कस्सो मारेनन् मदन भण्डारीलाई कमरेडहरूले : ज्यान मार्ने आरोपीलाई छाड्न जंगलमै आदेश

कस्सो मारेनन् मदन भण्डारीलाई कमरेडहरूले : ज्यान मार्ने आरोपीलाई छाड्न जंगलमै आदेश

जब सत्ता, शक्ति र पहुँचको दुरुपयोग हुन्छ, तब न्याय धर्मराउँछ । नेताले कर्मचारी दबाउने र कर्मचारीले नेताको चाकडी गर्ने क्रममा फेरि रुकुममा अर्को हत्कण्डा सामसुम बनाउन लागिपरेको तथ्य जनआस्थालाई प्राप्त भएको छ ।

अन्तरजातीय पे्रम सम्बन्धका कारण वडाध्यक्षकै संलग्नतामा ६ जना मारिएको, वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण गरिएको, वडा कार्यालयमै वडाध्यक्षले जातीय विभेद गरेको, प्रहरीले अबला महिला कुटेकोलगायत घटनासँगै वडाध्यक्षकै नेतृत्वमा गाउँलेमाथि आक्रमण भई दुईदिने सुत्केरीसहित आठ जनाको ज्यान मार्ने उद्योग लागेको अर्को काण्डमा पीडककोे राजनीतिक पहँुच र शक्तिको कारण पीडितले न्याय पाउन सकिरहेका छैनन् ।

घटना रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, स्यालाखदीको हो । वैशाख २७ गते गाउँले कुटेर वडाध्यक्ष केशरमान बि.क.सहितको समूह फरार भएको थियो । अहिले पनि प्रहरीले फरार नै भन्छ । ८ जना गाउँले घाइते बनाएर भागेका २२ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिमले पक्राउ पुर्जीसमेत जारी गरेको छ । तर, प्रहरीले भने समात्ने आँट गर्न सकेको छैन । जिल्ला प्रहरीले पक्राउ गर्न खोजे पनि माथिबाट आएको दबाब भन्दै चोखिने गरेको छ ।

जाहेरी मुश्किलले दर्ता

घटना भएको जेठ २७ गते । प्रहरीमा जाहेरी आयो ४ दिनपछि अर्थात् ३१ गते । दर्ता भयो असार ५ गते । अदालतले पक्राउ आदेश जेठ २ गते नै दियो । पीडितले निवेदन दिँदासमेत दर्ता नहुने अवस्था थियो ।

घटनामा संलग्नहरू गाउँमै, नगरमै छन् । कार्यालयका काम र सार्वजनिक कार्यक्रममा सहभागी छन् तर प्रहरीले पक्राउ गर्नुको साटो फरार छन् भन्ने जवाफ दिएर पीडितको घाउमा नुनचुक छर्ने गरेको छ । वडाध्यक्ष केशरमान बि.क. वडा कार्यालय मात्र हैन, आठबिसकोट नगरपालिकाको कार्यपालिका बैठक, नगरसभा, जिल्लास्तरका कार्यक्रममा समेत निर्धक्क सहभागी हुने गरेका छन् । घाइते मदन भण्डारी भन्छन्, वडाध्यक्ष त सरकारी बाइकमा घुमिरहेका हुन्छन्, नगरपालिकाको गाडीमा समेत जिल्ला गई प्रमुखहरूलाई भेटेर आउँछन् ।’ पक्राउ पुर्जी जारी गरिएका अन्य व्यक्ति पनि खुलेआम घुमिरहेका छन् ।

