कर्मचारीबाट ठगिए मन्त्री

कर्मचारीबाट ठगिए मन्त्री

सहरी विकास मन्त्री छन्, वसन्त नेम्वाङ र राज्यमन्त्री रामवीर मानान्धर । तर, यी दुईलाई मन्त्रालयभित्र के–के हुँदैछ भन्नेबारे जानकारी दिइन्नँ । यस्तो भूमिकामा छन्, सचिव मधुसूदन अधिकारी, सहसचिव कृष्णप्रसाद दवाडी र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल ।

उपेन्द्र यादवले ओली सरकार छाड्नुअघिका मन्त्री मोहम्मद इस्तियाक राइनको पालामा सचिव भएका अधिकारी, मन्त्रलायको प्रशासन महाशाखामा सरुवा भएर आएका कांग्रेस पृष्ठभूमिका दवाडी र महानिर्देशक भएका गेलालले मन्त्री नेम्वाङ र मानान्धरलाई कुनै पनि जानकारी नदिई मन्त्रालय र विभागमा हुने नियुक्ति, सरुवा र वजेट विनियोजन गर्दै आएका हुन् । आफू मुख्य सचिव हुने पक्का भएको र प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको विश्वासपात्र भएको भन्दै मन्त्रालयदेखि विभागमा कर्मचारीवीच सचिव अधिकारीले मनोवैज्ञानिक त्रास सिर्जना गर्दै आएका छन् ।

सचिव अधिकारीले मनोवैज्ञानिक आतंक सिर्जना गरी अघिल्ला मन्त्रीको पालामा प्रेस संयोजक भएका दिनेश पाण्डेलाई भवन विभागमा लकडाउनको बीचमा विज्ञापन सिर्जना गरेर नियुक्त गर्ने तयारी गरेका छन् । साउन १ देखि लागु हुने उक्त नियुक्तिका सबै काम सकिएका छन् । यस्तो कुरा अन्यत्रबाट सुनेपछि मन्त्रीले महानिर्देशक गेलाललाई सोधे । उनले ‘तीन महिना पहिल्यै भइसकेको’ भन्दै आफू टक्टकिए । तर, उनको नियुक्ति हालसालै भएको हो । यसरी मन्त्री र राज्यमन्त्रीलाई दिनदहाडै ठगेर गरिएको यो नियुक्तिपछि अब पाण्डेले महिनाबारी १ लाख २० हजार तलब पाउँछन् ।

त्यसैगरी, भवन विभागको कन्सल्टेन्सी, डकुमेन्टीको समेत काम गर्दै आएका पाण्डेको फर्जी विल भुक्तानी गर्न नमानेपछि सचिव अधिकारीले भवन विभागमा प्रशानस शाखा हेर्दै आएका खेमराज उपाध्यायलाई मन्त्रालय सरुवा गरेका छन् । महानिर्देशक गेलालले भक्तपुरका सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालको मान्छे भएका कारण कसैले हल्लाउन नसक्ने भन्दै हिँड्ने गरेका छन् । सचिव अधिकारीले पूर्वमन्त्री राईको चाकडीका लागि गरेका काम देखेर कर्मचारीहरु लज्जित छन् ।

टिप्पणीहरू