जेल बनाउने काम धमाधम

जेल बनाउने काम धमाधम

कोरोना महामारीसँगै असारको शुरुदेखि सक्रिय मनसुनका कारण मुलुकभर बाढी,पहिरो र डुबानको डरलाग्दो प्रकोप देखिन थालेको छ । सरकारले प्रकोप व्यवस्थापनको लागि हालै गरेको विभिन्न निर्णयसँगै सुरक्षा निकायहरू आवश्यक समन्वय गरी अघि बढेका छन् । हालै गृह सचिवको अध्यक्षतामा बसेको सिनियर म्यानेजमेण्ट टिम (एसएमटी) को बैठकले सो सम्बन्धमा गरेको निर्णय कार्यान्वनका लागि नेपाल प्रहरीलाई विशेष निर्देशन दिइएको छ ।

बैठकले मनसुनबाट उत्पन्न हुनसक्ने सम्भावित प्रकोप व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि उपलब्ध स्रोत,साधन र जनशक्ति परिचालनको विपद् कार्ययोजना तर्जुमा गर्न सुरक्षा निर्देशन दिएको हो ।

त्यसैगरी, कोरोना महामारी नियन्त्रण र न्यूनीकरणका लागि सर्वत्र आवतजावत तथा भीडभाडजन्य क्रियाकलापलाई निरुत्साहन गर्न भनिएको छ । सवारी साधनलाई जिल्लाभित्र मात्र सेवा सञ्चालन गर्न र काठमाडौं उपत्यका छिर्ने नाकाहरूमा सवारी साधन र अन्य आवागमनमा थप कडाई गर्न पनि बैठकले निर्देश गरेको छ ।

बैठकले अग्र मोर्चामा खटिने सुरक्षाकर्मीहरूको कार्यसम्पादनलाई प्रभावकारी र नतिजामूलक बनाउन आचरण, अनुशासन, कार्यशैली तथा संस्कृति, सृजनशीलता, सकारात्मक सोच, समन्वय, नेतृत्व क्षमता, मानवीय संवेदनशीलता जस्ता विषयलाई दृष्टिगत गरी व्यवहारिक र कार्यान्वयनयोग्य कार्ययोजना तयार गर्नसमेत भनेको छ ।

गृह मन्त्रालयको एसएमटी बैठकले कारागारको सुरक्षा र भौतिक अवस्था सुधारको लागि पनि सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । भनिएको छ ‘कारागारभित्रको व्यवस्थापनमा चौकिदार,नाइके तथा भाइ नाइके छनौटबाट उत्पन्न समस्या समाधानको लागि ठोस कार्ययोजनासहितको सुधार प्रक्रिया अगाडि बढाउने । साथै, निर्माणाधीन कारागारहरूलाई तोकिएको समयभित्र सम्पन्न गराउन आवश्यक व्यवस्था मिलाउने ।’

कारागार सुरक्षालाई ध्यानमा राखी कारागारभित्र र बाहिरको ‘सेक्युरिटी अडिट’ गराई सम्बन्धित सुरक्षा निकायको मुख्यालयमा प्रतिवेदन पेश गर्न र अध्यागमन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन सूचना प्रविधि,भौतिक संरचना र जनशक्ति व्यवस्थापन जस्ता विषयमा सुधारसहितको कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि मातहतका निकायलाई निर्देशन दिइएको छ ।

टिप्पणीहरू