो । त्यसले गर्दा यी नहुने बर्गले बिकास भनेको के हो भन्ने कुराको अनुभव नै गर्न पाएनन् । बरु जन्मिनासाथ उनीहरुले बुझेको र अनुभव गरेको बस्तु भन्नु नै गरिबी रहेछ । उनीहरुले बुझेको बिकास भनेको त गास, बास र कपास मात्र हो । यो भन्दा धेरै पर उनीहरुको केही हुंदै होईन । एनकेन छाक टार्नु, सानो ओत लाउन पुग्ने घर र शरीर ढाक्न पुग्ने कपडा मात्र भयो भने उनीहरुको लागि ठूलो उपलब्धि हुने थियो । यी निमुखा जनताको लागि यति सम्म गर्न नसक्नु ले राज्यको भूमिका कहां छ भनी खोज्नु पर्ने भएको छ ।

मधेसको बिकासको लागि कार्यक्रम नभएका पनि होईनन् । बिभिन्न आर्थिक बर्षका बजेटहरुमा बजेट बिनियोजित भई खर्च पनि भएकै देखिन्छ । कागजमा प्रगति पनि देखिएकै छ । तर, जनताले भने बिकासको फल चाख्न सम्म पाएका छैनन् । यी नहुने बर्गको लागि लक्षित गरेर कार्यक्रम लगिनु पर्नेमा शक्ति र पहुंचको आधारमा कार्यक्रम संचालन हुंदा बिपन्न र गरिब बर्ग जहिले पनि बिकासको फल बाट बन्चित हुन पुगेका छन् ।

बिकास निरन्तर चलि रहने प्रकृया हो भन्ने कुरा सिद्धान्ततः ठिकै भए पनि हामीकहां भने क्रमभंगता हुने गरेको देखिन्छ । कहिले माओबादीको लामो जनयुद्धले बिकासलाई अबरुद्ध पुर्यायो भने कहिले बिभिन्न तहका निर्बाचनहरुले । कहिले महाभूकम्पले बिकासलाई खल्बल्याये भने कहिले कोभिड १९ को माहामारीले । माओबादी जनयुद्धको कारणले केही भए गरेका बिकासका पूर्बाधारहरु ध्वस्त हुन गए । त्यसैगरी ०७२ सालमा आएको महाभूकम्पले ठूलो धनजनको क्षति पुर्यायो । उनीहरुलाई पहिलेकै यथास्थानमा ल्याउन पनि हामीले ठूलो परिश्रम र लगानी गर्नु पर्ने भएकोछ ।

अहिलेको प्रश्न भनेको रोई रहेका मधेसबादीको आंशु कसरी पुछ्ने भन्ने नै हो । बिभिन्न कारणले गर्दा मधेस पछाडिनै परेको छ । हामी सबै यस्मा दोसीनै छौं । सानोतिनो काम गर्नेहरु र कालो अनुहार देख्नै बित्तिकै हामी मधिसे भनी हेपेकै हुन्छौं । ए खाली सिसि ! ए पुराना कागज ! ए धोती ! ए काले ! ए ईण्डिन ! ए भैया ! भनेर यी तराई मधेसी नेपाली जनतालाई सानो बच्चा देखि ठूला मान्छेहरुले समेत हेप्ने प्रबृत्ति बढ्दै गएको छ ।

अपमानित शब्द खर्चिनु भन्दा साधारण किसिम बाट पनि बोलाउन सकिन्थ्यो होला । नानी देखि लागि आएको बानीलाई किन छोड्थे र । यसरी मधेसी जनतालाई हेप्दै जाने प्रबृत्तिको कारणले देशको लागि भबिष्यमा ठूलो हानी हुनेछ । अत: यस प्रकारको प्रबृत्तिमा सुधार ल्याउनु पर्दछ । अर्को कुरा यी पिंधमा रहेका र कष्टकर जीवन यापन गरिरहेका जनतालाई लक्षित गरी कार्यक्रम संचालन गर्नु पर्दछ र मधेसबादी नेताहरुको सोच पनि त्यसै तर्फ केन्द्रित हुनु पर्दछ ।

अहिले सम्मको हाम्रो बिकासको मोडेल तलबाट माथि जाने भनिएपनि तल्लो तहलाई केन्द्रबिन्दु बनाई बिकास गर्ने नीति तथा कार्यक्रम संचालनमा आएका छैनन् । तलको बिकास नगरी कसरी माथि उक्लन सकिन्छ र ? त्यसैले पूर्ब ईतिहासलाई कोट्याउनु भन्दा तल बाट माथि उक्लदै जाने बिकासको मोडललाई कार्यान्वयनमा ल्याईनु पर्दछ । जसले जे भने पनि हाम्रो बिकासको मोडल अहिले सम्म पनि ट्रिकल डाउन अबधारणामै अल्झिएको देखिन्छ । यसमा सुधार गर्न सकियो भने मात्र पिंधमा रहेका मधेसी जनताको साथै कष्टकर जीवन बिताई रहेका सर्बसाधारणको जीवनस्तरमा सुधार आउने अपेक्षा गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !