राजनीतिमा बाढी र पहिरो

राजनीतिमा बाढी र पहिरो

बाहिर जे भने पनि सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्षले के प्रस्ताव गर्नुभयो र अर्का अध्यक्षले के भन्नुभएको थियो सुन्ने अरु सातजना सदस्य त्यहिँ छन् ।

हिजोको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तुतिले राजनीतिमा इमान र बिश्वासलाई सिन्धुपाल्चोकको बाढी-पहिरोकै हालतमा पुर्याइदिएको छ । यदि उहाँले शीतल निवासबाट निस्केर बताएझैँ प्रधानमन्त्रीसङ्ग एकलवार्ता र त्यसप्रति उहाँको ठाडो समर्थन ‘ब्यक्तिगत प्रस्ताव मात्रै’ थियो भने,नेताहरुसङ्ग किन थप छलफल नगरी एकल निर्णय लिइयो ? बैठकमै किन यो प्रधानमन्त्रीको प्रस्ताव मात्र हो भनिएन ? रहस्य यहिँनेर रहेको बताइन्छ । तर,स्रोतका अनुसार बैठकमा दाहालले उल्टै प्रधानमन्त्रीलाई सहज हुने आशयले ‘मेरो पनि यहि हो । प्रधानमन्त्रीको पनि कुरो यहि हो । यसैगरी जाने हो । मैले आलोपालो प्रधानमन्त्रीको सहमतिलाई छाडेँ’ भन्नुलाई हलुका ढंगले लिन नहुने अर्काथरीले टिप्पणी गरेका छन् ।

प्रचण्डको ब्रिफिङ्गअनुसार प्रधानमन्त्रीले ‘अर्ली महाधिवेशन’ मा जानुपर्ने बताउँदै ‘आगामी चुनावअघिको सरकार तपाईं चलाउनुस्’ भन्नुभएको छ । तर,ती सबै प्रस्ताव र छलफलका विषय मात्रै थिए भने,साँझ शीतल निवास पुगेका दुईजना अध्यक्षसँगै महासचिव विष्णु पौडेल र जनार्दन शर्मालाई किन बोलाइयो ? भेद त्यहिँनेर छ । बाहिर जे भनेपनि सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्षले के प्रस्ताव गर्नुभयो र अर्का अध्यक्षले के भन्नुभएको थियो सुन्ने अरु सातजना सदस्य त्यहिँ छन् । एकाएक बैठकबाट बाहिर आएपछि उक्त विषय छलफलको क्रममा मात्र रहेको भन्नुको तुक देखिँदैन ।

हिजोको सचिवालय बैठक,शीतल निवासको भेट र त्यसपछि आएको दाहालको अभिव्यक्तिबाट उहाँले आफ्नो अडानमा लत्तो छाडिसकेको देखिन्छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएको ‘जनमत र लोकतन्त्रको भावनाबमोजिम’ भन्ने वाक्याँशले पनि दाहाल अहिले ओलीलाई दुबै पदमा निरन्तरता दिएर चुनावअघिको सरकारको नेतृत्व गर्ने उधारो वाचामा सहमत भएको बुझ्न गाह्रो छैन ।

विश्लेषकहरूका अनुसार अहिलेको परिस्थितिमा आगामी चार महिनामा नेकपाको महाधिवेशन सम्पन्न हुन्छ भन्नु हावा कुरा हो । तर,महाधिवेशनको चर्चा चलाएपछि पार्टीभित्र त्यसको सरगर्मी स्वतः बढ्छ । यसबाट नेताहरूको आफ्नो इच्छा र चाहनाबमोजिमका कार्यक्रमहरू अघि बढ्छन् । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल दुबैजना अध्यक्षका दाबेदार हुन् । महाधिवेशनको चर्चा चलाइदिएपछि नेपाल र दाहालबीच बिस्तारै दूरी बढ्दै जाने बालुवाटारको निश्कर्ष छ । त्यसपछि दुबैले आगामी अध्यक्षका लागि प्रधानमन्त्रीको समर्थन लिनु र दिनुपर्ने बाध्यता उत्पन्न हुनेछ । प्रधानमन्त्री ओलीले अहिलेझैँ बेरोकतोक सरकार सञ्चालन गर्नुहुनेछ ।

प्रधानमन्त्रीको विगतलाई हेर्ने हो भने अहिले फालिएको उधारो महाधिवेशनको प्रस्तावको मिति नजिकै आइपुगेपछि विभिन्न कारणले तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताइन्छ,त्यसबेला दाहाल र नेपाललाई विभिन्न अवस्था र आशा देखाउँदै त्यसपछि महाधिवेशनको अर्को मिति सारेर सत्ताले निरन्तरता पाउनेछ । पाँच वर्षको नजिक पुगेपछि आगामी चुनावमा पनि टिकट बाँड्ने हैसियतमा उहाँ नै रहनु हुनेछ ।

स्थायी समितिको बैठक आज पनि बोलाइएको छ । तर, दुई चार दिन अझै सहमतिको नाममा बैठक स्थगित हुने सम्भावना छ । प्रचण्ड र प्रधानमन्त्रीबीच एक किसिमको आन्तरिक सहमति भएपछि अधिकांश विषय सचिवालयबाटै निर्णय गराइन्छ । आवश्यकता देखेमा मात्र अध्यक्षद्वयले आफू अनुकूलका निर्णय स्थायी समिति र केन्द्रीय समितिबाटै पनि गराउने छन् ।

यसबीच हिजो एक्कासी स्थायी समिति रोकेर सचिवालय बैठक बोलाउनु र प्रधानमन्त्रीले राखेको नयाँ प्रस्तावमा एकाएक प्रचण्डले सहमति जनाउनुमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता झलनाथ खनालले आश्चर्य व्यक्त गर्नु भएको छ । प्रचण्डले अपनाएको पछिल्लो रणनीतिलाई पहिले जनयुद्ध कालकै ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ सँग दाँजेर हेरिएको छ ।

नेकपाको पछिल्लो अवस्थाले अब प्रचण्ड ओली समूहसँग हात बढाउन मसक्क भइसकेको देखाएको छ । सँधैझैँ पछिल्लो खेलमा पनि महासचिव विष्णु पौडेलको हात महत्वपूर्ण छ । यसबीच अधिकांश नेताले आफूलाई कित्ताकाट गरिसकेका छन् । तर, पौडेल मात्रै त्यस्तो व्यक्तित्व हुनुभएको छ,जो कहिल्यै कित्ताकाट नगरी सबैको प्रिय बन्दै आउनुभएको छ ।

महाधिवेशनको चर्चा चलाइदिएपछि नेपाल र दाहालबीच बिस्तारै दूरी बढ्दै जाने बालुवाटारको निश्कर्ष छ ।

टिप्पणीहरू