आदर्श, विश्वास र लगनशीलता खरानी भएको क्षण « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

आदर्श, विश्वास र लगनशीलता खरानी भएको क्षण



०४६ सालको राजनीतिक परिवर्तनपश्चात् राजनीतिक दलको आह्वानमा हुने ठूला जुलुस वा आमसभामा आमनागरिकको सहभागिता बाक्लिँदै जाँदा गणतन्त्रकालमा भने राजनीतिक दललाई उल्लेख्य सहभागिताको जुलुस निकाल्न धौधौ पर्न थालेको छ । दुई तिहाइको समर्थन प्राप्त प्रधानमन्त्री केपी ओलीको पक्षमा हालै निकालिएको जुलुसमा मुश्किलले १० जनादेखि ३ सयको हाराहारीमा समर्थकको सहभागिता देखिनु त्यसैको परिणाम हो ।

०४६ पछि तत्कालीन एमालेको आह्वानमा एकै दिनको खबरका बाजुद ठूला जुलुस, ¥याली र आमसभाहरू हुन्थे । महासचिव मदन भण्डारीको भाषण सुन्न नेता, कार्यकर्ता र समर्थकहरू मात्र होइन, विपक्षी दलका समर्थक मानिससमेत टाढाबाट पुग्थे । एमालेले विभिन्न चुनाव र महाधिवेशन अघि पछि निकालेका जुलुस तथा आभसभामा नसोचेको संख्यामा उपस्थिति हुन्थ्यो । एमाले र माओवादीले काठमाडौंको खुलामञ्चमा आयोजना गरेका कतिपय आमसभामा सहभागीहरू स्थान अभावले रत्नपार्क र दक्षिणतर्फ सैनिक मञ्चको नजिकसम्म पुग्थे ।

केही समयअघि बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी घोषणा गर्दा देखिएको भीड पछिल्लो समयको सबैभन्दा ठूलो जुलुस थियो । विगतमा माधव नेपालको सरकार ढाल्न तत्कालीन माओवादीले चार पाँच दिनसम्म सिंहदरबार घेर्न प्रयोग गरेको जुलुस र नागरिकको सहभागिता पनि चर्कै हो । तर, अहिले खै कहाँ गयो त्यो संख्यामा आमनागरिकको सहभागिता ? प्रहरी र प्रशासनको अगाडि देखिए मारिनसक्ने भय हुँदाहुँदै पनि कतिपय अवस्थामा विप्लबले आयोजना गरेका जुलुस र आमसभामा समेत उल्लेख्य जनसहभागिता हुने गरेको थियो ।

यसरी राजनीतिक दल र नेतृत्वको आह्वानमा पनि आमनागरिकको उपस्थिति पातलिनुको प्रमुख कारणचाहिँ नेतृत्व र कार्यकर्तामा देखिएको बलियो प्रतिबद्धताको अभाव हो । त्यसैगरी विभिन्न तह र तप्काका नेता तथा कार्यकर्तामा पनि स्वार्थको मात्रा बढ्दै गएको छ । कार्यकर्तामा समेत जुलुसमा जाँदा के पाइन्छ र नजाँदा के नै गुम्छ ? भन्ने भावना बढेको छ । यसले नेता र कार्यकर्ताबीचको पवित्र प्रतिबद्धता लेनदेनमा रूपान्तरण हुँदै गएको देखाउँछ । हिजोका क्रान्ति, आदर्श, मूल्य, मान्यता, विश्वास र समाजवादी सपना सबै स्वाहा हुँदै गएकाले पनि अहिलेको अवस्था देखिएको आदर्शवादी नेताहरू बताउँछन् ।

हिजोका दिनमा विशेषगरी कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई आदर्श पुरुष वा महिलाको रूपमा लिइन्थ्यो । कार्यकर्ताले आफ्नो र समाजको मुक्ति तिनै आदर्श पुरुष वा महिलाको हातमा रहेको विश्वास गर्थे । समाज रूपान्तरण गर्ने जादू र क्षमता नेतृत्वको हातमा मात्र रहेकाले तिनलाई जसरी पनि जोगाउनुपर्छ र उनीहरूको आदेश पालना गर्नुपर्छ भन्ने पवित्र भावना कार्यकर्तामा हुन्थ्यो ।

विगतमा पार्टी, नेतृत्व र आन्दोलनसँग जीवन र भविष्य जोडिएको विश्वास पनि कार्यकर्तामा हुन्थ्यो । कार्यकर्ताले पार्टीको आह्वानमा भएको आन्दोलन सफल भएमा आफ्नो जीवन सार्थक भएको र असफलतामा आफ्नो व्यक्तिगत जीवन पनि बेकार भएको ठान्थे । त्यसैले ०४६ साल अघिसम्म पार्टी, नेता र कार्यकर्ताबीच ‘डु अर डाई’ अर्थात् ‘गर वा मर’ को अन्योयाश्रित सम्बन्ध थियो ।

