दुःखमा टेकेर भविष्यलाई देन « janaaasthanews
१० मंसिर २०७७, बुधबार

दुःखमा टेकेर भविष्यलाई देन



पश्चिमी राष्ट्रका सबैभन्दा लोकप्रिय साहित्यकार हुन् विलियम शेक्सपियर । स्ट्राटफोर्ड नगरको नाउँ मात्र उच्चारण गर्दा पनि सम्पूर्ण अंग्रेज श्रद्धाले झुक्छन् । मायाले द्रवित हुन्छन् । गर्वले छाती फुलाउँछन् । लण्डनभन्दा ९० माइल टाढाको त्यो नगरको अरु कुनै विशेषता छैन, सिवाय शेक्सपियरको जन्मनगर । अंग्रेजी साहित्यका महान् लेखक, विश्व नाट्य जगतका सर्वश्रेष्ठ नाटककार उनलाई कसैले बगरे त कसैले कसाइको छोरा मान्छन् । उनका चार दिदीबहिनी र तीन दाजुभाइ थिए तर सबै सानैमा मरे । सन् १५६४ को जुलाइमा उक्त नगरमा प्लेगको महामारी फैलियो । उनी तीन महिनाको शिशु थिए । परिवार नगर छाडेर नभागेको भए आज विश्वभरि साहित्यका पारखीले शेक्सपियरको नाउँ सुन्न पाउने थिएनन् ।

उनले जीवनमा ३७ वटा नाटक लेखेका छन् । तीमध्ये ओथेलो, ह्याम्लेट, म्याक्बेथ, जुलियस सिजर, रोमियो जुलियट आदि विश्वप्रसिद्ध छन् । उनी शुरुमा भिनस एण्ड अडोनिस, लुकिसको बलात्कारजस्ता कविताको कारण चर्चित बने । उनका धेरै प्रसिद्ध नाटकहरु शेषपछि मात्रै प्रकाशन भएका हुन् । कतिपय इतिहासकारहरुको चाहिँ उनीद्वारा लिखित भनिएका नाटकहरु बेन जोन्सन, एडबर्ड द भेर, पेम्बु्र ककी काउन्टेस, क्रिस्टोफर मार्लोले लेखेका हुन् भन्ने दाबी छ ।

शेक्सपियर बाल्यकालमा चकचके स्वभावका थिए । सामन्तको बगैंचामा गई स्याउ चोरेर खान्थे । त्यसैले आलोचकहरु उनलाई ‘स्याउ चोर’ भन्ने गर्छन् ।

अमेरिकी साहित्यमा ओ. हेनरीको नाउँ शीर्ष स्थानमा छ । लघुकथा लेखेरै विश्वप्रसिद्ध बनेका उनको वास्तविक नाउँ विलियम सिड्नी पोर्टर हो । उनले ओ. हेनरी र ओलिभर हेनरीको नाउँबाट साहित्य सिर्जना गर्थे । उनलाई फ्रेञ्च कथाकार गाइ, मोपांसा र रुसी साहित्यकार एन्तोन चेखवसँग तुलना गरिन्छ । कारण उनले मोपांसा र चेखबले जस्तै कथाको अन्त्य बडो रहस्यमय तरिकाले गर्थे । क्याबेज एण्ड किंग्स, दि फोर मिलियन, दि गिफ्ट अफ दि मागी, दि कप एण्ड एन्थेम आदि चर्चित कथा हुन् ।

उत्तरी क्यारोलिनामा जन्मेका उनले १५ वर्षको उमेरदेखि बल्ल स्कुलमा पाइला टेक्न पाए । सानैमा आफ्नै काकाको औषधि पसलमा काम गरे । २० वर्षको उमेर हुँदा सन् १८८२ मा बिरामी परे । स्वास्थोपचारका लागि टेक्सास पुगेर पशुशालामा काम थाले । पशुपालकको काम गर्दै लेखे । गीत गाउँथे, गिटार र मेन्डोलिन राम्रोसँग बजाउँथे । सन् १८९१ मा जिम हग टेक्सासको गभर्नर बने । उनैले हेनरीलाई नेशनल बैंक अफ टेक्सासमा जागिर खुवाए । उनी बैंकमा बहीखाता राख्थे । एकदिन दुई हजार डलरको हिसाब मिलेन । व्यवस्थापनले हिसाब गोलमाल गरेको आरोप लगायो । उनी उक्त आरोपबाट विक्षिप्त बने र टेक्सास छाडेर भाग्ने भूल गरे । भागेका कारण व्यवस्थापनले झनै शंका ग¥यो । हेनरी मध्य अमेरिका, दक्षिण अमेरिकातिर भौंतारिँदै हिँड्न थाले ।

