एकचोटिको हैजा, लाखौंलाई लैजा « janaaasthanews
२९ श्रावण २०७७, बिहीबार

एकचोटिको हैजा, लाखौंलाई लैजा



सन् १८३२ मा फ्रान्सको राजधानी पेरिसमा भागदौड मच्चियो । प्रत्येक बासिन्दाको अनुहारमा मृत्युको डर थियो । सडकमा जताततै लास बोकेका मलामी हिँडिरहेका हुन्थे । विस्तारै समाजमा स्नेह र प्रेम ह्रास हुँदै गयो । हैजाबाट ग्रस्त रोगी एक्लै मृत्यु पर्खन विवश बने । बाबुले छोरा र स्वास्नीले लोग्नेलाई साथ दिन छाडे । साथीहरु एकापसमा हात मिलाउन डराए । फोहोरले चारैतिर साम्राज्य फैलायो । बिरामीहरुले लगातार पानीसरह पातलो दिसा र बान्ता गर्न थाले । सफाइ गर्ने कोही भएनन् । फोहोरमा झिंगा भन्किन थाल्यो । झाडा, बान्ता भएका बिरामीको आँखा एकदमै खाल्डो पथ्र्यो, गाला धसिन्थ्यो, शरीर सुक्थ्यो । १८ घण्टाभित्र त ज्यानै जान्थ्यो ।

विज्ञ स्वास्थ्यकर्मी र वैज्ञानिकहरु युरोपेली नै हुन्थे । हैजा फोहोरी एसियाइहरुको रोग हो भनी गिज्याइबसेका थिए तर जब युरोपलाई पनि यसले जकड्यो तब आश्चर्यमा परे । र, अध्ययन–अनुसन्धानमा जुटे । भारतीय प्रायद्वीपको बंगालबाट फैलिएको र अफगानिस्तान, इरान हुँदै रुस प्रवेश गरेको निश्कर्ष निकाले । रुसबाट हंगेरी र जर्मनी प्रवेश गरेको । यसले १८३७ सम्म महामारीको रुपमा तवाही मच्चायो । रुसमा मात्र २ लाख ५० हजार संक्रमित बने, एक लाखको ज्यान गयो । इजिप्टमा यसले एक लाख ३० हजारको ज्यान लियो । लण्डनमा ५५ हजार र पेरिसमा २० हजार मरे । त्यसबेला पेरिसको जनसंख्या जम्माजम्मी ६ लाख ५० हजार थियो । फ्रान्सभरि हैजाकै कारण एक लाखले ज्यान गुमाए । युरोपपछि सन् १८३३ मा यो महामारी अमेरिका पस्यो । चीन र जापान पनि अछुतो रहेनन् ।

लगातार ११ वर्ष एसिया, युरोप र अमेरिकामा आतंक फैलाएपछि एकाएक हैजा लुप्त भयो । संसारभरिका जनताले शान्तिको सास फेरे । तर सन् १८८४ मा यही रोग देखाप¥यो । आठ वर्ष आतंक मच्चियो । युरोपमा यो रोगसन् १९१३ को बाल्कन युद्धताका देखाप¥यो तर पछिल्लोपटक सरकार र जनताले ठूलो सावधानी अपनाए । नतिजास्वरुप धेरैजनाको ज्यान गएन । यसपछि भने यो रोगले युरोपमा आतंक फैलाउन पाएन ।

हैजा दूषित खाना र पानी ग्रहण गरेपछि हुने रोग हो । शुरुमा पखाला लाग्ने, बान्ता हुने, जसको कारण शरीरको रक्तचाप एकैपटक न्यून बन्ने । र, समयमै ध्यान दिन सकिएन भने तीन घण्टाभित्रै ज्यान जाने । सामान्यतया झाडाबान्ता शुरु गरेको ४ देखि १२ घण्टामा बिरामीलाई सख्त बनाइदिने र त्यस्तो अवस्थामा पुगिसक्दा पनि पुनर्जलीय उपचार दिन सकिएन भने १८ घण्टाभित्र बिरामीको ज्यान जाने । हैजा नै त नभनौं, हैजाजस्तै लक्षण देखाउने रोग पाँचौं शताब्दी इशापूर्वमा भारतीय प्रायद्वीपमा फैलिएको थियो । त्यसपछि हैजा सन् १८१७ मा भारतभर फैलियो । त्यसैले यो रोगलाई युरोपेली विद्वानहरुले एसियाको रोग, त्यसमाथि पनि भारतीय रोग भन्ने गरेका छन् ।

