विगत बिर्से पाइला–पाइलामा बर्बाद « janaaasthanews
३० श्रावण २०७७, शुक्रबार

विगत बिर्से पाइला–पाइलामा बर्बाद



झण्डैझण्डै सास फेर्न पनि अनुमति लिनुपर्ने वातावरण बनाएका राजा ज्ञानेन्द्रको शासन त्यसरी ढल्छ भनी कुन ज्योतिषले कल्पना गरेको थियो ? राजाको बेडरुम र भान्सासम्म सहज प्रवेश अनुमति पाएका बीपी र महेन्द्रको त्यो आत्मीयता देशकै राजनीतिमा ग्रहण बनेर उपस्थित होला भनेर कसले सोचेको थियो ? माओवादीको बलमा आएको संघीयता, गणतन्त्रको विरुवामा कमल थापा, पशुपतिसमशेर, प्रकाशचन्द्र लोहनीले पानी हालिदिनुपर्ने अवस्था कसले कल्पना गरेको थियो र ? सलहको भाषा बुझेर समाचार बनाउने कलमबाज भएको देशमा दलहरू नालायक भएर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्छ भन्ने कुन राजनीतिशास्त्रीले प्रक्षेपण गर्न सकेको थियो ?

रानीको उपचार गर्न ल्याइएकी विदेशी नर्स एरिका ल्युख्ट्यागलाई मनपेट दिएर राजनीतिको कोर्स बिगार्ने राजा त्रिभुवन हुन् या आफ्नी स्वास्थ्यसेवकलाई भएजति पद र प्रतिष्ठाबाट विभूषित गर्न तम्तयार हुने केपी ओली एउटै खलपात्र हुन् । केपी ओली, प्रचण्ड, शेरबहादुर, माधव नेपाल, झलनाथ खनालकै म्यूजिकल चियरमा अझै पनि मुलुकको राजनीतिक फित्ता घुम्ने भएपछि मान्छे त परै जाओस् , कोरोना जीवाणुसमेत हार खान्छ । बलिउड अभिनेता अमिताभ बच्चनले खेलेको हिन्दी फिल्म ‘अन्धा कानुन’मा एउटा दृश्य छ । रुँदै गरेकी बच्चीलाई फकाउने सन्दर्भमा हिरोले एउटा गीत गाउँछ । जसको बोल यस्तो छ–

रोते रोते हँसना सिखो, हँस्ते हँस्ते रोना
जिती चाबी भरी राम ने, उतना चले खिलोना

लाटाले बाउ घुक्र्याएको शैलीले एक्काईशौं शताब्दीको राजनीति चलाउन खोज्नु भनेको कमाएको मलामी गुमाउनु मात्र हो । राजनीतिमा कुरा कसको सुनिन्छ र सुनिनुपर्छ भन्ने विषयले ठूलो महत्व राख्छ । महाभारत पात्र अर्जुन कृष्णको सल्लाह मान्दा जाज्वल्यवान भए । सकुनी सल्लाहकार राख्दा बलवान दुर्योधन लाचार पात्र बने । जुन देश गफमा मात्र आत्मनिर्भर छ भने त्यो देशका नेताले समृद्धिको सपना देख्नु मुसाको अधिकार विषयको कार्यपत्र लेख्ने जिम्मा बिरालोलाई सुम्पिएजस्तै हो । जब देश भारतीय र चिनियाँ उत्पादनको शोरुमभन्दा माथि उठ्न सक्दैन भने सरकारको नीति तथा कार्यक्रमको औचित्य के रहन्छ ? सरकारको बजेट तेलबेसार, खाद्यान्न, तलबभत्ता, पेन्सन र आन्तरिक– विदेशी ऋण चुक्ताको फाँटबारी मात्र हो । देशका ठूला मान्छे मानिने मुखियाहरू ‘म्याच फिक्सिङ’का पात्र हुन् ।

