साउनमै संविधान जलाउने सुर

साउनमै संविधान जलाउने सुर

संयुक्त पहिचानमा आधारित संघीय गठबन्धनले साउनदेखि आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । गठबन्धनले आगामी असोज ३ गते नेपालको संविधानको विभेदकारी धाराहरू राजधानी काठमाडौंलगायत देशैभर जलाउने कार्यक्रम तय गरेपछि गृह मन्त्रालयले आवश्यक सजगता अपनाउन र निगरानी बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले असार ३० गते नेपाल प्रहरी,सशस्त्र र सबै प्रमुख जिल्ला अधिकारीलाई आवश्यक कारबाहीको लागि लेखेको पत्रमा ‘कानुन विपरितका कार्यहरू हुन-गर्न नदिन र कानुन विपरितका कार्यहरू भए-गरेको पाइएमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन’ समेत निर्देशन दिएको छ ।

गठबन्धनले साउन १ गतेदेखि देशव्यापी प्रचारात्मक कार्यक्रम गरी साउन २४ गते प्रधानमन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र दिने बताएको छ । उसले प्रतिपक्षलगायतका राजनीतिक दलहरूसँग अन्तरक्रिया एवम् मानव अधिकार तथा नागरिक अगुवाहरूसँग गोलमेच सम्मेलन गरेर टीकापुर घटनाको स्मरणमा भदौ ३ गते काठमाडौंमा र भदौ ८ गते देशभर कालो दिवस मनाउनेसमेत जनाएको छ ।

संविधानका केही व्यवस्थाहरू,नागरिकता विधेयक,एमसीसी सम्झौतालाई लिएर विशेषतः तराईका केही जिल्लामा कोरोना महामारी र लकडाउनको समयमा पनि गठबन्धनले बिरोधका कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो ।

संयुक्त पहिचानमा आधारित संघीय गठबन्धनमा लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेवा: राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा,थरुहट थारुवान राष्ट्रिय मोर्चा, तराई मधेश राष्ट्रिय परिषद्लगायत नौ वटा दल तथा समूह आवद्ध छन् ।

टिप्पणीहरू