सन् १८१६ को अन्त्यतिर गंगा नदीकिनारमा कुम्भ मेला लाग्यो । मेलामा भारतभरिबाट लाखौं धार्मिक यात्रु आइपुगे । गंगामा नुहाए । वरिपरि फोहर गरे । यसैबाट हैजा फैलियो । सन् १८१६ को अक्टोबर शुरुमा जम्मा ११ जनामा यो रोग देखापरेको थियो जयश्वर नगरमा । त्यसपछि कलकत्ता र मेलाबाट फर्केका तीर्थयात्रीमार्फत भारतभरि फैलियो । त्यसताका भारतमा बेलायतको राज थियो । हैजाले भारतीयलाई मात्र होइन, ब्रिटिश सैनिकहरुलाई पनि ग्रस्त पा¥यो, तब बल्ल युरोपेली वैज्ञानिकहरुको ध्यान आकर्षित भयो । उनीहरुले अध्ययन–अनुसन्धान थाले । भाइब्रो कोलरा नामक जीवाणुबाट सर्ने गरेको पत्ता लगाए । विस्तारै यो रोग महामारीको रुपमा दक्षिण र दक्षिणपूर्वी एसिया, पूर्वी अफ्रिका हुँदै भूमध्यसागर तटसम्म फैलियो । सात वर्षसम्म यस क्षेत्रका जनता महामारीको शिकार बनिरहे । थाइल्याण्डको बैंककमा मात्र ३० हजारको ज्यान गयो । ब्रिटिश इण्डियाभरिमा १० लाखदेखि २० लाख जनासम्मको मृत्यु भयो । हैजालाई भारतको रोग भनिएका कारण सन् १९४७ सम्म अर्थात् भारत स्वतन्त्र हुनुपूर्वसम्म हरेक वर्ष एक लाख भारतीय यसको शिकार बनिरहे । कुनै–कुनै वर्ष त मर्नेको संख्या पाँच लाखसम्म पनि पुग्यो । सन् १९४३ मा हैजाबाट मद्रासमा मात्र १ लाख १७ हजारको मृत्यु भयो । सन् १९३८ मा हरिद्वारबाट फैलिएको हैजाको महामारी सबैभन्दा खतनरनाक सावित भयो । पञ्जाब, दिल्ली, उत्तरप्रदेश, बिहार, मध्यप्रदेशसम्म फैलियो । भनिन्छ, भारतको आधा जनसंख्यामा यो महामारी फैलिएको थियो ।

हैजाको प्रकोप विश्वको प्रायः सबै महादेशले भोगिसकेका छन् । सन् २०१० मा मध्यअमेरिकी मुलुक हाइटीमा ७ रेक्टर स्केलको भुइँचालो गयो । दुई लाखको मृत्यु भयो । प्रायः सबै भौतिक संरचना ध्वस्त भए । भूकम्पपीडित हाइटीका जनताको उद्धार र सहयोगार्थ विश्वभरिका मानिस त्यहाँ पुगे । २० वटा मुलुकका शान्तिसेना तैनाथ गरिए । भूकम्पबाट जनधन तहसनहस भएको त्यहाँ एकाएक हैजाको महामारी फैलियो । ८ लाख जनता यसको चपेटामा परे । त्यहाँ कार्यरत नेपाली शान्ति सेनाको क्याम्पबाट रोग फैलिएको हौवा फैलाइयो । केही नेपाली सेना यही कारणले फर्काइए पनि । २०१० मा फैलिएको यो रोगले त्यहाँका जनतालाई सन् २०१९ को जनवरीसम्म सतायो । यस अवधिमा हाइटीका ९ हजार ७ सय ९४ जनाको ज्यान गइसकेको थियो । त्यसबेला यो महामारी हाइटीमा मात्र सीमित रहेन, डोमिनिकन गणतन्त्र, क्युबा, मेक्सिकोसम्म फैलिएको थियो ।

