२३ श्रावण २०७७, शुक्रबार

पैसा नआउँदै एनआईसीको कारोबार



पुँजी बजारको कानुन र नियम पनि व्यक्ति र संस्थालाई हेरेर लागू हुने गरेको छ । त्यसैले होला नेपालको कानुन, दैवले जानुन् भनिएको । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडसँग सम्बन्धित काम राफसाफ नहुँदै सेयर कारोबारको लागि नेप्सेमा सूचीकृत गरिएको छ । चाहेको दाममा उक्त लघुवित्तको सेयर दोस्रो बजारमा किनबेचको लागि हिजोदेखि खुल्ला गरिएको हो ।

सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको एनआईसीको ४७ करोड ५५ लाख रूपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता सेयरका लागि आईपीओ आह्वान गरिएकोमा पाँच दिनमा २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रूपैयाँको आवेदन परेको थियो ।

लघुवित्तले गत शनिबार आईपीओ बाँडफाँड गरेको हो । कम्तिमा १० र बढीमा २० कित्ता गरी सबै आवेदकलाई बाँडफाँड गरिएको चार दिनमै सेयर रजिष्ट्रार तोकिएको एनआइसी एसिया क्यापिटल र नेप्सेको चोचोमोचोमा सूचीकृत गराइएको हो । हिजो पाँचौं दिनदेखि दोस्रो बजारमा कारोबार नै थालिएको छ ।

स्रोतका अनुसार आईपीओ बाँडफाड गरिए तापनि आवेदन परेको २ अर्ब ३० करोड ६६ लाख ३९ हजार रूपैयाँको रिकन्साईल (राफसाफ) भइसकेको छैन । सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट उक्त सेयर आवेदनको क्रममा प्राप्त रकमको रिकन्साइल हुन कम्तिमा दुई साता लाग्छ । त्यसमध्ये ४७ करोड ५५ लाख रूपैयाँ सेयर कारोबार हुनुअघि सानिमा क्यापिटलले तोकेको बैंक खातामा सेन्ट्रल कलेक्सन हुनैपर्छ । तर अहिलेसम्म भएको देखिँदैन । यस्तो अवस्थामा एकाएक दोस्रो बजारमा सेयर किनबेचको खेल शुरु गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

दोस्रो बजारमा अस्तिदेखि शुरु भएको कारोबारका लागि नेप्सेले संस्थाको प्रतिकित्ता सेयरको मूल्य न्यूनतम एक सय १० रूपैयाँ र अधिकतम ३ सय ३१ रूपैयाँ तोकेको थियो । नेप्से र एनआईसी एसिया बैंकका केही लगानीकर्ता तथा सेयर खेलाडीहरूबीचको शुभ लाभको सहमतीमा उक्त कार्यलाई अघि बढाइएको आशंका गरिएको छ ।

यसअघि मर्जर र एक्विजिनशनमा गएका अन्य धेरै बैंक तथा वित्तीय संस्थाको काम सकिएको महिनौंसम्म पनि नेप्सेले सेयर कारोबार फुकुवा गर्ने गरेको थिएन । तर, यतिखेर आईपीओ बाँडफाँड र आवेदन रकमको अन्तिम हिसाब नहुँदै दोस्रो बजारमा कारोबार स्वीकृती दिनु रहस्यमय भएको बताइएको छ ।

सेयर विश्लेषकहरूका अनुसार शुरुमै उक्त लघुवित्तको सेयर कारोबारमा एउटा अमूक समूहले एकाध दिनमा बढीमा एक हजारदेखि १५ सय रूपैयाँसम्ममा खरिद गर्ने योजना बुनेको छ । योजनाबमोजिम सेयर खरिद गर्न सकिएमा दुई हजारभन्दा माथि भाउ पुर्याएर बजारमा एकैचोटी बेचेर कुम्ल्याउने उनीहरूको दाउ हो । जबकी हिजो कारोबारका लागि ५ लाख भन्दाबढी कित्ताको माग भएपनि मुश्किलले २० कित्ताको मात्र कारोबार भएको छ ।

एनआईसी लघुवित्तको क्रेडिट रेटिङ्ग निकै कमजोर देखिएको छ । औसतभन्दा कमजोर ४ क्रेडिट रेटिङ्ग रहेको संस्थाको सेयरलाई आफ्नो स्वार्थ पूरा गराउनेहरूको योजनामा नेपाल स्टक एक्सचेञ्जले भरपूर सहयोग गरेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मानवअधिकार आयोग अध्यक्षमा दौडधुप
नेकपाको बोक्रामा बिचौलियाको गुदी
यस्तो बेला झन लुट्न छाडेनन्
शीतल निवासको नजरमा सरकार ‘सुरक्षित’