ओलीको अयोध्या र दिल्लीको फोन « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

ओलीको अयोध्या र दिल्लीको फोन



मंगलबार बिहानै दिल्लीबाट पुराना मित्रको फोन आयो । उनी विदेश मन्त्रालयमा काम गर्छन् । पहिले संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्थे, अहिले साउथ ब्लकमा हुने संवेदनशील घटनामा विशेष भूमिका निर्वाह गर्छन् । फोनमा भन्दै थिए– अरू त ठीकै हो तर अब अति नै होलाजस्तो छ, मोदी भनौँ वा भाजपाको सार नै राममा अडेको छ, त्यही रामवाणमा आघात पुग्नेगरी बोलेपछि भारत व्यवहारिक रणनीतिमै उत्रन सक्नेछ ।

अयोध्या ठोरीमा पर्छ, राम नेपाली हुन् भनेर फेरि एकपल्ट स्कुप पस्कने ओलीको अलंकारलाई भारतीय मिडियाले भरपुर उपयोग गरेका छन् । रामभक्त वा हिन्दू अतिवादीका रूपमा विशेषण पाएको भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीका लागि पक्कै पनि सुसमाचार भएन होला यो । लामो कालखण्ड गुजारेको हिन्दू–मुस्लिमको अयोध्या विवादले राममन्दिर र बाबरी मस्जिदको छिनोफानो आंशिक रूपमा गरे पनि रामको जन्म वा राष्ट्रियतालाई लिएर ओलीले बोलेको कुराले सरोकारका व्यक्तिहरूलाई जरैदेखि हल्लाउने निश्चित छ । केही दिनअघि मात्र भारतीय सिने कलाकार अमिताभ बच्चन र उनका छोरालाई कोरोना पुष्टिपछि स्वास्थ्यलाभको कामना गर्ने ओलीको बोली चौबिस घण्टा नबित्दै भगवान् रामको नागरिकतालाई लिएर प्रकट भयो । प्रधानमन्त्रीजस्तो पदको दुरूपयोग कहिले बेसारजन्य पदार्थ त कहिले सिंहमेव जयतेको रुपमा भएको छ । हिन्दू धर्मका हिमायतीलाई ठेस पुगेको छ । नेपालमा पनि दिनहँु कोरोना संक्रमितको संख्या बढ्दो छ तर प्रधानमन्त्रीजस्तो सर्वाधिक जवाफदेही व्यक्ति प्रसंग नभएका अतिरञ्जित र आपसी सम्बन्धमा खलल पु¥याउने आरोप÷प्रत्यारोपमा उत्रनुले राम्रो सन्देश जाँदैन ।

भर्खरै मात्र चिनियाँ राजदूत र ओलीको सम्बन्धलाई लिएर आधारहीन मनगढन्ते समाचारले बजार तताउने भारतीय मिडियालाई रोक्न नेपाल सरकारले गरेको पहलकदमी ठीक हो, भारतीय सञ्चारमाध्यमको अवरुद्धताले पक्कै पनि नेपाली दर्शक तथा पाठकलाई स्वस्थ, तन्दुरुस्त राख्ने नै छ तर त्यससँगै अन्य भारतीय सिनेमा र सबैखाले अखाद्य तत्वमाथि पनि पूर्णरूपमा बन्देज लगाइनुपर्छ । सारमा हेर्ने हो भने नेपालीको जीवनशैली, नेपाली मिडियाको प्रस्तुति र नेपाल प्रहरी तथा सेनाको अवस्था तात्विक रूपमा भारतीयको भन्दा निकै गहन, परिस्कृत र पारदर्शी छ, यसको गरिमालाई कायम गर्न सरकारमा बसेका व्यक्तिको पनि गम्भीरतापूर्ण भूमिका आवश्यक रहन्छ । पार्टी चलाएजस्तो, भ्रातृसंगठनमा भाषण गरेजस्तो हलुका रूपमा अभिव्यक्ति दिनु पक्कै पनि देशहितमा हुनेछैन । हाड नभएको जिब्रो न प¥यो भनेर पन्छने दाउ सुरक्षित भए पनि कतिपय अवस्थामा भए/गरेका गल्ती क्षम्य हुने छैनन् ।

यसबीच भारतसँग भएका असमान सन्धि विशेषगरी, कोशी, महाकाली, गण्डक, लक्ष्मणपुर आदि बाँधहरूका कारण हजारौं बिघा जग्गा डुबानमा परेको अवस्थाको पुनर्मूल्यांकन गर्नु र कोरोनासँगको लडाइँमा ऐक्यबद्धता जनाउनु पो बुद्धिमानी कदम हो । बितेका दशकमा वा ओलीकै राजनीतिक क्यारियरमा भएका असमान सन्धि–सम्झौताका पाना पल्टाउनु र जहाँबाट बिग्रेको छ त्यहीँबाट सप्रन खोज्नु पो अहिलेको आवश्यकता हो । भगवान् रामप्रतिको सम्मान आफ्नो ठाउँमा छ तर तीभन्दा पछिका गौतम बुद्धलाई विवादमा तानिसकेको भारतलाई मिथ बनिसकेका, कुनै प्रमाण र तथ्यबिनाका कुरा अघि सारेर भानुभक्तको टोपीमा आफ्नो दाबी गर्नु लोक हँसाउनु मात्रै हो । इतिहासका तथ्यलाई विज्ञ समूह बनाएर साँस्कृतिक अतिक्रमणमाथि के–के भयो भनी कार्य जिम्मेवारी दिनुपर्नेमा ओली आफैँ विवादास्पद र प्रसंगबिनाका विषयलाई चर्चामा ल्याउने र कुर्सी टिकाइराख्ने दाउमा लाग्ने हो भने भारतले सधँै भनिरहनेछ, यो चीनको अर्काे घोचो हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वामदेवको अबको बाटो
प्रम ओली र मोदीबीच फोनवार्ता
कमरेडहरुले किन पढ्न छाडे कुन्नि !
कम्युनिस्टमा टाइम टाइम कि बात