रामराम राजनीति र सातुको साथ « Jana Aastha News Online
Logo
२१ मंसिर २०७८, मंगलवार
|  Tue Dec 7 2021

रामराम राजनीति र सातुको साथ

प्रकाशित मिति :  ९ श्रावण २०७७, शुक्रबार १३:१९


श्याम रिमाल

साउनको महिना, महादेव वा शिव, शङ्कर, भोलेनाथ, आशुतोषको प्रिय महिना । चारैतिर हरियाली छाउने, वर्षाको समय । महिलाहरुमा हरियो प्रेम यसै महिना जाग्छ, महादेवकै कारणले । किरात महादेव र हिमालयपुत्री आर्य पार्वतीको विवाह भएकाले नेपालीले दुवैलाई नमान्ने कुरै भएन । समस्त हिन्दू, शैव, वैष्णव हुन् वा शाक्तले पनि शिवलाई मानेकै छन् । कोही मुक्तिका लागि त कोही केही भौतिक वस्तु वा सफलताका लागि ।

यसै महिना हिन्दू धर्ममा समस्त् प्राणीको पालनकर्ता मानिएका विष्णुको सातौँ अवतार रामको पनि खुब चर्चा भयो । राम पुरुषोत्तम त मानिन्छन् तर शाक्यमुनि सिद्धार्थ जस्ता ऐतिहासिकचाहिँ होइनन् । कम्युनिष्ट प्रधानमन्त्रीले रामको अस्तित्व मानेर उनको जन्म नेपाल (ठोरी, वीरगञ्ज) नजीकमै पर्न सक्छ भनेर भानुभक्त जन्मजयन्तीका दिन असार २९ गते बताइदिएपछि त्यसको अन्तरराष्ट्रियकरण हुने नै भयो । रामायणका रचनाकारको चर्चा त्यति भएन, जति आदिमहाकाव्यका प्रमुख पात्र रामको चर्चाले व्यापकता पायो, त्यो पनि नौलो विषयमा । त्यसको केही दिनपछि एक भारतीय मित्रले मसँग जिज्ञाशासँग राखे, यो त कम्युनिष्ट सिद्धान्तसँग मेल खाएन नि ? कम्युनिष्टहरु धर्ममा विश्वास राख्दैनन्, राम गौतम बुद्ध जस्ता ऐतिहासिक पुरुष पनि होइनन्, लिजेण्डरी अर्थात् मिथ मात्र हुन् । धर्मसँग सम्बन्धित पात्रको अस्तित्वको कुरा कम्युनिष्ट नेता र प्रधानमन्त्रीले उठाउने विषय नै हुन सक्दैन । सिद्धान्त एकातिर, विचार अर्कातिर पो भयो ।

त्यसलगत्तै आएको महिना साउनमा ओली, राम, लक्ष्मण, सीता, वाल्मीकि आदिको चर्चा सामाजिक सञ्जाल र मिडियामा हरेक दिनजसो जारी छ र यो अनन्तकालसम्म चलिरहने पनि निश्चित छ । पुरातत्व विभागका अधिकारी, सञ्चारकर्मी तथा अन्य जिज्ञासु अहिले ठोरी, वाल्मीकि आश्रम र अयोध्यापुरी जाने क्रम बढ्दो छ । रामनवमी अर्थात् चैतशुक्ल नवमीतिर चल्नुपर्ने रामको बहस शिवप्रिय साउन महिनामा भयो । आखिर शिव र राम अर्थात् विष्णुमा अतिप्रेम थियो भनिन्छ । रामले रावणसँग युद्ध गर्नुपूर्व समुद्रमा रामेश्वर लिङ्ग स्थापना गरी रावणलाई जित्न शिवसँग वरदान नै मागेका थिए भनिन्छ । हामीकहाँ साउनको संयोग कस्तो छ भने नेपाली राजनीतिमा महत्व राख्ने बिपी कोइराला र पुष्पलाल पनि यही महिना अस्ताए ।

नाट्यसम्राट् बालकृष्ण सम पनि यसै महिना बितेका हुन् । हरेक वर्ष साउन पहिलो हप्ता यी दुई राजनीतिज्ञको खुब चर्चा चल्छ । पुष्पलालवादीले पुष्पलालको चर्चा गर्ने नै भए, अझ धेरै साम्यवादीले पनि बिपीको सकारात्मक नकारात्मक चर्चा गर्छन् र श्रद्धा व्यक्त गर्छन् । बिपीवादीले चाहिँ पुष्पलालको चर्चा किन कम गर्छन् भने पुष्पलालले उठाएको संयुक्त जनान्दोलनको प्रस्तावलाई बिपीले कहिल्यै समर्थन गरेनन् । भनिन्छ, दुवै असफल राजनीतिज्ञ हुन् तर दुवैको राजनीतिक दार्शनिक योगदान भने बिर्सिनसक्नुको छ । बिपी त मदन भण्डारीलाई मन पर्ने, कमल थापालाई पनि । थापाको पार्टी तत्कालीन राप्रपाले पृथ्वीनारायण शाहदेखि बिपीलाई पनि आदर्श मानेको थियो । साहित्यकारले मान्ने नै भए । उनको साहित्य नपढ्ने साहित्यप्रेमी हुनै सक्दैन पनि ।

