जो अगुवा उही नियम तोडुवा

जो अगुवा उही नियम तोडुवा

बिहीबार बिहान गृह मन्त्रालयमा नवनियुक्त आईजीपीको फुली लगाउने कार्यक्रम थियो । कार्यक्रमका प्रमुख अतिथि थिए मन्त्रालयका सचिव महेश्वरप्रसाद न्यौपाने र मुख्य आकर्षण अघिल्लो दिन क्याबिनेटले नियुक्त गरेका आईजीपी शैलेश थापा क्षेत्री । कोरोना महामारीमा आयोजित कार्यक्रमका सबैले शुरुमा मास्क लगाएर सामाजिक दूरी कायम गरेका थिए । तर, सचिवले क्षेत्रीलाई आईजीपीको दज्र्यानी चिन्ह लगाइदिएपछि हलमा रहेका सबैजसोले गृह मन्त्रालय आफैँले यसअघि जारी गरेको विभिन्न निर्देशनलाई धोती लगाइदिए ।

हलमा मन्त्रालयका सहसचिवहरू, सबै सुरक्षा निकायका प्रमुख तथा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू थिए । त्यसक्रममा क्षेत्रीलाई बधाई दिने र सामूहिक फोटो खिच्नेहरूले न मास्क लगाएका थिए, न सामाजिक दूरी नै कायम गरेको देखिन्थ्यो । सामूहिक फोटो खिच्ने क्रममा सबै टाँसिएर उभिएका थिए भने त्यत्तिले पनि नपुगेर सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले क्षेत्रीसँग अंकमाल नै गरेका थिए ।

कोरोना संक्रमण रोकथामको लागि गृह मन्त्रालयले तोकिएको संख्या भन्दाबढी भेला हुन नपाईने, सबैले मास्क अनिवार्य लगाउनुपर्ने, कम्तिमा ६ फिट दूरी कायम राखेर बस्नुपर्ने उर्दी जारी गरेको छ । तर, यसरी सरकारी सूचना जारी गर्ने गृह मन्त्रालयका उच्च अधिकारी र त्यस्तो सूचना कार्यान्वयन गर्ने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखहरूले नै नियम मिचेपछि ‘…लाई भन्दा देख्नेलाई लाज’ भने झैँ भएको छ ।

टिप्पणीहरू