थन्क्याऊ हतियार, सिक कुस्ती « Jana Aastha News Online
Logo
१८ मंसिर २०७८, शनिबार
|  Sat Dec 4 2021

थन्क्याऊ हतियार, सिक कुस्ती

प्रकाशित मिति :  २९ असार २०७७, सोमबार ११:४१


सापेक्षतावादका सिद्धान्तकार अल्बर्ट आइन्स्टाइनले भनेका थिए, तेस्रो युद्धबारे त म भन्न सक्दिनँ तर उक्त विश्वयुद्ध भएमा ढुंगामुढा र लठ्ठीले लडिनेछ । उनले यसो भने पनि रमाइलो के भयो भने भारत र चीनबीच गलवान उपत्यकामा मेदेखि चलेको शीतयुद्धले जुन १५ मा ठूलो रूप लियो र ढुंगामुढाबाटै युद्ध भयो जसबाट भारतीय २० सैनिकले ज्यान गुमाए । अमेरिकालाई सैनिक र राजनीतिक हिसाबबाट चुनौती दिइरहेको चीन र आणविक शक्ति सम्पन्न तथा अहिले अमेरिकी गुटमा देखिने भारतबीच लद्दाखमा भइरहेको महिनौँको शीतयुद्ध तेस्रो युद्ध निम्त्याउने खतरनाक भिडन्त मानिन्छ । दुई वर्षअघि दुई आणविक राष्ट्रबीचको दोक्लाम भिडन्तले त्यही संकेत दिएको थियो र अहिले पनि संकेत उस्तै छ ।

वसुधैव कुटुम्बकम्को पूर्वीय दर्शन मान्ने भारत र साम्यवादी विचारसहित अन्तर्राष्ट्रियतावादमा विश्वास गर्ने दुवै राष्ट्र आखिर आफ्नो जमीनलाई कति हदसम्म माया गर्छन् भन्ने यसैबाट देखिन्छ । दुवै राष्ट्रका नेताहरूबीच बेलाबेलामा एकान्तिक वार्तालाप(वुहान २०१८ अप्रिल र ममल्लापुर २०१९ अक्टोबर ) तथा व्यापार विस्तार भइरहेको छ । दुवैबीच गहन संयन्त्र र सञ्चार प्रणाली छ तथापि भित्रभित्र वैरभाव पनि छताछुल्ल छ । सन् १९६२को युद्धदेखि नै सीमा समस्या यथावत् छ । पछिल्लो दोक्लाम विवाद(२०१७) त ७२ दिनसम्म लम्बियो । लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल मिचेको दुवै देशले एकले अर्कालाई दोष दिेखाइरहेका छन् । विश्वमा सबभन्दा बढी सैनिक भएको चीन १६ लाख र भारत १२ लाख, रक्षा बजेट भारत भन्दा पाँच गुणा बढी र कूल गार्हस्थ उत्पादन पनि भारतभन्दा पाँच गुणा बढी भएको चीनसँग भारतले अमेरिका, अष्ट्रेलिया र जापानसँग गुट बनाई आफूलाई शक्तिशाली ठान्छ । भारतले आफ्ना सैनिकको रगत खेर जान नदिने बताइरहेका बेला चीन मुकाबिला गर्नेलाई कुच्याइदिने ताकमा छ । विश्व जनसंख्याको ३७ प्रतिशत यी दुई देशले ओगटेका छन् जो विश्व आर्थिक शक्तिमा दोस्रो र पाँचाँै मानिन्छन् ।

गत वर्ष जनवरी ३ मा बगदाद इन्टरनेशनल एयरपोर्टमा इरानका जनरल कासिमको अमेरिकी ड्रोन आक्रमणबाट हत्या हुनुलाई नै इरानी अधिकारीहरूले युद्धको घोषणका रूपमा लिएका थिए । यसअघि २०१८ अप्रिलमा अमेरिका, बेलायत र फ्रान्सले सिरियामाथि मिसाइल प्रहार गरेपछि विश्वयुद्ध हुने सोचिएको थियो । अमेरिका–उत्तर कोरिया, इजरायल–इरान, अमेरिका–टर्की द्वन्द्व, काश्मिर मामिला, अमेरिका–चीन व्यापार युद्धजस्ता धेरै विषय विश्वयुद्धका कारक बन्नसक्ने विश्लेषण गरिएका छन् । बरु आणविक शक्ति चीनले तिब्बती पठारमा तैनाथ सैनिकलाई मार्शल आर्टको तालिम पो दिन थालेको छ । सन् १९९६ अघि भारत–चीनबीच बन्दुक र बिस्फोटक पदार्थ प्रयोग नगर्ने एक खालको सहमति भएको भनिएकाले चीनले त्यसो गरेको हुन सक्छ । वुहान र ममल्लापुरमको भेटघाटमा शान्तिपूर्ण, स्थिर र सन्तुलित चीन–भारत सम्बन्धका माध्यमबाट क्लोजर डेभलपमेण्ट पार्टनर बनी एशियाली शताब्दी बनाउने निस्कर्षमा पुगे पनि दुवै राष्ट्रको शीतयुद्धले दक्षिण एशिया मात्र नभई विश्वलाई नै तरंगित बनाएको छ । यति नै बेला भारतीय रक्षामन्त्री रुस पुगी सम्बन्ध नवीकरण गरेका छन् जसले चीनलाई झन् झस्का दिनु स्वाभाविक हो ।