सन् १८६८ मा पत्नी एथोल इस्टेट क्षयरोगबाट थला परिन् । बिरामी पत्नीको हेरचाह गर्न भनी स्वदेश फर्के तर अमेरिका पुग्नेबित्तिकै पक्राउ परे । अदालतले पाँच वर्षको कैद सजाय सुनायो । सजाय सुनाउने समयमा ज्युरीका कतिपय सदस्य रुन थाले । जसको कारण निर्णय निम्न तहका कर्मचारीले सुनाउनुप¥यो । हेनरी निर्दोष थिए, ज्युरीका सदस्यहरुलाई यो कुरा थाहा थियो तर सम्पूर्ण प्रमाण उनीविरुद्ध लक्ष्यित थियो । सजायँ सुनाइसकेपछि रोइरहेका एकजना न्यायाधीशलाई हेनरीले खल्तीबाट रुमाल झिकेर दिए । आँशु पुछिसकेपछि पनि न्यायाधीशले रुमाल फर्काएनन् । एकजना महान् लेखकको चिह्नस्वरुप ती न्यायाधीशले हेनरीको रुमाल सदैव आफूसँगै राखे ।

ओ. हेनरीले जेल सजाय पाएको कुरा अमेरिकाभरिका पत्रपत्रिकाले मुख्य समाचार बनाएर छापे । विरोधमा सम्पादकीय लेखे । अदालतको हाकाहाकी आलोचना गरे । न्यायाधीशले हेनरीलाई माथिल्लो अदालतमा अपिल गर्न आग्रह गरे तर उनले मानेनन् । हेनरीले अपिल गर्न नमानेकै कारण ती न्यायाधीशले पदबाट राजीनामा दिए । त्यो बेला हेनरीले भनेका थिए, ‘ईश्वरले मलाई जेल पठायो, शायद यसमा पनि मेरै हित चिताएको होला ।’

जेल बसाइको क्रममा उनले धेरै जना कैदीको जीवनकथा सुने । त्यसपछि न्यायपालिका र न्यायप्रणालीविरुद्ध, कैदीहरुको पक्षमा दर्जनौं मार्मिक कथा सिर्जना गरे । हेनरी कोलम्बसको संघीय जेलमा कैद थिए । जेलभित्र उनले प्रदर्शन गरेको शालिनता र अनुकरणयोग्य व्यवहारका कारण सजाय घटाएर तीन वर्ष बनाइयो । जेलभित्र खोलिएको औषधि पसलमा नोकरी पाए र राति फुर्सद मिलाएर कथाहरु लेख्न थाले । त्यसरी सिर्जित कथाको लेखकमा ओ. हेनरी लेख्न थालेको त्यही बेलादेखि हो । जेलमा रहँदै ख्याति चुलिँदै गयो । जेलबाट निस्केपछि लेखनलाई पेशा बनाए । पछि न्युयोर्क पुगेर ‘न्युयोर्क वल्र्ड’ मा काम गर्न र उक्त पत्रिकाको रविवारीय परिशिष्टांकका लागि नियमित कथा लेख्न थाले । त्यो बेला उनका प्रत्येक कथाको पारिश्रमिक एक सय डलर थियो । उनी विश्वप्रसिद्ध साहित्यकारमा गणना भए ।

फ्योदोर दोस्तोएब्स्की रुसी भाषाका महान् साहित्यकार, विचारक, दार्शनिक र निबन्धकार थिए । दर्जनौं उपन्यास र कथा लेखे तर जीवनकालमा तिनले महत्व पाएनन् । निधनपछि भने उनलाई यथार्थवादको प्रवर्तक मान्दै रुसको महान् साहित्यकारमा गणना गर्न थालियो । पहिलो उपन्यास ‘गरिब जनता’ सन् १८४५ र दोस्रो उपन्यास ‘जुम्ल्याहा’ सन् १८४६ मा प्रकाशित भएको हो । यी दुई कृतिले नै उनलाई शिखरमा पु¥यायो । आमा गुमाइसकेका उनका पिताको सन् १८३९ मा हत्या भयो । १८ वर्षमा टुहुरा बनेका उनीसित पैसा थिएन, साथी पनि । एक्लोपनका कारण शारीरिक र मानसिक व्यथा बढ्दै गयो र अन्त्यमा छारेरोगले समात्यो । यो रोगले जीवनभर छोडेन ।

