रातमा छोराहरु रमाउँदा

रातमा छोराहरु रमाउँदा

रक्षा र गृह-यिनै मन्त्री र मन्त्रालयले कोरोनाको संक्रमण नसकिए पनि लकडाउनलाई ८० प्रतिशत हलुका बनाएका छन् । तर,कुनै हालतमा नखोल्नु, नगर्नु भनेका काममा यी दुबै ठाउँका छोराहरु मध्यरात सँगसँगै भेटिए । शुरूमा त प्रहरीकै भागाभाग भयो । 

घटना बिहीबार राति १० बजेको हो । लाजिम्पाटस्थित उत्तर ढोकामा यौटा रेष्टुरेण्ट छ । त्यसदिन त्यहाँ अत्यधिक मात्रामा गाडी पार्किङ हुँदा ट्राफिक जाम थियो । दरबारमार्ग प्रहरीको भ्यान गस्ती पुग्यो । भ्यान कमाण्डर रहेका सई आफैं भित्र छिरे । तर,भित्र रक्षामन्त्रीका छोरा स्वराज र गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा प्रतीक थिए । उनीहरूसँगै एकजना विदेशी नागरिक र सेनाका केही अधिकृत पनि थिए । 

भित्र शक्तिशाली मन्त्रीका छोराहरूलाई देखेपछि पुलिसका भ्यान कमाण्डर निस्किए । उनले दरबारमार्ग प्रहरी बृत्तका फिल्ड कमाण्डर (इन्स्पेक्टर) लाई मोबाइलमा फोन गरे । 

सईले फोन गरेको १२ मीनेटमा इन्स्पेक्टर त्यहाँ पुगे । उनले पुग्नासाथ रेष्टुरेण्टमा जम्मा भएका मनिसहरुलाई कर्के नजरले हेर्न थाले । 

रेष्टुरेण्टकै एकजना स्टाफले लखेटिएका केही युवतीबारे भन्दै थिए,’सर, उहाँहरु त भिआइपीको गेष्ट हो ।’ 

अनि,इन्स्पेक्टरले पुष्टि गर्न खोजे ‘भिआइपी’ भनिएका मन्त्रीका छोराहरू हुन् कि हैनन् ! ती युवाहरू बसेको टेबुलमा तीनवटा व्हिस्कीका पेग भएको ग्लास,आइस क्युबको बट्टा, छेउमा सिगरेट र लाइटर थियो । 

इन्स्पेक्टरले भने, ‘तपाईंहरु किन यहाँ ? गइहाल्नुस् …!’ 

बादलका छोरा प्रतीकले भने, ‘हाम्रो सल्लाह हुँदैछ । तपाईं आफ्नो काम गर्नुस् ।’

इन्स्पेक्टरले झनक्क झन्किएर भने, ‘मेरो कामै भीड हुन नदिने हो । गइहाल्नुस् यहाँबाट !’ 
अर्काले भने, ‘चिन्नुभएन कि क्या हो ?’ 

इन्स्पेक्टरले जवाफ दिए, ‘तपाईंहरुलाई चिन्न जरुरी छैन,देशको नियम-कानुनले नमिल्ने कुरा कसैले गर्न मिल्दैन । खुरुक्क बाटो लाग्नुस्…!’ 

त्यही पनि छोराहरु उठेनन् । 

त्यसपछि इन्स्पेक्टरले आफ्नो प्रहरी टोलीलाई कराए, ‘ निकाल…छिटोछिटो…!’ 

यसक्रममा होहल्ला पनि भयो । अनि,दुई भिआइपी बल्ल बसेको ठाउँबाट उठे । 
एकजनाले भन्दै थिए, ‘भोलि त होस्,यसलाई देखाइदिन्छु…!’ 

प्रहरीले उनको कुरा सुनेको नसुन्यै गरे । 

प्रहरी टोलीचाहिँ राती १२ बजेसम्म त्यहीँ बस्यो।

टिप्पणीहरू