‘भाञ्जी पोखरा आउन त, एकछिन भेटौं’

‘भाञ्जी पोखरा आउन त, एकछिन भेटौं’

एसएसपी दर्जाको हाकिमलाई इन्स्पेक्टर दर्जाको प्रहरीले समात्यो, त्यो पनि भागेको हैन, दुई घण्टादेखि लुकेको अवस्थामा ।

‘भाञ्जी’ नाता लगाएर सम्बोधन गर्ने युवतीसँग यौन सम्पर्कपछि उत्पन्न तनावको स्थितिमा सशस्त्र प्रहरीका एसएसपी राजेन्द्र अधिकारी त्यसरी पर्खालमा लुकेका हुन् । हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन, पोखरामा कार्यरत अधिकारीले त्यहाँबाट सरुवा भएर हिँड्नुअघि चितवनमा रहेकी ती ‘भाञ्जी’ लाई हिजो पोखरा बोलाएका थिए ।

बुधबार बिहान साढे आठ बजे युवती एसएसपीको आवासमा छिरेकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार,उनीहरुबीच लामो समयदेखि सम्पर्क रहँदै आएको थियो । तर,बुधबार भने बिहानैबाट शुरु भएको मदिरा सेवनका कारण कुनै विषयमा विवाद उत्पन्न हुन पुग्यो ।

युवती पोखरा पुग्नु,एसएसपीको आवासमा छिर्नु,भित्र मदिरा सेवन गर्नुजस्ता घटनाक्रम त्यतिबेलासम्म गुपचुप रह्यो,जतिबेला अर्थात दिउँसो पौने २ बजेसम्म प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गएन । ‘कोठाभित्रै बन्धक रहेको,बाहिर चुक्कुल लगाइएको’ व्यहोराको मौखिक उजुरी प्रहरी कन्ट्रोलले पाउनासाथ इन्स्पेक्टर प्रकाश थापाको कमाण्डमा इप्रका रामबजारको टोली घटनास्थल पुगेको थियो । उनीहरु गएको केहि समयपछि सशस्त्रका गण्डकी प्रदेश प्रमुख (डिआइजी) कविन्द्रमान श्रेष्ठ र एसएसपी जयबहादुर खड्का पनि कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठलाई लिएर त्यहाँ पुगे ।

युवतीले कन्ट्रोललाई एसएसपी अधिकारीले आफ्नो लुगा च्यातिदिएको भनेकी थिइन् । तर,प्रहरी पुग्दा अर्को लुगा लगाइसकेकी थिइन् । प्रहरीले च्यातेको लुगाबारे सोधेपछि उनले सो लुगा देखाइन्,जुन थोरैमात्र च्यातिएजस्तो देखिन्छ ।
उनको शरीरमा घाउ,चोटपटक भने छैन । प्रहरी पुग्दासम्म उनी रहेको कोठाको ढोका खुलिसकेको थियो,भित्रबाट जाली ढोका भने लगाइएको थियो । ढोका खुलेपछि युवती स्कुटी लिएर निस्किन खोजिन् ।

प्रहरीको घटनास्थल मुचुल्काको साथमा फुटेका कप,मदिरा सेवनमा प्रयोग हुने ग्लास,बिर्य लत्पतिएको तन्नाजस्ता सबुतहरु बरामद गरिएको छ । प्रहरीले बुधबार नै परीक्षणका लागि युवतीको भेजिनल स्वाब संकलन गरी काठमाडौंस्थित विधि विज्ञान प्रयोगशाला पठाएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार,उनीहरुबीच नियमित यौन सम्पर्क हुने गरेको,तर पोखराबाट सरुवा भएर जाने भएपछि एसएसपीले युवतीका कुनै मागहरु पूरा नगरिदिँदा त्यस्तो घटना भएको हुनसक्छ । अनुसन्धानकर्ताहरुको अनुमानअनुसार,उनीहरुबीच खानपिन र यौन सम्पर्क भइसकेपछि विवाद भएको हुनुपर्छ । यदि,अगाडि नै विवाद भएको भए स्खलित बिर्य संकलन हुन सक्दैनथ्यो । यौन सम्पर्कप्रति युवतीको अनिच्छाका बाबजुद एसएसपीले कसुर गरेका थिए भने युवती वा एसएसपीको शरीरमा घाउचोट देखिनुपर्ने प्रहरीको भनाइ छ ।

पक्राउ परेको समयमा एसएसपी निवासकै कम्पाउण्ड वालमा लुकेका थिए,उनको मुखबाट मदिराको गन्ध प्रष्टसँग फैलिएको थियो । आफ्नै सरकारी निवासमा युवती बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका अधिकारीले हिजै ती युवतीलाई चितवनबाट बोलाएको तथ्य खुलेको छ । अन्दाजी सत्ताईस वर्षकी युवती लकडाउनको समयमा पनि सबेरै स्कुटर चढेर भरतपुरबाट साढे आठ बजेसम्ममा त्यो पनि एक्लै पोखरा पुग्नु अर्को रहस्यमय देखिन्छ ।

एसएसपीले अस्ति राती ‘भाञ्जी पोखरा आउन त, एकछिन भेटौं’ भनेपछि आफू चितवनबाट बिहानै स्कुटरमा पोखरा हान्निएको घटनास्थल पुगेको प्रहरी टोलीलाई युवतीले बताएकी छिन् । उनले टोलीलाई ‘खानपिन चल्दै थियो,एक्कासी मेरो लुगा च्यातेर अश्लिल गतिबिधि थाल्यो’ भनेपछि महिला प्रहरीले ‘बाहिरको कपडा सहि सलामत देखिएपनि युवतीको भित्री वस्त्रचाँहि केही च्यातिएको’ बताएका थिए । दिउँसो १ बजेतिर दुई जनाबीच हानाहान भएपछि सशस्त्रका सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका थिए । कोठामा प्रयोग गरिएका तीन वटा भियाग्रा चक्कीको खोल भेटिएबाट एसएसपीले उन्मादमा असह्य अत्याचार गरेको देखिन्छ !

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ‘दुई जनाबीच पहिले गलफत्ति बढेर हानाहानको स्थिति बनेपछि अधिकारीले युवतीको फोन कब्जामा लिएको र पछि कुरो मिलाउने र मिल्ने शर्तमा युवतीको फोन फिर्ता गरेको’ हुनुपर्छ  । बाहिरबाट ढोका लगाएर भित्र युवतीलाई एक्लै राखेपछि उनले भित्रैबाट नेपाल प्रहरीको कन्ट्रोल रुमको १०० र अन्यत्र खबर गरेको अनुसन्धानबाट खुलेको छ । डेढ बजेतिर एसएसपी निवास पुगेको नेपाल प्रहरीको टोलीसँग युवतीले आफूलाई केहीबेर निवासभित्रै बन्धक बनाएर राखेको बताइन् । एसएसपी निवासको ढोका बाहिरबाट लक गरिएकाले आफूलाई बन्धक बनाइएको उनले बताएकी हुन् ।

प्रहरी स्रोतले भनेको छ ‘टेबलको सिसा,गिलास,प्लेट अधिकांश फुटेको र अन्य सामान लथालिङ्गको अवस्थामा थियो । बेडमाथि ब्लाङ्केट पनि मान्छे सुत्ने बेलामा फैलाएझैँ देखिन्थ्यो ।’

टिप्पणीहरू