सन् २०११ मा यमनमा राजनीतिक अशान्ति फैलियो । महँगी, भ्रष्टाचार, राजनीतिक अस्थिरताको माग राखेर जनता सडकमा उत्रिए । यसबीच हाउथी आदिवासीले सरकारविरुद्ध हतियार उठाए । र, सन् २०१५ आइपुग्दा नपुग्दै गृहयुद्ध शुरु भयो । मार्चमा साउदी अरबले त्यहाँ सैन्य हस्तक्षेप ग¥यो । उक्त आक्रमणबाट अस्पतालहरु ध्वस्त भए । खानेपानी तथा ढल व्यवस्थामा क्षति पुग्यो । गृहयुद्धको कारण सरकारको ध्यान हतियार खरिदतर्फ बढी अग्रसर भयो । स्वास्थ्य बजेट कम ग¥यो । काम गरेको तलब नपाएपछि स्वास्थ्यकर्मीहरु विदेश पलायन भए । शहरको जताततै फोहोर थुप्रिन र ढलबाट दुर्गन्ध निस्कन थाल्यो । जनता दूषित पानी पिउन विवश बने । नतिजा, सन् २०१६ को अक्टोबरमा त्यहाँ हैजाले महामारीको रुप लियो । सन् २०१९ को अप्रिलसम्म बल्ल नियन्त्रण हुन सक्यो । यतिञ्जेलमा २२ लाख जनतामा संक्रमण भइसकेको थियो । चार हजारले ज्यान गुमाइसकेका थिए । मर्नेमा ५८ प्रतिशत केटाकेटी थिए ।

यतिखेर विश्वभरिका जनता कोरोनाको प्रकोपबाट त्रसित छौं । नेपालमा पनि कोरोना संक्रमण भयावह बनिसकेको छ । सतहत्तरै जिल्ला यसको चपेटामा परेका छन् । यो कोभिड १९ नाउँको नयाँ जीवाणुबाट मान्छेमा संक्रमण हुने गरेको अहिलेसम्मको अध्ययनको निचोड छ । नयाँ जीवाणु, नयाँ रोग भएकाले यसको औषधि बनिसकेको छैन । चिकित्सक र वैज्ञानिकहरु यसको रोकथामको खोप र उपचारको औषधि पत्ता लगाउन दिनरात मिहिनेत गर्दैछन् । तर, कोरोनाको दाँजोमा हैजा धेरै पुरानो रोग हो । बितेका दुई सय वर्षको अवधिमा सात पटक विश्वमा यो महामारी फैलिइसकेको छ । यसको प्रकोपमा पचासौं लाखले ज्यान गुमाइसकेका छन् तर पनि हरेक वर्षायाम, गर्मी मौसममा यसको महामारी फैलिन रोकिएको छैन । नेपाल पनि हैजाबाट अछुतो छैन । समयमै ध्यान नदिने हो भने कोरोनाका साथसाथै डेंगु र हैजाको महामारी नेपाली जनताले खप्नु पर्ने हुन्छ ।

हैजा युरोपमा महामारीको रुपमा फैलिन थालेदेखि नै चिकित्सक र वैज्ञानिकहरु यसको रोकथाम, औषधोपचार विधि पत्ता लगाउन लागिपरेका थिए । विशेषतः ब्रिटिश चिकित्सक डा. जोन स्नो, जर्मनीका जीव वैज्ञानिक रोबर्ट कोच, लुइ पास्चर, प्रो. पेटेनकोफरहरुले ठूलो मिहिनेत गरे । र, बल्ल सन् १८८५ मा पहिलोपटक स्पेनमा यसको विकास गरे वैज्ञानिक फेरानले । समयको अन्तरालसँगै डा. स्नोले विकास गरेको खोप र उपचार पद्धतिमा आधुनिकीकरण हुँदै आइरहेको छ । अहिले पनि वर्षेनी ३० देखि ५० लाख हैजाबाट प्रभावित भई ६० देखि १ लाख ३० हजारको ज्यान जाने गरेको तथ्यांक छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अन्ततिर कम्युनिष्ट यस्तरी ओरालो
संसारभर चिनिन कहाँ सजिलो छ र ?
भारतमा मुसा बनेर कसरी पसे विदेशी
दुःखमा टेकेर भविष्यलाई देन