काउन्सिलको काम हेर्न मन्त्रीको आगमन

काउन्सिलको काम हेर्न मन्त्रीको आगमन

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । आज दिउँसो प्रेस काउन्सिलको सभाहलमा उहाँले सूचना प्रविधिको विकास,आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफै डिजिटाइज्ड हुनुपर्ने धारणा राख्नुभयो ।

सरकार डिजिटल फेमवर्कमा गैसकेकाले अबको काम कारबाहीमा पेपरलेस प्रविधिको अवलम्बन हुनुपर्नेमा उहाँको जोड थियो । डिजिटल नेपालको यात्रामा अगाडि बढ्नको लागि टिमवर्क बनाउनुपर्ने उहाँको धारणा थियो । मन्त्री खतिवडाले कारबाही भनेको दण्ड दिनुमात्र नभएकाले कानुनी राज्यमा कारबाहीसँगै नागरिकको हक हित संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । अहिले न्यु मिडियाको रूपमा आएका फेसबुक तथा युट्युब लगायतका सञ्जालबाट अराजकता मञ्चाउने काम भैरहेकाले यस्ता गतिविधितर्फ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । ” न्यु मिडियाबाट धेरै मानिसको मान,मर्यादामा आघात पुगेको, सामाजिक, राजनीतिक जीवनमा आँच आएको,मुलुक–मुलुकको सम्बन्धमा खलल पुग्ने गतिविधि भैरहेको प्रति समस्त सञ्चार जगतको ध्यानाकर्षण गराउनुभयो । मन्त्री खतिवडाले कारबाहीको काम काउन्सिलको भएकाले अरुको निगरानी गर्ने निकाय आफै सजग रहन सुझाव दिनुभयो ।

हालको सञ्चारसम्बन्धी कानुनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन पनि मन्त्री खतिवडाले आग्रह गर्नुभयो । उहाँले जिम्मेवारी र कामको बाडफाँड गर्नुपर्ने स्थिति आएमा पनि प्रकृति हेरेर गर्न सकिने स्पष्ट पार्नुभयो । उजुरी मात्रै गर्ने तर कारबाही नहुने भन्ने गुनासो नआओस् भन्दै उहाँले स्वतन्त्रताभित्र जवाफदेहिता पनि हुने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा पहिले १७ सय अनलाइन सूचिकरण हुँदा सूचना विभागमा ५ सय मात्र दर्ता भएको चर्चा गर्नुहुँदै काउन्सिलमा कानुनी संरक्षणको लागि र विभागमा प्रेस पासको लागि मात्रै दर्ता गराउने गरेको विगतको परिपाटीको चर्चा गर्नुभयो । उहाँले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसवीच भए गरिएका कामकारवाहीको बिषयमा जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका प्रमुख –प्रशासकीय अधिकृत झविन्द्र भुसालले यस बर्ष हालसम्मकै सबैभन्दा बढी अर्थात ७२० वटा विधुतीय माध्यम र १७९ वटा छापा माध्यमसम्बन्धी उजुरी आएको जानकारी दिनुभयो । उहाँले कोभिड –१९ को कहरवीच काउन्सिलको भूमिकासम्बन्धी जानकारी दिनुहुँदै ४ महिनाको अवधिमा १९७ वटा अनलाइनलाई स्पष्टिकरण सोधेको,दर्ता नभएका १०४ वटा अनलाइनलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको जानकारी पनि दिनुभयो । मन्त्री खतिवडाले मिडिया अनुगमन शाखाको अवलोकन गरी के कसरी अनुगमन हुने गरेको छ भन्ने चासो राख्नुभएको थियो । मन्त्रीको जिज्ञासावारे सूचनाप्रविधि,अभिलेख र आचारसंहिता अनुगमन (विद्युतीय) शाखा प्रमुख रामशरण बोहराले जानकारी दिनुभएको थियो ।

टिप्पणीहरू