पुगेर यौनमा सकिने हो कि प्रेम ? « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

पुगेर यौनमा सकिने हो कि प्रेम ?

प्रकाशित मिति :  ११ श्रावण २०७७, आईतवार ०९:३०


एउटै हो घर दुवैको, एकै छ सुत्ने बिस्तरा पनि
सँगै छौं, एकसाथ हुनुको मज्जा छैन तर पनि
सामीप्यताको मिठास तब, जब आत्माको हुन्छ मिलन
नभई स्पर्श हृदयको, हातले छुनु छाएको होइन

दुनियाँसामु हामी दम्पती, हाम्रै हुन् यी सन्तति
यद्यपि अलग बहिरहेछ, हामी दुईको जीवन गति
ओइलाउँदै छु म तिम्रो मनमा, फुल्दैछ अरु नै
यस्तै रै’छ विचित्र संसार, म बबुरो के गरुँ खै ?

प्रेम, यौन र बिहे– आहा कति मीठो छ नि
एकसाथ उच्चारण गर्दा यी शब्द मात्रै पनि
यसरी नै तीनै सम्बन्ध एकै सूत्रमा बाँधिएका भए
कति जाती हुने थियो, तनमन अन्त नजाने भए

सानो छँदा यस्तो लाग्थ्यो– प्रेम यौन बिहे उस्तैउस्तै
कल्पना त्यो बेलाको मिथ्या रहेछ, यथार्थमा भिन्नाभिन्नै
अदृश्य मनको चाहना धेरै, खुल्ला यसको संसार
मनैदेखि इच्छा जागेपछि के ले पो छेक्न सक्छ र ?

किन स्वच्छ, पवित्र हुन सकिरहेका छैनन् हाम्रा प्रेम तथा वैवाहिक सम्बन्धहरु ? परिपक्व मान्छेको सम्बन्ध झन् किन कच्चा ? बरु बच्चाकै प्रेम प्रगाढ । मान्छेको स्वभाव नै यस्तै हो कि आफ्नै लोभीपापी प्रवृत्तिले इमानदारितामा चुकिरहेका छौं हामी ? हुन त प्रेम र यौनको साइनो जीवनभर एउटै साथीसित मात्र कायम राख्ने मानिस यस संसारमा बिल्कुलै नहोलान् त भन्न सकिन्न । अवश्य हुनुपर्छ त्यस्ता उदाहरणीय जोडी पनि । तर समग्रमा भने त्यो सच्चाइ देखिँदैन ।

प्रेम र यौनमा मानिस बफादार हुन नसकेकै कारण धेरै वैवाहिक नाता नाममात्रको जस्ता देखिन्छन् । यसै कारण पनि कैयौं सम्बन्ध विच्छेद भएको छ । हत्या, आत्महत्या निम्तिएको छ । आखिर फुकन्ता नै हुन खोज्ने हो भने विवाहचाहिँ किन गर्ने ? उन्मुक्त भएरै जिउन चाहन्छौं भने बिहेको बन्धनमा बाँधिनै हुन्न । परस्त्री–परपुरुष देखेर कन्दर्प किन हुन्छ हामीलाई ? लोग्ने पनि त्यस्तै, जनाना पनि त्यस्तै भएपछि कसरी हुन सक्छ सम्बन्धमा मिठास ? पति–पत्नी भन्दा पनि प्रेममा हामी पतित भयौं । तनमनले अरु नै खोज्न थालेपछि दाम्पत्यमा अज्यौली सुरु भइहाल्छ ।

बिहे गरेको केही वर्षपछि आफ्नो पति वा पत्नीलाई पुरानो देख्ने नजरिया हामीले फेर्नैपर्छ । चिरनूतनको आँखाले हेर्न सकौं एकअर्कालाई । अन्त छर्नु भन्दा एउटैलाई पउल प्रेम गरौं न ¤ उच्छेली नहोऔं । कामान्ध नबनौं ।