साम्यवादमा प्रजातन्त्र थपियो भने समाजवाद, समाजवादबाट प्रजातन्त्र झिकियो भने साम्यवाद भन्ने बिपी नेपाली धर्तीमा प्रजातान्त्रिक समाजवादका प्रणेता मानिन्छन् । आफ्नो करीब १८ महिने प्रधानमन्त्रित्वकालमा उनी राजासँग टकराउँदै आफ्नो दलको घोषणापत्र लागू गराउन खोज्दैथे, अपहरणमा परिहाले । सादगी, अध्ययनशीलता, विश्वदृष्टिकोण, मध्यममार्गी धारणा, प्रजातन्त्रप्रतिको निष्ठा र स्वतन्त्रताको चाहनाले उनी प्रिय बने । आठ वर्षसम्म कारागार र केही वर्ष निर्वासित भए पनि राजतन्त्रप्रति कहिल्यै विद्वेष नराखेका बिपी सात सालको प्रजातन्त्रपछि पनि राणाकालीन प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्री बन्न र अथाह धाँधलीबीच भएको जनमतसङ्ग्रहमा हार स्वीकार्न सक्ने भए । राजासँग घाँटी जोड्न कहिल्यै छाडेनन् । तथापि राजतन्त्रले उनलाई सदैव लखेटिरह्यो ।

जनमतसङ्ग्रहमै पनि कम्युनिष्टसँग मिलेर जान नसक्दा मुलुकले बहुदल पाउन अर्काे १० वर्ष कुर्नुप¥यो । त्यसपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता नेतृत्व पाएको कांग्रेस अहिले शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता नेताको नेतृत्वमा गुटैगुट हुँदै अघि बढिरहेको छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पुरानै आदर्श नारा न पुनःपरिभाषित भएको छ, न हान्निएर अघि बढेको छ । नेकपा फेल खाए सत्तामा पुनः आउन सक्ने उसको स्थिति भने नकार्न सकिँदैन ।

भारतको कोलकातामा नेपाली कांग्रेसको कार्यालय सचिव बनेका पुष्पलाल पछि कम्युनिष्ट मेनिफेष्टोको अनुवादक नै बने र नेपाली धर्तीमा साम्यवादको बीउ रोपण गरिदिए । बनारसमा रहँदा चना र पानी खाएर जीउ बचाए । नेकपाका संस्थापक महासचिव जस्ता प्राणीले पनि कुनै बेला चेलाहरुबाट गद्दार घोेषित हुनुप¥यो । आफूले खडा गरेको पार्टी दर्जनौँ चिरामा विभक्त भएको आफैँले देख्नुप¥यो । तुलसीलाल, मनमोहन, मदन भण्डारी जन्मेकाले पार्टी बच्नचाहिँ सफल भयो । प्रजातन्त्र पुनःस्थापनापछि पटक पटक एकल र संयुक्त नेतृत्वपछि अहिले झण्डै दुई तिहाइ पाउँदा काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर लम्केको पुष्पलालको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सिद्धान्तको बेमेल, व्यक्तित्वको टकराव, अहङ्कार, बुर्जुवा जीवनशैली, पार्टी र सरकारको अव्यवस्थापनबीच अघि बढ्दै जग हँसाउँदै छ ।

संविधानमा लेखिएको समाजवाद कता, यी पार्टी र नेताहरुको व्यक्तिवाद कता ? कोरोनाले विश्व डामिरहेका बेला, राजनीतिक आदर्शहरु ओरालो लागिरहेका बेला राजनीतिक खिंचातानी गरेर यिनले जनतालाई सोत्तर बनाउने हुन् कि समृद्धि दिने हुन् ? महात्मा गान्धी, रामहरि जोशी, भीमबहादुर तामाङको पथ समात्ने हुन् कि पथभ्रष्ट बनेर अल्मल्याउने हुन् ? छिमेक र विश्वमै युद्धको कालो बादल मडारिरहेका बेला मुलुक जोगाउने हुन् कि भँड्खालामा जाक्ने हुन् ? जनताले त रामराम मात्र भन्ने हो ।राजनीतिमा र आदर्श सिद्धान्त सिकाउने नेताहरु आफैँ दृष्टान्त बनिदिए त कार्यकर्ताले पनि त्यही सिक्दा हुन् नि ?


प्रतिक्रिया दिनुहोस !