कांग्रेस फुटेर एमालेलाई फाइदा भयो र ! « janaaasthanews
६ कार्तिक २०७७, बिहीबार

कांग्रेस फुटेर एमालेलाई फाइदा भयो र !



भक्तपुरका विनोद कायस्थ नेपाली कांग्रेसलाई संकट परेको बेला तरुण दलको अध्यक्ष भए । तर, पार्टी एकतापछि कांग्रेसको संकट पार भयो । त्यसपछि लगातार किनारामा पारिँदै आए । देशमा अनेकन चुनाव भए । कांग्रेसबाट अवसर पाउने अनेकन पात्र देखिए । तर, विनोदलाई न कुनै चुनावमा टिकट दिइयो, न अवसर नै । बरु, उनी अहिले पनि विभाजनकालको मानसिकताबाट पार्टी मुक्त नभएका कारण कांग्रेस पूर्ववत् सञ्चालन हुन नसकेको निश्कर्षमा छन् ।

० नेपाली कांग्रेस सत्तारूढ भएकै बेला विभाजन हुँदा पार्टी र देशलाई के–के क्षति भएको थियो ?

– सैद्धान्तिक, नीतिगत विचलन आएपछि व्यक्तिगत स्वार्थ टकरावका कारण विभाजन हुँदो रहेछ । नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको रूपमा विभाजन भयो । कांग्रेस विभाजनपछि त्यसैमा टेकेर पूर्वराजा ज्ञानेन्द्र प्रतिगमनका लागि हौसिए । कांग्रेसले भोगेको यो पीडालाई नेकपाले पनि आत्मसात् गर्न र बुझ्न जरुरी छ ।

० अहिलेको सत्तारूढ पार्टी त्यही अवस्थामा पुग्नुलाई के भन्नुहुन्छ ?

– २०१७ मा बिपी कोइरालाको दुई तिहाइको सरकार टिकेन । अहिले दुई तिहाइको सरकार नटिक्ने हो भने जनतामाझ राजनीतिप्रति नै वितृष्णा जाग्न सक्छ । दुई तिहाइ सरकार नै नटिक्ने हो भने सामान्य बहुमतको हालत के होला ? नेकपाभित्रको द्वन्द्व प्रधानमन्त्रीको कार्यशैलीको कारण निम्तिएको समस्या हो जस्तो लाग्छ । सत्ताको वरपर बस्नेले शासकहरूलाई राम्रो कुरा मात्र कानमा भरिदिँदा रहेछन् । प्रचण्डलाई ततकालीन मुख्यसचिव भोजराज घिमिरेले झैं चाटुकारहरूले तपार्इंको कार्यकालमा सबैतिर चमत्कार भएको छ, जनताले जयजयकार गरिरहेका छन् भनेर बिफ्रिङ गरिदिँदा रहेछन् । जनताले पीडा पोख्न खोज्छन् तर नेतृत्वलाई लाग्दोरहेछ– यति राम्रो काम गरिरहेको छु । मेरो विरोध गर्ने ? सत्तामा भएपछि कुर्सीले नै त्यस्तो बनाइदिने हो कि ? पार्टी एकीकरणपछि दुई पार्टीबीच जे–जे सहमति भएको हो त्यसलाई इमान्दारीपूर्वक लगेको र पद्धतिसंगत ढंगले अघि बढेको भए यो खालको स्थिति व्यहोर्नुपर्दैनथ्यो होला ।

० विभाजन र गुटबन्दीले आजसम्म कांग्रेस माथि उठ्न नसकेको हो ?

– ३० वर्षदेखि यही नेतृत्व पार्टीमा हाबी भयो, चाहे कांग्रेस हेर्नुहोस्, चाहे नेकपा । उही माधव नेपाल, झलनाथ, वामदेव, केपी, ईश्वर पोखरेल । पार्टी सत्तामा जाँदा पनि उहाँहरू नै, पार्टीभित्र पनि । पूर्वमाओवादीमा पनि प्रचण्डदेखि वर्षमान, जनार्दन, शक्ति बस्नेतहरूकै दबदबा । राप्रपा, मधेशवादी दलको अवस्था पनि उस्तै । न सिद्धान्त, आदर्शअनुसार पार्टीलाई जनतामा स्थापित गर्न सक्नुभयो न त सरकारमा जाँदा गुड गभर्नेन्स नै दिनुभयो ।

० नेतृत्व हस्तान्तरणको कुरा धेरै चले तर व्यवहारमा कार्यान्वयनचाहिँ कि हुन नसकेको ?

– नेतृत्वमा पुग्नका लागि कुनै न कुनै गुटमा हामी पनि आबद्ध हुनुपर्छ । मूल पार्टीका युथ लिडरहरूले आफू जित्नका लागि कुनै न कुनै गुट समात्नुहोला । तर, जितिसकेपछि समग्र पार्टी हितका लागि झगडा गर्न पाउनुहुन्न भनेर केन्द्रीय समितिका साथीहरूले अंकुश लगाउनुपथ्र्याे होला । नेविसंघबाट संसद्मा आएका धेरै साथी हुनुहुन्छ । उहाँहरू अहिले पनि म शेरबहादुरको, म रामचन्द्र दाइको मान्छे भनेर हिँड्नुहुन्छ । यो प्रजातन्त्रका लागि राम्रो कुराचाहिँ होइन ।

० के मान्नुहुन्छ कि, भारतीय डिजाइनमा नेकपा फुट्दै छ ?

