दिल्लीले जसलाई नेपाल हेर्ने जिम्मा दियो

दिल्लीले जसलाई नेपाल हेर्ने जिम्मा दियो

यतिबेला नेपालको मित्रराष्ट्र भारत आफ्ना सबैजसो छिमेकीसँग द्वन्द्वरत छ । र, उसका अनेकन पेलपालप्रति छिमेकीहरुको सतर्कता पनि बढेको छ ।

सन् १९४७ मा भारतबाटै छुटेको पाकिस्तान र सन् १९६२ देखि कालापानीको तनाव झेल्दै गरेको नेपाल, अनि चीनसँग सिमानाको विवाद छँदैछ । बंगलादेश, श्रीलंकासँग समुद्री भूभागका लफडा पनि उत्तिकै छ ।

अचम्म त के भने, भारतको विदेश नीतिमा नेपाल पटक–पटक जोडिन आउँछ । भर्खरै उसले नेपालको लागि राजदूतपछि दोस्रो वरियताको कूटनीतिज्ञसमेत परिवर्तन गरेको छ । उता, विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव हेरफेर भएको छ । यससँगै नेपालका लागि पाकिस्तानले रणनीतिक तवरले राजदूत फेरेको छ । उसले पठाउने राजदूत दिल्लीबाट आउन लागेका हुन् । अनि, दिल्लीबाट लखेटिएका राजदूत दर्जाका उच्चायुक्तलाई पाकिस्तानले चीन पठाउने भएको छ ।

भारतीय विदेश मन्त्रालयको हेरफेरचाहिँ कस्तो छ भने, सन् २०१८ पछिको छोटो समय क्रोएसियाको निम्ति राजदूत रहिसकेका पश्चिम बंगालको कोलकाता निवासी अरिन्दम बागचीले अब नेपाल र भूटान मामिला हेर्ने भएका छन् । नर्थ डेस्क हेर्ने पियुषकुमार बहराइनका लागि राजदूत नियुक्त भएपछि त्यो ठाउँ खालि हुन लागेको हो । १० दिनपछि बहराइन उड्ने पियुष अहिले अरिन्दमलाई काम–कुरा सिकाउँदै छन् ।

दिल्लीस्थित पाकिस्तानी कावा उच्चायुक्त (चार्ज डे अफेयर्स– सिडिजी) को हैसियतमा रहेका शैयद हैदर साहलाई नेपालमा राजदूत नियुक्त गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूत डा.मजहर जावेदले दक्षिण अफ्रिकाका निम्ति राजदूतको जिम्मेवारी पाएका छन् । फेरि अचम्मको कुरा, दिल्लीबाटै लखेटिएका उच्चायुक्त मोइनुल हकलाई भने पाकिस्तानले भारतसँगै द्वन्द्वमा रहेको चीनका निम्ति राजदूत बनाएर पठाउने भएको छ । अर्थात्, भारतबारे जानकार व्यक्तिहरुलाई ऊसँग समस्या भएका मुलुकमा राजदूतका रुपमा पठाएर पाकिस्तानले रणनीतिक कूटनीति (स्ट्राटेजिक डिप्लोम्यासी) प्रदर्शन गर्दैछ ।

यसैबीच, दिल्लीमा रहेका वृद्ध नेपाली राजदूत नीलाम्बर आचार्यबारे अर्को अफवाह फिँजिदैछ । पहिला दीपकुमार उपाध्यायलाई केपी ओली सरकारले फिर्ता बोलायो, फेरि देउवाले सत्ता सम्हालेपछि उनैलाई पठाइयो । अहिलेको सरकारले फेरि नीलाम्बर आचार्यलाई उमेरजन्य कारणले फिर्ता बोलाउन लाग्यो भनेर शेखर गुप्ताको सम्पादनमा रहेको अनलाइन संस्करण ‘दी प्रिन्ट’ ले कूटनीतिक स्रोतको हवाला दिँदै हिजो छ । उसले समाचारको पुछारमा लेखेको छ, ‘तर, यो कुरा आधिकारिक रुपमा पुष्टि भएको छैन ।’

टिप्पणीहरू