“काँग्रेसले मलाई पाँच वर्षे प्रधानमन्त्रीको प्रस्ताव गरेकै हो । तर,मैले जनमतको सम्मान गर्दै हुन्न भनेँ,यो कुरो तपाईंहरू सबैलाई जगजाहेर छ ।”

पछिल्लो घटनाक्रमले अब नेकपाभित्र फेरि एकपटक तानातान हुने लक्षण देखिएको छ । नेकपाभित्रको चर्को राजनीतिक अन्तरबिरोध प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एउटा पद नछोडेसम्म निकास ननिस्कनेतर्फ सोझिएको छ । तर,प्रधानमन्त्री त्यत्तिकै छोड्ने अवस्थामा देखिनुहुन्न ।

उता,खुमलटार समूहले पनि आफ्नो अडान छाड्ने कुनै लक्षण देखाएको छैन । आज खुमलटारमा भएको पूर्व माओवादीनिकट स्थायी समितिका सदस्यहरूको छलफलमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रोधित हुँदै प्रधानमन्त्री तथा अध्यक्षले सँधै दम्भ,अहंकार,घमण्ड र मैमत्ता देखाउँदै आउनुभएको बताउनुभएको छ । ‘मैले सबैथोक त्यागेँ,अब के त्याग्न बाँकी छ र वहाँले के त्याग्नुभएको छ रु’ भन्दै दाहालले स्थायी समिति सदस्यलाई आश्वस्त पार्नुभएको थियो ।

‘वहाँ आफ्ना वरिपरिका दुई, चार जना खराब मानिसको सल्लाहमा चल्नु हुँदोरहेछ ।’

पछिल्लो निर्वाचन र पार्टी एकीकरणदेखिको सन्दर्भ उप्काउँदै दाहालले भन्नुभयो “काँग्रेसले मलाई पाँच वर्षे प्रधानमन्त्रीको प्रस्ताव गरेकै हो । तर,मैले जनमतको सम्मान गर्दै हुन्न भनेँ,यो कुरो तपाईंहरू सबैलाई जगजाहेर छ ।”

‘पार्टी एकीकरणसँगै वहाँले र मैले एउटाले पार्टी चलाउने,अर्कोले सरकार चलाउने सहमति भएको हो । त्यो कुरामा पनि मैले सहजै समर्थन गरेकै हो । वहाँले हाललाई सरकारको नेतृत्व गर्नुहुन्छ,मैले पार्टी हेर्छु भनेँ । तर, केही समयपछि वहाँले यो पनि मान्नुभएन, पहिलेको वचन तोड्नुभयो’ भन्दै दाहालले ‘त्यसपछि वहाँ सरकार र पार्टी दुबै नेतृत्व गर्ने अभियानमा लाग्नुभयो । त्यसपछिको सहमति प्रधानमन्त्रीको कार्यकाल आधा आधा चलाउने भन्ने थियो । तरपनि मैले वहाँले पाँच वर्ष सरकार चलाउनुहुन्छ, मैले पार्टी चलाउँछु भनेँ, त्यो पनि मान्नु भएन । त्यसपछि मंसिर ४ मा मैले पार्टी चलाउने र वहाँले सरकार चलाउने पछिल्लो सहमति भएको हो’ भन्नुभएको एकजना सहभागीले बताए ।

‘त्यो दिन प्रचण्डलाई शीतल निवास नबोलाएको भए र जबजको शपथ खुवाउने प्रयास नगरेको भए घटनाक्रम सम्भवतः सम्झौता हुनसक्ने अवस्थामा पुगेको थियो । तर, प्रचण्डलाई जबजको ‘बुटी’ बाँधेमा एकल अध्यक्षको ग्यारेण्टी दिएपछि कुरो बिग्रिएको हो ।’

प्रचण्डका अनुसार प्रधानमन्त्रीमा सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखियो । आजको भेलामा प्रचण्डले घटनाक्रमको निश्कर्ष सुनाउँदै भन्नुभयो ‘वहाँ आफ्ना वरिपरिका दुई, चार जना खराब मानिसको सल्लाहमा चल्नु हुँदोरहेछ । वहाँ स्वचालित होइन, सञ्चालित पो हुनु हुँदोरहेछ’ । प्रचण्डको आक्रोशपूर्ण धारणा सुनेपछि आज खुमलटारमा चर्कोसँग आफ्ना भनाई राख्नेहरूमा पम्फा भुसाल,लीलामणि पोखरेल देखिए ।

केही दिन पहिले अध्यक्षद्वयबीच भएको ‘अर्लि महाधिवेशन’ को सहमति धुजाधुजा भएको पूर्व माओवादी नेताहरूले नै बताएका छन् । उनीहरूका अनुसार ‘त्यो दिन प्रचण्डलाई शीतल निवास नबोलाएको भए र जबजको शपथ खुवाउने प्रयास नगरेको भए घटनाक्रम सम्भवतः सम्झौता हुनसक्ने अवस्थामा पुगेको थियो । तर, प्रचण्डलाई जबजको ‘बुटी’ बाँधेमा एकल अध्यक्षको ग्यारेण्टी दिएपछि कुरो बिग्रिएको हो ।’

स्थायी समितिमा पूर्व माओवादीको तर्फबाट १९ जना रहेकामा सभामुख अग्नि सापकोटालाई कटाउदा आजको भेलामा १५ जनाको उपस्थिति थियो । बाँकीमध्ये माधव नेपाल पक्षका १४ जना देखिन्छन् भने प्रधानमन्त्री निकट १२ जना छन् । भोलि बैठक बस्ने भनिएको छ । तर, आज साँझ वा भोलि दुई अध्यक्षबीच हुने भेटपछि मात्रै बैठकको टुङ्गो लाग्ने बताइएको छ ।