गठबन्धनको जीत सुनिश्चित रहेको शीर्ष नेताहरुको दाबी

गठबन्धनको जीत सुनिश्चित रहेको शीर्ष नेताहरुको दाबी

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले आगामी आइतबार हुने संसदीय निर्वाचनमा आफ्नो पक्षको जीत निश्चित रहेको बताएका छन् । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापतिलगायतले आज जारी गर्नुभएको संयुक्त अपीलमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै उक्त दाबी गरिएको हो ।

नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा देशभर जनलहर आएको र नेता तथा कार्यकर्ताहरु उत्साहित भएर सहभागी भएकाले जीत सुनिश्चित रहेको बताइएको छ । गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेको उल्लेख गर्दै भनिएको छ, ‘स्थानीय निर्वाचन र यो आमनिर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन् ।’ 

गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावनाअनुरुप राजनीतिक स्थायित्व दिने ठहर गरिएको छ ।

प्रधानमन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’

टिप्पणीहरू