असईको जीवन सडकमै समाप्त

असईको जीवन सडकमै समाप्त 

सवारी दुर्घटनामा परेर नेपाल प्रहरीका एक असईले घटनास्थलमै ज्यान गुमाएका छन् ।

कामपा- ४, धुम्बाराहीस्थित हिमाल डेन्टलअगाडि शनिबार अपराह्न ५:२५ मा बा ७४ प २८६१ नम्बरको पल्सर- १५० मोटरसाइकलमा सवार असई प्रेमराज पौडेलले आफू अगाडि गुडिरहेको प्रदेश ३, ०२००३ प ४१५० नम्बरको स्कुटीलाई ठक्कर दिएका थिए ।

स्कुटीसँग ठक्कर खाएर लडेपछि सडकमा छाति धसारिएपछि पौडेलको मुटुमा चोट लाग्दा घटनास्थलमै ज्यान गुमाएका हुन् ।
घटना हुनासाथ सर्वसाधारणले नेपाली सेनाको ट्याङ्करले असई पौडेललाई ठक्कर दिएको भनी होहल्ला गरेका थिए । प्रहरीले स्कुटीभन्दा अगाडि सवार नेपाली सेनाको ट्याङ्करलाई नियन्त्रणमा लियो । तर, अनुसन्धानका क्रममा ट्याङ्करको दोष नभेटिएको महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी रोशन खड्काले बताए ।
मृतक पौडेल प्रहरी प्रधान कार्यालयको तालिम शाखामा कार्यरत थिए । २०७१ सालमा प्रहरीमा भर्ना भएका २९ वर्षीय उनी सुर्खेतका बासिन्दा हुन् ।

टिप्पणीहरू