अरुले गरेको त्यही कर्म अपराध हुन्छ, नेताले गरेको सुकीर्ति । राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा लगेर राणा शासकविरुद्ध जेहाद् छेड्ने घरेलु तयारीविपरित राजा नै अपहरण शैलीमा कसरी दिल्ली पु¥याइए ? राणा शासन ढलेपछि राणाकै नेतृत्वमा सरकार कसरी बन्यो ? एकाघरका दाजुभाइ मातृका–बीपी एकअर्काविरुद्ध कसरी गोटी बनाइए ? नागरिक प्रधानमन्त्री मातृका सैनिक पोशाकमा कसरी उत्रिन पुगे ? क्रान्तिले भारी बिसाउँदा नबिसाउँदै २ सय वर्षको कोशी सम्झौता कसरी भयो ? भारतमा जन्मिएर त्यहीँ राजनीति सिकेका बीपी अन्तत ः नेहरूको आँखामा किन बिझाए ? बीपी सिध्याउन नेहरू–महेन्द्रजस्ता तरबार र घिउ व्यापारीको दोस्ती कसरी सम्भव भयो ? बहुदल आएपछि सूर्यबहादुर, लोकेन्द्रबहादुर, कमल थापा प्रभृत्ति आधा दशक नबित्दै कसरी हिरो भए ? चार गणले छेकेको राजपरिवार किन र कसरी मारिए ?

पतिको रहस्यमय अन्त्य–पत्नीको राजनीतिक उदय, शक्ति र सत्ताका लागि बहुदलीय जनवादको चीरहरण तर मदन भण्डारीको फोटोमा भक्तिभावको मञ्चन यो भद्दा मजाकको फरफारक हुनु पर्दैन ? के सिद्धान्त चौताराको मादल हो ? नीति भन्छ– ‘रिसाएका बेला कहिल्यै उत्तर नदिनु , दुखी भएका बखत कहिल्यै कसम नखानु र खुशीमा बिर्सिएर पनि निर्णय नलिनु ।’ गफशास्त्रका ज्ञाता केपी कमरेडलाई यति त थाहा हुनुपर्ने हो ।

नेपालका कुनै कम्युनिष्ट नेतालाई अर्को देशको कम्युनिष्ट नेताले पत्याएर एउटा साइकल उपहार दिएको सुनिएको छैन तर तिनैले विरोध गर्ने राजा त्रिभुवनले हिटलरबाट पाएको गाडीको अवशेÈ अझै संग्रहालयमा सुरÔित छ । जसरी रक्सी खान कुरानले बन्देज लगाएको तर भोड्का खान छुट दिएको भन्दै ज्यान छोडेर भोड्का तान्ने रुसी मुसलमानहरूको आलोचना गरिन्छ, त्यसैगरी कम्युनिष्टको खास्टो ओढेर हिङदेखि हर्दीसम्मको व्यापार भ्याउने चरित्रका कारण नेपाली नेताहरू बद्नाम छन् । कम्युनिष्ट नाम उनीहरूका लागि नक्कली जोगीले धसेको खरानीजस्तै भएको छ । जुन कम्युनिष्ट नेता इमान्दार छन्, तिनीहरू जन्मेदेखि अहिलेसम्म सडकमै छन् । इमान्दार नेताहरूचाहिँ ‘गद्दार’ को पुरस्कारबाट विभूÈित हुने गरेका छन् ।

१९५० को सन्धिलाई नेहरू विश्वविद्यालयका प्रोफेसर मुचुकुन्दले समस्याको बाकस भएको भन्दै यसलाई एकैपटक नखोल्न सुझाव दिएका थिए । मोहनसमशेर जननिर्वाचित प्रधानमन्त्री थिएनन् । तर, उनैले सन्धिमा सही धस्काए । सबैलाई थाहा भएकै सत्य हो– संसद्ले अनुमोदन नगरेको सन्धि अवैध मानिन्छ । अहिले यही सन्धि दलका लागि अन्धाले छामेको हात्तीजस्तो बनेको छ । पश्चिमा राष्ट्रहरूले विकासभन्दा मानवअधिकारलाई पहिलो एजेण्डा बनाएका छन् । जुन रणनीति गरिब देशमा खेल्ने सजिलो औजार बनेको छ । तर मौलिक रोडम्याप नहुँदा हामीले जसको लाठी उसको भैंसीको नियति भोग्नुपरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कुनै हालतमा हामी यो पार्टी फुट्न दिन्नौं !
के ओलीले पार्टी फुटाउलान् ?
नेकपाको विवादमा विप्लव समूहको हेराई
थोरै हारेर जित्न सिकौँ, मतदाताको मनमा टिकौँ