यस्तो छ नेकपाको गुदी कुरो

यस्तो छ नेकपाको गुदी कुरो

पटक पटक स्थगित गरेर नेकपा स्थायी समितिको बैठक भोलि बोलाइएको छ । त्यसअघि आज बिहान साढे एघार बजे बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएको छ ।

उता,महासचिव विष्णु पौडेलले फेरि नयाँ जुक्ति अघि सार्नुभएको छ । स्रोतका अनुसार उहाँले केपी ओलीलाई प्रधानमन्त्री,माधव नेपाल र प्रचण्डलाई अध्यक्ष बनाएर भएपनि समस्या समाधान गर्नुपर्ने नयाँ उपाय सुझाउनुभएको हो । तर, प्रधानमन्त्री आफ्नो अडानमा टसको मस नभएपछि पौडेलको नयाँ जुक्तिले पनि घिऊ नलाग्ने स्पष्ट छ । पौडेलले प्रधानमन्त्रीलाई नेकपाभित्रको अन्तरबिरोध समाधान गर्ने हो भने राजमार्ग छाडी भीरको बाटो समातेको भन्दै वरिष्ठ नेपाललाई व्यवस्थापन गर्नैपर्ने बताउनुभएको चर्चा छ ।

पछिल्लो जानकारीअनुसार प्रचण्डले प्रधानमन्त्रीलाई दुईमध्ये एक पद छाड्नको लागि ‘च्वाइस’ दिनुभएको छ । बाहिर जे बोलेपनि त्यसपछि भने प्रधानमन्त्री थप निराश बन्नुभएको स्रोतको दाबी छ । प्रधानमन्त्रीले एकोहोरो राजनीति अध्यादेशको अस्त्र फ्याँकेर दल विभाजनको धम्की दिएपछि प्रचण्ड र माधव नेपाल समूहले अन्ततः केन्द्रीय समिति बोलाएर पार्टीबाट अध्यक्ष हटाउनुको विकल्प नभएको निश्कर्ष निकालेको छ । यो मात्रै नेकपालाई विभाजनबाट जोगाउन सकिने उत्तम उपाय रहेकोमा अधिकांश सहमत देखिन्छन् ।

प्रधानमन्त्री निकटबाहेक अन्य सबैले केन्द्रीय समितिबाट आवश्यक निर्णय गर्नुपर्ने विषय उठाएपनि प्रधानमन्त्री अन्तिम हतियारको रूपमा अध्यादेश जारी गर्ने मूडमा हुनुहुन्छ । त्यसो हुँदा अहिले भारतसँग सन्तुष्ट नरहेका शेरबहादुर देउवाले स्वतः आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्ने अवस्था रहेको र एकाध महिनापछि ‘देखा जायगा’ भन्ने बालुवाटारको निश्कर्ष छ । तर, पार्टीभित्रको असन्तुष्ट समूह भने प्रधानमन्त्रीमा निरन्तरता दिने तर अध्यक्षबाट हटाएर भएपनि नेकपा विभाजनको अवस्थालाई टार्ने रणनीतिमा देखिन्छ ।

भोलिको बैठक के हुन्छ ?

भोलि बोलाइएको स्थायी समितिको बैठक बस्ने पक्कापक्की जस्तै छ । सहमतिको नाममा महासचिव विष्णु पौडेलको जोडबलमा पर धकेलिँदै आएको बैठकमा भोलि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर आफ्नो मन्तव्य राख्ने सम्भावना छ । प्रधानमन्त्रीले सम्भवतः ‘तपाईंहरू ढुक्क हुनुहोस्, पार्टी फुट्दैन, हामी अहिलेको समस्यालाई पार लगाउँछौं । दुई, चार दिन अझै समय लाग्ने भएकाले बैठक स्थगित गरौं’ भनेपछि लामै समयको लागि बैठक स्थगित हुने सम्भावना पनि छ ।

टिप्पणीहरू