एमाले खुला राजनीतिमा आएपछि साख जोगाउने कार्यमा पार्टी नेतृत्व लागेको थियो । अल्पमतको सरकार बनाउने बेलासम्म पनि पार्टीले राजनीतिक र व्यक्तिगत इज्जत जोगाउनुपर्ने स्कुलिङलाई अघि बढाएकै हो । त्यसले पनि एमालेको जुलुसमा उल्लेख्य कार्यकर्ता र समर्थकको सहभागिता हुन्थ्यो । त्यो बेलासम्म पार्टीका विभिन्न फ्रयाक्सनले नेता तथा कार्यकर्ताको हाजिरी लिन्थे र पार्टी संगठनलाई रिपोर्टिङ गर्थे । त्यो पनि नेता तथा कार्यकर्ताको मूल्यांकनको एउटा मापदण्ड हुन्थ्यो । त्यसलाई पार्टीले कार्यकर्ताको प्रतिबद्धता र आदर्शको रूपमा हेथ्र्यो । तर, अहिले ती सबै प्रतिबद्धता, आदर्श र विश्वास लगभग खरानी बनेको अवस्था छ ।

नेतृत्वको क्रियाकलापलाई नजिकबाट नियालेका कार्यकर्ताले यतिखेर जुलुसमा जानुलाई नेताको स्वार्थका निम्ति आफू सती गएको अर्थमा बुझ्न थालेका छन् । नेतृत्वले आफू, परिवार र नातागोता पोसेको देखेपछि कार्यकर्ताले पनि जुलुस वा आमसभामा जाँदा आफूलाई के मिल्छ ? भनेर सोच्न थालेका छन् । यता नेतृत्वको होडबाजी पनि आफूले के पाउँछु भन्ने सिद्धान्तमा टेकेर भइराखेको उनीहरूले देखेका छन् । कार्यकर्ताले कतिसम्म विश्लेषण गरेको पाइन्छ भने ‘स्वार्थमा उभिएको नेतृत्वलाई मैले मात्र किन निःस्वार्थ सहयोग गरुँ ?’

पछिल्लो समय जुलुस वा आमसभामा गएर चर्का नारा लगाउँदा वा प्रदर्शन गर्दा सत्ता वा नेताको नजिक रहेर भोलि केही हात पार्न सकिने मनोविज्ञानले काम गर्दै गएको देखिन्छ ।

दैनिक गुजार गर्ने वर्गले पनि जुलुस र आमसभाले खासै राहत नदिने भएकाले त्यसलाई अँगाल्ने कुरै भएन । पार्टीभित्र वा बाहिर रहेका केही स्वाभिमानी र क्षमतावान् मानिसले पनि जुलुस र आमसभाको उपस्थितिलाई चाकडी र चाप्लुसीको अर्थमा बुझ्न थालेपछि उनीहरूले नीच मार्न थालेका हुन् । यसबाट अहिलेको अवस्थामा कोही पनि जुलुस वा आमसभामा जानुलाई ‘उसमा कुनै क्षमता नभएको, ज्ञान पनि नभएको तर चाकडी र चाप्लुसीबाट आफ्नो स्वार्थपूरा गर्न लिप्त रहेको’ अर्थ लाग्न थालेको छ ।

स्वयं कम्युनिष्ट पार्टीभित्र नै क्षमताको कदर हुन छाडेपछि विद्वान् र क्षमतावान कार्यकर्ता तथा समर्थक तथा शुभेच्छुकको उपस्थिति पातलिएको बताइन्छ । नेकपाको उदाहरण लिने हो भने पनि पछिल्ला दिनमा आफन्त भएकै कारण महेश दाहालले अष्ट्रेलियाको राजदूत पड्काए । बा भन्ने गरेकै कारण नीरु पालले सांसद र संसदीय दलको सभापति पाइन् । सामाजिक सञ्जालमा प्रचण्डको उग्र विरोध गरेको क्षमताको कदर गर्दै गुरु भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक बनाइयो । तर, पार्टीप्रति प्रतिबद्ध क्षमतावान, त्याग र बलिदान गरेका कार्यकर्ता ती उछिट्याइएका अवसर हेर्नमै बाध्य छन् ।

राज्यमा झैँ पार्टीभित्र पनि दण्डहीनताले पराकाष्ठा नाघेको छ । सांसद अपहरणमा मुछिएका महेश बस्नेत, किसान श्रेष्ठलाई उल्टै राज्यले संरक्षण दियो । पार्टीभित्र उत्पन्न अन्तरविरोध साम्य पार्न उनैलाई वामदेव गौतमसँग वार्ता गर्न बालुवाटारले नै खटाइदियो । झापा आन्दोलनमा प्रधानमन्त्रीसँग सँगै खटिएर दिलोज्यान दिएका घनेन्द्र बस्नेत, नरेश खरेल, मनकुमार गौतमहरूलाई पाताल पु¥याइयो । प्रधानमन्त्रीसँग नजिक रहेका कारण देवेन्द्र घिमिरेलाई राष्ट्रिय सभाको सांसद र नेकपाको झापा जिल्ला इञ्चार्ज बनाइएको छ । यसरी नेकपाभित्र अहिले सामान्य आलोचना गर्नेलाई जरो किलो उखेल्ने र चाकडी गरेपछि बढुवा र अवसर दिने मोहनविक्रम सिंह शैली अपनाइएको छ ।