सीमा विवाद पहिलेदेखि नै नसुल्झनु, विद्रोही दलाई लामालाई शरण दिनु, विश्वशक्ति अमेरिकासँग मिलेर बल देखाउनु जस्ता कारणले चीन भारतसँग चिढिएको छ भने भारतलाई सबैलाई रिझाई विश्वशक्ति बन्ने महत्वाकांक्षा छ । चीन सफ्टपावरमार्फत विश्वशक्ति बन्ने दाउमा छ भने भारत छिमेकीहरूलाई दबाई ठूलो बन्ने चाहनामा छ । सार्क संगठन सिंगै भारतको हातमा छ जसले शिखर सम्मेलन हुन दिएको छैन । जनमत संग्रहबाट जम्मु काश्मिर समस्या समाधान गर्ने संयुक्त राष्ट्रसंघको प्रस्ताव उसले टेरेको छैन । भर्खरै राष्ट्रसंघको अस्थायी सदस्यमा निर्वाचित भारत स्थायी सदस्य बन्ने लालसा पूर्ति गर्न चीन नै अवरोध बन्ने सोचाइ राख्छ । सीमा विवाददेखि विश्वशक्ति बन्ने दुवैको चाहनाले ल्याएको द्वन्द्व सितिमिती सकिने पनि होइन । तथापि नेपालजस्ता साना देश साँढेको जुधाइ, बाच्छाको मिचाइमा पर्ने सम्भावना भने टड्कारो छ । सन् १९६२ मा चीनसँगको युद्धका लागि ठाउँ लिएको कालापानी क्षेत्र अहिले ५८ वर्ष हुँदा पनि नछाड्नाले भारतले साना देशसँग कस्तो दृष्टिकोण राख्छ भन्ने स्पष्टै देखिन्छ । विश्वशक्तिसँग अनेक आर्थिक, राजनीतिक र सैनिक सम्बन्ध राखेर आफू पनि शक्तिशाली बन्न खोज्ने भारत नेपाल जस्ता छिमेकी देशसँग सीमा विवाद थाती राखेर लम्बाइरहन चाहन्छ ताकि छिमेकीहरू त्यसैमा अल्झिरहुन् र अघि नबढुन् ।

जतिसुकै बौद्धिक विलास गरे पनि हाल तेस्रो विश्वयुद्ध टरिसकेका अवस्थामा विश्लेषकहरूले कोरोना भाइरसको उपद्रोलाई नै तेस्रो विश्वयुद्ध ठानिदिएका छन् । विश्वका दुई सयभन्दा बढी मुलुकमा फैलिएर कूल मृत्यु पाँच लाख र संक्रमण एक करोड नाघिसकेको अवस्था र विकसित भनिएका मुलुकसमेत निरस्त्र भएका बेला तिनको ध्यान महामारी नियन्त्रण गरेर विश्वलाई साझा घर बनाउनेतिर उन्मुख हुनुपर्ने हो । यस्तो अवस्थामा पनि रोगबारे एकले अर्कालाई दोष दिनु, आणविक अस्त्रको प्रयोग गर्ने धम्की दिनु, सीमा विवाद निकालेर मुठी उज्याउनु र ढुंगामुढा गर्नु, व्यापार युद्ध कायमै राख्नु तथा आतङ्कवादी क्रियाकलाप जारी राख्नुले मानवताको हित गर्दैन । पृथ्वीलाई जोगाउन बरु नेपालजस्ता साना राष्ट्रले नै ठूलो योगदान गर्न सक्छन् । ठूला राष्ट्रबीच साना राष्ट्र ढाल बनेर उभिदिनुपर्छ । महामारीको औषधि वा खोप बनाउनेतिर हाम्रा विशेषज्ञ र प्राविधिकहरू लाग्न सकेमा मानवता र विश्वका लागि त्यही नै ठूलो उपहार हुनेछ ।


प्रतिक्रिया दिनुहोस !