ज्यान मार्ने उद्योगमा मुद्दा लागेकाहरूलाई अदालतले आदेश दिँदा पनि पक्राउ नपर्नुको कारण उच्च राजनीतिक ओहोदाबाट प्रहरीलाई आएको दबाब नै प्रमुख रहेको घाइते गोपाल बोहरा बताउँछन् ।
असार ३१ गते खदीस्थित प्रहरी चौकीको टोलीले जिल्लाको आदेशअनुसार आरोपीहरू डम्मर देवकोटा, शंकर बिक, गोपाल बिकलगायतलाई पक्राउ गरेको थियो । गाउँलेको घेराबन्दी तोड्दै करिब २ घण्टा पर झारमारे डाँडाको डम्माना भन्ने ठाउँसम्म ल्याउँदा उनीहरूलाई छाड्न आदेश आयो । त्यति मिहिनेत गरेर आरोपी छोपेका प्रहरीले कर्णाली प्रदेश कार्यालयको गाली खाए ।

डम्मानाको जंगलबाट उनै चार आरोपी सँगै खदी गाउँ फर्किए, प्रहरी पनि । गाउँ पुग्दा बाजागाजा, फूलमालासहित नाराजुलुस लाग्यो ।

समाचार स्रोत भन्छ, मेरा जनतालाई समात्ने ? थुन्ने ? भन्दै पूर्वगृहमन्त्रीबाट दबाब आयो डिआइजी वसन्त पन्तलाई । डिआइजीले रुकुम पश्चिम प्रहरीलाई आमाचकारी गाली गरे । जिल्लाले विवश भएर फिल्डमा खटिएको प्रहरीलाई जहाँको तहीँ छाड्न आदेश दियो । छाडेलगत्तै गाउँमा चार जनालाई फूलमालासहितको जुलुसले स्वागत ग¥यो । प्रहरी प्रशासनविरुद्ध जितको नारा घन्कियो ।

प्रहरी टुलुटुलु हेर्नबाहेक केही गर्न सक्ने अवस्थामा भएन । प्रहरीले पक्राउ गरेका मान्छेलाई बीचबाटोमा रहेको जंगलबाटै छाडिदिनु कतिसम्मको न्यायिक काम हो ? घटनामा संलग्न वडाध्यक्ष केशरमान बिकसहित फरार व्यक्तिको खोजी भइरहेको बताउने प्रहरी अब जवाफविहीन बनेको छ ।

घटनाको एक महिनापछि असार २७ गते प्रहरीले चार जना आरोपीलाई पक्राउ गरेको छ । आठबिसकोट नगरपालिका कार्यालय नजिकै होटलमा बसिरहेका जीवन बिक, बिर्ख ऐरी, शशिराम बुढा र सुरेश बिकलाई समाती ज्यान मार्ने उद्योगअन्तर्गतको कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ । कुटपिटपश्चात् म¥यो भनेर खोलामा फालिएका गोपाल बोहरा सुर्खेत र कोहलपुर अस्पताल पु¥याइएपछि बाँचेको बताउँछन् । उपचार हुँदा लागेको करिब अढाई लाख खर्चको बिल र घाइते शरीर बोकेर जिल्ला प्रहरी कार्यालय धाउने गरेका छन् ।

यस्तो थियो घटना

वैशाख २७ गते खदीमा सोही वडाका तलिगाउँ र माथिगाउँ टोलबीच झडप भएको थियो । पानीको मुहानका लागि भएको झडपले राजनीतिक रुप लिँदा अध्यक्ष केशरमान बिकसमेतको समूहले आक्रमण गरेपछि सुत्केरीसहित ८ जना घाइते भएका थिए । घटनास्थल भने प्रहरी चौकीदेखि १ मिनेटको दूरीमा मात्र रहेको छ । गम्भीर घाइते भएका ३ जनालाई मरे भनेर खोलामा फालिएको थियो ।

गोपाल बोहरा स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार थिए भने केशरमान बि.क.ले तत्कालीन माओवादीका तर्फबाट जितेका थिए ।

घटनामा परेर दुईदिने सुत्केरी दिलकुमारी यरी थापा, अनन्त बुढा, अमृत बोहरा र मोहन बोहरा घाइते भएका थिए । यी घाइतेहरू वडाको तलिगाउँका हुन् भने अर्का घाइते शशिराम बुढा माथिगाउँ टोलका हुन् ।

टिप्पणीहरू