– नेपालमा दरबारको एजेन्ट विदेशीको गुलाम भएर राजनीति गर्न जति सजिलो छ राष्ट्रवादी हुन उति नै कठिन छ । नेपालको राजनीतिमा कहिले कुन देश सक्रिय भए भन्ने आउँछ कहिले कुन देश । भारत, चीन, अमेरिकालगायत देश सक्रिय भए भन्ने कुरा उठ्छन् । घटनाक्रमले त्यसलाई पुष्टि पनि गरेको छ ।

० एकछिन नेकपाकै कार्यकर्ता सम्झिएर यो सरकारको समीक्षा गर्दा के भन्नुहुन्छ ?

– सरकारको कामलाई कुनै पनि ढंगबाट सन्तोषजनक मान्न सकिन्न । शुरु शुरुमा रेल, पानीजहाज, घरघरमा ग्यास चुलोका सपना बाँड्नुभयो । व्यावहारिक रूपमा यी काम गर्न सक्नुभएन । जनता अहिले कोरोना महामारीसँग लडिरहेको समय छ । अनुभूति हुने गरी जनतालाई राहतको प्याकेज ल्याउन सक्नुभएन । सबै हिसाबले हेर्ने हो भने सरकार असफल मान्नुपर्छ । पार्टीकै आन्तरिक कारणले गरेर दुई तिहाइको सरकार विघटनसम्म पुग्नु भनेको सुखद त हुँदै होइन ।

० तपाईं पार्टीमा पुरानो नेता, छिमलका साथी राजकीय ओहदामा छन् । किन पछाडि पर्नुभयो ?

– राजनीतिमा लागेपछि अगाडि पछाडि त हुने नै भयो । हामीले अरू पार्टीमा लागेका युवा हेर्छौं । भूमिका नै दिन नचाहने नेतृत्व देखिन्छ । एउटा गुटमा लागेर कसैले गरेको राम्रो कुरालाई पनि नराम्रो भनिदिनुपर्ने र कसैले गरेको नराम्रो कामलाई पनि गुटका कारण राम्रो भनिदिनुपर्ने मानसिकता विद्यमान छ । अँध्यारो सदैव रहँदैन उज्यालो पनि हामीले देख्न पाउँछौँ । त्यसका लागि हामीजस्ता इमान्दार ढंगबाट लडिरहनुपर्छ । अहिलेको समय भनेको हामी अँध्यारोको शिकार भयौं । १३ वर्षको उमेरबाट राजनीति शुरु गरियो ।

०३८ र ०४२ सालमा जेल परेँ । पार्टीका धेरै निर्णयको पक्षमा उभिएँ । घर–परिवार, आफन्तभन्दा नेताको वचन शिरोधार्य गरेँ । पार्टीभित्र अन्यायको शिकार भएको म मात्र होइन, सयौं साथी, नेता–कार्यकर्ता हुनुहुन्छ । गिरिजाप्रसाद कोइराला प्रत्येक कार्यकर्ताको क्षमतासँग परिचित हुनुहुन्थ्यो । सोहीअनुसार जिम्मेवारी दिनुहुन्थ्यो । अहिले नेतृत्वमा गुटगत अवधारणाले बास गरेको छ । क्षमता नभएका तर पैसा भएकाले अवसर पाइरहेका छन् । हामी त सिद्धान्त, आदर्शले प्रेरित भएर राजनीतिमा लाग्यौं । इमान्दारीपूर्वक राजनीति गर्नेहरूको बिचल्ली भएको कांग्रेसमा मात्र होइन, कम्युनिष्ट र अन्य पार्टीमा पनि हो । तर, विस्तारै इमान्दार कार्यकर्ताको पनि मूल्यांकन गर्ने दिन आउँछ भन्ने लाग्छ । इमान्दार साथीहरू एकै ठाउँमा उभियौं भने त्यो दिन टाढा छैन ।

० कथं नेकपा फुट्यो भने कांग्रेसलाई के लाभ होला ?

– ०५९ सालमा कांग्रेस फुटेर एमालेलाई लाभ भयो र, भएन नि ! सरकारको अकर्मण्यताले गर्दा सडकमा युवाहरू उभिएका छन् । कतै यी युवा पार्टी र घटनाभन्दा समग्र व्यवस्थालाई नै परिवर्तन गर्नका लागि पो उभिएका हुन् कि ? भन्ने सोच आउँछ । नेकपा फुटेर कांग्रेसलाई लाभ हुन्छ भन्ने सोच कसैले बनाएका छन् भने मलाई लाग्छ कांग्रेसलाई लाभभन्दा हामीले प्राप्त गरेको संविधानलाई चोट पु¥याउँछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्डजीले उल्टो बाटो रोज्नुभयो
बलात्कारः मन्दिर ‘बधशाला’ अनि नरपिचास ?
यो पार्टी सिध्याउने खेल हो
हेर्दै जानुस्, उहाँले पछुताउने दिन आउँछ