सहसचिव गणेशराज वस्तीको संर्घष !

सहसचिव गणेशराज वस्तीको संर्घष !

नेपाल सरकारका सहसचिव (प्राविधिक) गणेशराज वस्तीको पहिचान अब कुशल इञ्जिनियरको रूपमा मात्र सीमित रहेन । हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रोजेक्ट प्रमुख रहेका उनी आधा दर्जन कृतिका लेखक हुन् । कवि, नियात्राकारका रूपमा परिचित बस्तीले ०७१ सालदेखि यता नियमित हर वर्ष कुनै न कुनै कृति बजारमा पाठकसामु पस्कँदै आएका छन् । मनको आँधीमार्फते कविको रुपमा दर्ज भएका बस्तीको नियात्रा ०७५ सालमै बजारमा आइसकेको छ । आफ्नै जीवनका अनुभव, अनुभूति समेटेर संघर्ष (संस्मरण) निकालेका छन् ।

स्कुले जीवनमै शिक्षक भएर अध्यापन गराउँदाका अनुभूति, आफूलाई पढाउने शिक्षकसँग आफू पनि शिक्षक हुँदा लागेको धक संस्मरणमा पढ्न पाइन्छ । मनभरि सपना बोकेर राजधानी प्रवेश गर्दा भोगेको सास्ती र हैरानीलाई उनले पुस्तकमा उतारेका हुन् । विशेष गरी पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दाका अनुभव र अनुभूतिहरू रोमाञ्चक छन् ।

यही बीच ओभरसियरको रूपमा एक वर्ष करारमा काम गर्दाका सुख दुःख, लोकसेवामा भिड्दाका महासागरीय यात्रा । त्यहाँ आफ्नै साथीहरूसँग प्रतिस्पर्धा, लोकसेवामा भिड्दाको समस्यालगायत विषयवस्तु र सरकारी सेवामा प्रवेश गरेपछि उपसचिव र सहसचिव हुँदाका अनुभवलाई पुस्तकमा लिपिबद्ध गरेका छन् । अरूका संघर्ष र सफलता पढ्न चाहनेहरूका लागि यो कृति रुचिकर र पठनीय छ ।

टिप्पणीहरू