नबिलले उडायो राष्ट्र बैंकको धज्जी

नबिलले उडायो राष्ट्र बैंकको धज्जी

नबिल बैंकले पटक पटक नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनको धज्जी उडाउँदै आएको छ । पछिल्लो पटक फेरी उक्त निर्देशन अन्तर्गतको संस्थागत सुशासन र सम्बन्धित ऐनका कतिपय व्यवस्थाको पालना नगरेको पाइएको छ । बैंकका अधिकांश कार्यक्रम सञ्चालक समितिका सदस्य निर्वाण कुमार चौधरीको पारिवारिक लगानी रहेको होटलमा सञ्चालन गर्नु संस्थागत सुशासन विपरीतको कार्य भएको स्रोतको दाबी छ ।

नबिल बैंकमा निर्वाणसहित चौधरी ग्रुपको ५३ प्रतिशत भन्दाबढी सेयर स्वामित्व छ । त्यसमध्ये चौधरी ग्रुपको बंगलादेशस्थित एनबी इन्टरनेशनलको नाममा ५० प्रतिशत छ । त्यस्तै, चौधरीको एकाघर परिवारका आफू, वरुण, सारिका र राहुलको नाममा ३.११ प्रतिशत सेयर छ । उता, ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता पनि चौधरी ग्रुपकै लगानीमा खोलिएको हो । नबिलका सञ्चालक निर्वाण चौधरी ग्रुपको प्रबन्ध निर्देशक पनि हुन् । बुबा तथा काँग्रेस सांसद विनोद चौधरी सीजी ग्रुप र चौधरी हस्पिटालिटीका अध्यक्ष हुन् भने भाई राहुल हस्पिटालिटीका प्रबन्ध निर्देशक हुन् । होटल भिभान्ता सीजी ग्रुपअन्तर्गतको चौधरी हस्पिटालिटीको लगानीमा सञ्चालित छ । यसबाट विनोद, निर्वाण र राहुल कानुनतः एकाघर र एउटै व्यापारिक घरानाको रहेको स्पष्ट हुन्छ ।

तर, राष्ट्र बैंकको निर्देशन विपरीत नबिलले पछिल्लो समयमा सबै कार्यक्रम सञ्चालक चौधरीको लगानी र व्यापारिक स्वार्थ रहेको होटल भिभान्तामा आयोजना गरेको पाइएको छ । पछिल्लो पटक बैंकले भिभान्तामा फागुन २२ गते ३२ जना कर्मचारीको सहभागितामा कार्यक्रम आयोजना गरेको थियो । त्यसदिन बैंकको मानवस्रोत शंसाधन विभागले काठमाडौं उपत्यकास्थित शाखा मेनेजरहरूलाई लक्षित गरेर ब्रेकफाष्ट र लन्चसहितको ‘परफरमेन्स रिभ्यु मिटिङ्ग’ को आयोजना गरेको हो । तर, सञ्चालक समितिका सदस्यहरूको व्यावसायिक स्वार्थ गाँसिएको त्यस्ता कार्यक्रमले केन्द्रीय बैंकको निर्देशनबमोजिमको संस्थागत सुशासनको गम्भीर उल्लंघन भएको स्रोतले दाबी गरेको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशनको संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको बुँदा १ को उपबुँदा १ (ख) मा ‘कुनै व्यक्ति सञ्चालकमा नियुक्त भएपछि कार्यभार सम्हाल्नुभन्दा पहिले आफ्नो संस्थासँग वित्तीय स्वार्थ भए/ नभएको कुरा सञ्चालक समितिलाई लिखित रूपमा जानकारी गराउनुपर्ने’ उल्लेख छ । सोही बुँदाको २ (ख) मा ‘सञ्चालक निजको वित्तीय स्वार्थ रहेको ग्राहकसँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनुहुँदैन’ भनिएको छ ।

त्यसैगरी, बुँदा ५ मा स्पष्टसँग लेखिएको छ ‘इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्रप्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन ।’ तर, सञ्चालकको लगानी रहेको होटलको व्यवसाय बढाउने स्वार्थसँग अन्य विषयका कार्यक्रमसँगै बैंकले तय गर्ने कर्मचारी दक्षता अभिवृद्धि सम्बन्धी कार्यक्रमसमेत जोडिन पुगेको छ । सोही निर्देशनको बुँदा ६ मा ‘कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षको कुल तलब, भत्ता खर्चको न्यूनतम तीन प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्चिनुपर्ने’ उल्लेख छ ।

नबिलका पछिल्ला घटनाक्रम र राष्ट्र बैंकको निर्देशन र व्यवस्था विपरितका गतिबिधिले नबिलका सञ्चालक निर्वाण र चौधरी ग्रुप दुबै आफ्नो व्यावसायिक स्वार्थमा लिप्त रहेको देखाएको छ । उता, केन्द्रीय बैंकले अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीको वृत्ति विकासको लागि गरिदिएको बाध्यकारी व्यवस्थासमेत यतिखेर चौधरीको लागि ‘बाख्राको पुच्छर काट्दा बोकालाई खुदो’ भनेझैँ भएको छ ।

नबिलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को समेत उल्लंघन गरेको छ । ऐनको परिच्छेद १ को प्रारम्भिकअन्तर्गत दफा २ को परिभाषा र परिच्छेद ४ को दफा १४ मा रहेको सञ्चालक समितिको गठनमा उल्लेख नगरिएको उपाध्यक्ष पद नबिलको सञ्चालक समितिमा मात्र देखिन्छ । ऐनले सञ्चालक समितिमा अध्यक्ष, सदस्य र वैकल्पिक सदस्य बाहेक अन्य कुनै पदको परिकल्पना नै गरेको छैन । तर, नबिल बैंक सञ्चालक समितिमा निर्वाण कुमार चौधरीलाई बकायदा उपाध्यक्षको हैसियत दिइएको छ । राष्ट्र बैंक सुपरीवेक्षण विभागले गरेको पटक पटकको स्थलगत सुपरीवेक्षणमा ती सबै कर्तुतलाई आँखा चिम्लेर सदर गरिदिएपछि नबिलले पनि गैरकानुनी कार्यलाई निरन्तरता दिएको बताइएको छ ।

टिप्पणीहरू