धेरै जनासँग संसर्ग गर्ने बानीले जीवनमा ठूलै नौबत निम्त्याउँछ । त्यसैले केटाकेटी कसैले पनि बिहे अघि कौमार्य नगुमाएकै राम्रो । सहवास गर्नैपरे आफ्नो प्रेमी वा प्रेमिकासित मात्र गरौं, जोसित विवाह हुने निश्चित पनि होस् । बिहेअघि प्रेमीप्रेमीका वा अरुसित अनि बिहेपछि श्रीमान्श्रीमतीसँग सम्भोग गरिँदा के हुनसक्छ भने त्यसरी फरक–फरक स्वाद परेपछि थप नयाँ–नयाँ स्वादको चाहना बढ्न सक्छ । तर हामी त प्रेम एउटासित, बिहे अर्काेसित अनि सेक्स जोसित पनि गर्ने भूलमा परिरहेका छौं ।

बाबुआमाले खोजिदिएर बिहे गरेकाहरुबीच त ल केही गरी प्रेम र यौनको साइनो गाढा हुन सकेन तर प्रेम बिहे गरेकाहरुमा पनि पछि प्रेमको खडेरी परेको प्रशस्तै पाइन्छ । पहिले नै एकअर्काको यौनस्वाद चाखेर पछि बिहे गरेका जोडी पनि पारस्परिक सम्भोगमा विकर्षण भएर सन्तुष्टिका लागि अरुतिरै आकर्षित हुनु साह्रै दुःखद् पक्ष हो । वास्तवमा यौनमा पुगेपछि स्खलित हुँदै जाने हो कि प्रेम ? लाज र सम्मान नै मेटिएपछि नरहने हो कि प्रेमको तिर्सना ? साँच्चै यौनको अगाडि प्रेमको महत्ता कम हुने रहेछ । नभए क्षणिक यौन तृप्तिका लागि वर्षाैं एवम् दशकौंदेखिको प्रेम तथा वैवाहिक सम्बन्धलाई किन निमोठ्छन् मानिसहरु ?

सबैभन्दा ठूलो कुरा मान्छेको मन हो, मनलाई नियन्त्रणमा राख्न सकियो र एकअर्कामा समर्पण बलियो बनायो भने एउटै विवाह आजन्मको लागि सुखद भएर प्रेम र यौनमा दम्पतीबीच इमानदारिता दरिलो हुन किन नसक्ला ? ढुकुरको जस्तो जोडी होस् भन्छौं नि हामी । ढुकुरको प्रेम र यौन एउटैमा समर्पित हुन्छ कि हुँदैन, त्यो त उसैलाई थाहा होला तर कुकुरचाहिँ जोमाथि पनि चढेको देखिन्छ । अन्य जीव जस्तो भएपनि हामी त विवेकशील होइनौं र ? अरु प्राणी विवाह बन्धनमा बाँधिएको पनि थाहा छैन तर हामी त बाँधिइरा’छौं नि ! त्यसैले यौन र प्रेमको डोरी उसैसित मात्र बाँधौं, जोसित बिहेको नाता गाँसिन्छ ।

मनलाई स्वच्छ राख्न सके सम्बन्धलाई स्वस्थ राख्न कसो नसकिएला ? हाम्रो मनै कलुषित भएर सम्बन्ध पनि दूषित भएको हुन सक्छ । हाम्रो आँखामा लोभ र मनमा पापको रंग घोलिदिएर प्रकृतिले हाम्रो परीक्षा पो लिइरहेको हो कि ? त्यसमा आफू सङ्लिएर प्रस्तुत हुन सक्यौं भने एउटै साथीबाट प्रेम, यौन र बिहेको चरम सुख मिल्छ भन्ने विश्वास गरौं । त्यसैले सम्हालौं आफूलाई । एउटा प्रेम वा जीवनसाथी हुँदाहुँदै चारैतिर तनमन कहिल्यै नडुलाऔं । नत्र वैंश छँदा सय ओटा पोइ, मर्ने बेला कोही न कोहीको नियति भोग्नुपर्ला नि !


प्रतिक्रिया दिनुहोस !