शक्तिशाली प्रधानमन्त्री मिडियामा कमजोर ?

शक्तिशाली प्रधानमन्त्री मिडियामा कमजोर ?

झण्डै दुई तिहाईको समर्थनमा इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको पक्षमा खुलेर लेख्ने दैनिक अखबारमा यतिखेर गोरखापत्रबाहेक अरु देखिएका छैनन् । त्यसैगरी टेलिभिजनमा एनटिभी र रेडियोमा रेडियो नेपालले बाहेक अरु कुनैपनि सञ्चारमाध्यम प्रधानमन्त्री र सरकारको काम कारबाहीलाई समर्थन गरेर लेख्न, देखाउन र बोल्न अघि सरेका छैनन् ।

सरकार बनेको अढाई वर्षसम्म बालुवाटारलाई ग्वाम्लाङ्ग काँध हाल्न मूलधारका सञ्चारमाध्यम,सञ्चारकर्मीदेखि पत्रकार महासंघसम्म कोहीपनि नदेखिनु कसको कमजोरी हो ? प्रधानमन्त्रीबाट अनेक कालखण्डमा शुभशंकर कडेललगायत धेरैले फाइदा उठाए तर अहिले पूर्व एमाले र हालको नेकपासँग निकट सञ्चारकर्मीहरूमध्ये टाउको गन्दा पनि गणेश बस्नेत,प्रमोद दाहाल,सूर्य थापा,बालकृष्ण बस्नेत र गोपाल खनाल समर्थन गर्नेमा अग्रपंक्तिमा दरिएका छन् । अघिल्लो कार्यकालसम्म प्रधानमन्त्री र सरकारको राम्रैसँग समर्थन गरेका नेकपानिकट शम्भु श्रेष्ठलगायत कतिपय साप्ताहिक अखबार र तिनका सम्पादकहरू भने विपक्षमा कलम चलाइरहेका छन् । यस्तो अवस्था देखा पर्नु प्रधानमन्त्री स्वयमले सञ्चारमाध्यम र सञ्चारकर्मीसँगको चौघेरा साँघुरो बनाउँदै लानुको परिणाम भएको विज्ञहरू बताउँछन् ।

उता,मुलुकभर नेटवर्क रहेको पूर्व प्रेस चौतारी तथा हालको प्रेस सेन्टरका एकाधबाहेक कसैले पनि सामाजिक सन्जालबाहेक सरकारको समर्थनमा मूलधारका मिडियामार्फत कलम चलाएको देखिँदैन । समग्र सरकारभन्दा पनि प्रधानमन्त्रीको पक्षमा लेख्ने बौद्धिकहरूमा प्रा.डा.ऋषिराम शर्मा  देखिएका छन् । उग्र समर्थनमा लेखिने उनका लेख रचना पनि चक्रपथ,दैनिकी र जनता टाइम्समा सिमित छन् । दयालबहादुर शाही हिमाली,राजेन्द्र अर्याल र मीना श्रेष्ठले सामाजिक सन्जालबाट तथा राजेश अहिराजले पनि मधेसबाट समर्थनको धर्म निर्वाह गरिरहेकै छन् ! पछिल्लो समय प्रधानमन्त्री र सरकारको पक्षमा लेख्नु भनेको ‘कि नियुक्ति पाउनलाई कि नियुक्ति पाएका’ ले भन्ने अर्थ लाग्न थालेको छ । त्यसमध्ये पनि नियुक्ति नपाउञ्जेल उग्र लेख्ने बौद्धिक तथा विशेषज्ञहरूको कलममा नियुक्तिपछि बिर्को लाग्ने गरेको पाइएको छ । ठूला ब्रोडसिट,अनलाइन,एफएम र अनलाइनले समेत पाएसम्म प्रधानमन्त्री र सरकारको खोइरो खन्न छाडेका छैनन् ।

तर,प्रधानमन्त्रीको निम्ति निरन्तर स्पेस उपलब्ध गराउनेमा चक्रपथ डटकमकी कविता अधिकारी सशक्त देखिएकी छन् । चक्रपथमा रामशरण बजगाईं,बिनु पोख्रेल,सुवास देवकोटा,गोपाल खनाल र प्रमोद दाहालको उपस्थिति पातलिएपछि अधिकारीले बिँडो थाम्न परेको हो । यतिखेर खनाल गोरखापत्र संस्थान,बजगाईं बालुवाटार र दाहाल रेडियो नेपालमा व्यस्त भएपछि चक्रपथ चलाउने जिम्मा अधिकारीको भागमा परेको हो ।

नेपाल वान टेलिभिजनको अनुभव रहेकी भनिएकी अधिकारी स्वयम् एमाले बनेको पनि धेरै वर्ष नभएको बताइन्छ । गौशालामा मदन भण्डारी फाउण्डेशनसँगै रहेको चक्रपथलाई भौतिक सुविधाले सुसम्पन्न गराउने उद्देश्यले गतवर्ष प्रधानमन्त्रीको भियतनाम भ्रमणपछि अवलोकन भ्रमणको कार्यक्रम राखिएको थियो ।

गणेश बस्नेतको ‘जनता टाइम्स’ ले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म प्रधानमन्त्री र सरकारको समर्थन गरिरहेकै छ । माधव तिवारीको ‘दैनिकी’ पनि त्यहि लाइनमा देखिन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको ब्याकिङ्ग रहेको ‘दैनिकी’ मा प्रधानमन्त्रीसँग थापा देखिएको समाचारले धेरै स्थान पाउने गरेको बताइन्छ । माधव पौडेलको ‘नेपाल फेस’ ले भने सकेसम्म बीचमा बसेर लेख्ने गरेको छ । इन्द्र आचार्यको “जनबोली ” पनि धर्म निर्वाहमा चुकेको देखिन्न !

टिप्पणीहरू