यता, श्रीलंकाको राजनीतिलाई हेर्ने हो भने लिट्टे नेता प्रभाकरणलाई महान नेता ठानेर ज्यानै अर्पण गर्न तयारहरूको संख्या लाखौं थियो । एक समय प्रचण्डलाई ज्यान दिन तयार यही नेपालमा लाखौँ थिए । उता, इरानका धार्मिक नेता आयातोल्ला खुमेनीलाई ज्यान दिन तयार कट्टरवादीहरू हजारौं रहेको बताइएको छ । तर, राजनीतिक नेतृत्वलाई विश्वास गरेर विगतमा झैं उग्र समर्थन गर्नेहरू नेपालमा झैं विश्वमै कमी आएको देखिन्छ । यसले समग्र राजनीतिप्रति नै वितृष्णा जागेको हुन सक्ने अड्कल गर्न गाह्रो छैन ।

राजनीतिमा आएको पछिल्लो परिवर्तनलाई पोष्ट मोडर्निज्म भनिएको छ । यसले विचारहरू क्रमशः समाप्त हुँदै जाने मान्यता राख्छ । हुनतः विचारहरू आफैँमा सकिनेचाहिँ होइनन् । मानिसका व्यवहार, चालचलन, सामाजिक सम्बन्ध र परिवेशबाट विचारहरू परिवर्तन वा प्रभावित नहुने अवस्थाचाहिँ बनेकै हो । भौतिक परिवेशले विचार परिवर्तनमा खासै असर पारेको छैन । त्यसैलाई आधार मान्दै पोष्ट मोडर्निज्मका दार्शनिकहरूले एउटा निश्चित समयपछि विचारहरू शून्य हुन्छन् वा सकिन्छन् भन्ने मान्यता राखेका हुन् । उनीहरूले एउटा अवधिपछि सबै खालका दर्शन पनि सकिने विश्वास लिएका छन् । तर, त्यसलाई सही मान्न सकिँदैन । मानिसको भौतिक परिवेशले उक्त अवस्थाको पूर्व संकेतचाहिँ गरेको मान्न सकिन्छ ।

विचार, मूल्य, मान्यता, आदर्श र सिद्धान्त जहिले पनि समाज सापेक्ष हुन्छन् । ऐतिहासिक द्वन्द्वात्मक र भौतिक द्वन्द्वात्मकवाद भनेको एउटा विज्ञान हो । यसले हिजोको समाज जहाँ थियो, उक्त समाजमा रहेका अन्तरविरोधहरू जहाँ थिए त्यही दर्शन, त्यही सिद्धान्त, त्यही मूल्य, मान्यता र आदर्शलाई आजको युगमा पनि सँगै हिँडाउने चेष्टा गर्ने हो भने त्यो काम लाग्दैन । यसो भन्नुको अर्थ समाज समय सापेक्ष भएन भन्ने नै हो ।

जस्तो डेनमार्कमा कम्युनिष्ट पार्टीले आफूलाई रूपान्तरण गरेर ‘रेड ग्रिन एलायन्स’ पार्टी बनाएको छ । उनीहरू माक्र्सवादी हुन् । संसद्मा उक्त चार जना सांसद छन् । उनीहरूले नेपालजस्तो देशमा पनि कसरी माक्र्सवादलाई अघि बढाउन सकेको भनेर जिज्ञाशा राखेका छन् । डेनमार्कजस्तो देशमा उनीहरू अहिले पनि सामुहिक सेल्टरमा बसेर पार्टीको काम गर्छन् । डेनमार्कमा सांसदको तलब र भत्ता ८० हजार डेनिस क्रोनर छ भने मजदुरको ३० हजार । त्यसैले ती सांसदले पनि मजदुरसरह ३० हजार बुझेर बाँकी पार्टी कोषमा दाखिला गर्छन् । उनीहरूले विगतको माक्र्सवादलाई पछ्याएर त्यसो गरिएको बताउने गरेका छन् । तर, समयसापेक्ष समाज र विचारसँग तालमेल मिलाउन नसक्दा त्यत्ति राम्रो कम्युनिष्ट अनुशासनले पनि डेनमार्कमा धेरैलाई आकर्षित गर्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो अंगको अब आफैं गरौं चिरफार
दुवै हठको उपचार के ?
दुलही नपाएरै हो त दुखेसो ?
दुई तिहाईका आन्तरिक दुःख