यसबीच सन् १८४६ मा कवि अलेक्सी प्रेस्चेथभको संगतमा परेर ‘पेट्रासेभ्स्की समूह’ मा आबद्ध हुन पुगे । फ्रान्सिसी युरोपिया समाजवादका व्याख्याकार चाल्र्स फुरियरका रुसी समर्थक मिखाइल पेट्रासेभ्स्कीले गठन गरेको उक्त समूहमा प्रगतिशील युवा लेखकहरु आबद्ध थिए । समूहका सदस्यहरुबीच साहित्यिक छलफल हुन्थ्यो । उनीहरु रुसमा सामाजिक सुधार चाहन्थे । सन् १८२५ मै रुसमा युवाहरुले विद्रोह गरेका थिए । तत्कालीन रुसी जार (राजा) निकोलस (प्रथम) ले यो समूहबाट उस्तै विद्रोह हुने खतरा देखे । र, समूहमाथि प्रतिबन्ध लगाइदिए तर समूह सक्रिय भइरह्यो । सन् १८४८ मा मध्ययुरोप र पश्चिम युरोपमा आन्दोलन चल्यो । जार निकोलस झन् डराए । नतिजा, सन् १८४९ को अप्रिल २३ मा उक्त समूहमा आबद्ध दोस्तोएब्स्कीलगायत २० जना युवा लेखक पक्राउ परे । त्यसबेला दोस्तोएब्स्की ‘नेतोच्का नेझ्भानोभा’ उपन्यास लेख्दै थिए । पक्राउ परेका कारण यो उपन्यास कहिल्यै पूर्ण भएन ।

दोस्तोएब्स्कीलगायत पक्राउ परेका सबैमाथि राजद्रोहको अभियोग लगाइयो । अन्य सरह उनले पनि मृत्युदण्डको सजाय पाए । मृत्युदण्ड दिइने दिन काठे खम्बामा बाँधिसकिएको थियो । गोली हान्ने सेनाका जवान उभिएर निशाना साँध्न थाले । चलचित्रमा जस्तै ठीक त्यसैबेला एकजना घोडचढी दौडेर नजिक पुगे । उनले ठूलो स्वरमा सैनिकलाई भने, ‘निशाना लगाउन बन्द गर, महामहिम जारबाट यिनीहरु सबैलाई मृत्युदण्डको सट्टा आजीवन कारावास दिने हुकुम भएको छ ।’

खबर सुनेर एकजना यतिविघ्न खुशी भए कि पागल नै बने । दोस्तोएब्स्कीलाई साइबेरिया निर्वासनमा पठाइयो । उनले त्यहाँ ५ वर्ष कठोर श्रम शिविरमा बिताए । त्यहाँ बस्दाको जेल जीवनीबारे उनको पुस्तक ‘लासको घरबाट लेखिएका टिप्पणीहरु’ पछि प्रकाशित भयो । यो पुस्तक पढेर फलामे मुटु भएका नेता भनिएका जोसेफ स्टालिन पनि नरोई बस्न सकेनन् । जेलबाट बाहिर आइसकेपछि उनले अपराध र दण्ड, बौडम, नरपिचास, जुआरीजस्ता विश्वप्रसिद्ध उपन्यास लेखे ।

९ वर्षको कारावास जीवनपछि ३६ वर्षको उमेरमा बल्ल उनले मारिया डिमित्रियेभ्ना इसायेभासँग बिहे गरे । इसायेभा सुकेनासको रोगी थिइन् । ७ वर्षपछि उनको निधन भयो । त्यसपछि दोस्तोएब्स्की २३ वर्षकी युवतीसँग नजिकिए । ती युवतीको चरित्र उनले आफ्नो उपन्यास ‘जुवाडे’ मा उतारेका छन् । पछि सन् १८६७ मा आफ्नै लेखहरु साफी गर्ने २१ वर्षीया अन्ना स्नित्किनासँग बिहे गरे । उनको निधन ५९ वर्षको उमेरमा सन् १८८१ मा भयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सिमानामा के छ र समस्या ?
देश विदेशबाट सुपुर्दगीको दबाव
नेवारहरुले किन गर्छन् म्ह: पूजा ?
प्रधानमन्त्री अकस्मात रास्ट्रपतिकोमा